प्रहरीले मास्क नलगाई बाहिर निस्कनेलाई पक्राउ गर्न थालेको छ। कोरोना संक्रमणको जोखिम बढिरहेका बेला जथाभावी बाहिर निस्कने र अटेर गर्नेलाई पक्राउ गर्न थालिएको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले बताए।
प्रहरीका अनुसार सोमबार बारामा मात्रै १०२ जना पक्राउ परेका छन्।
बिना मास्क व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक र पैदल हिँडडुल गर्ने यात्रीहरू समेत पक्राउ परेको बारा प्रहरीले जनाएको छ। यसरी पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालयमा एक सय रुपैयाँ जरिवाना गरेर छाडिएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि बाहिर हिँडडुल गर्दा मास्क अनिवार्य प्रयोग गर्न भनिएको छ। तर अटेर गर्नेलाई पक्राउ गर्न थालिएको छ।
सोमबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) को छलफलमा गृह सचिव महेश्वर न्यौपानेले थप सतर्कता बढाउन आवश्यक रहेको बताएका थिए। बैठकलगतै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुलाई मास्क प्रयोग नगर्ने र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ।
अटेर गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने छ।
Shares
प्रतिक्रिया