ad ad

समाज


सेती अस्पतालमा संक्रमितको मृत्युः सरकारको आस गर्दागर्दै जसकाे गयो ज्यान

सेती अस्पतालमा संक्रमितको मृत्युः सरकारको आस गर्दागर्दै जसकाे गयो ज्यान

गोकुल जोशी
असार ४, २०७७ बिहिबार ५:४१,

कोरोना संक्रमण भएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका कैलालीको गोदावरी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको छ। स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं लाने तयारी गर्दागर्दै उनको निधन भएको हो।

उनी बस व्यवसायी थिए। जाे कञ्चनपुर-कैलालीका नाकाबाट नेपालीलाई क्वारेन्टिनसम्म पुर्‍याउन सक्रिय थिए। बस कहिले आफैं चलाउँथे भने कहिले चालक लिएर नाका पुग्थे।

‘कोरोनाका जस्ता लक्षण देखिए पनि उहाँले निमोनियाँ हो भनेर क्लिनिकबाट औषधि लिएर घरमै बस्नुभयो, अस्पताल जानु भएन,’ एक स्रोतले नेपालखबरसँग भन्यो, ‘समस्या बढ्दै गएपछि मात्रै उहाँ अस्पताल भर्ना हुनु भएको थियो।’

नवजीवन अस्पतालको आइसोलेसनमा रहँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यहाँ जानुअघि उनी धनगढीकै माया मेट्रो हस्पिटल थिए। तर त्यहाँ भर्ना हुन भनिए पनि उनी नमानेर घरै फर्किएका थिए।

नवजीवन अस्पतालमा रहँदा उनको अवस्था नाजुक भइसकेको थियो। गत शनिबार राति (जेठ ३१ गते) मात्र उनलाई सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा राखिएको थियो। 

‘उहाँमा कडा खालकाे निमोनियाँ पनि थियो, अस्पताल ल्याउँदा अवस्था निकै जटिल भइसकेकाले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौं,’ उपचारमा संलग्न एक डाक्टरले नेपालखबरसँग भने, ‘तर बचाउन सकिएन।’

स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई काठमाडौं लैजान सेती अस्पतालले जेठ २ गते एयर एम्बुलेन्स व्यवस्थाका लागि सामाजिक विकास मन्त्रालयलाई सिफारिस गरेको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठ बताउँछन्।

तर तुरुन्त एम्बुलेन्स व्यवस्था हुन सकेन। जसका कारण उनको ज्यान गयो। जसले सीमा नाकामा अलपत्र सयौं नेपालीलाई उद्धार गरी बसमार्फत क्वारेन्टिनसम्म पुर्‍याए, आज उनै एयर एम्बुलेन्स नपाएर ज्यान गुमाउन बाध्य भए।

एयर एम्बुलेन्सको व्यवस्था आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नुपर्ने भएकाले जेठ २ गते नै सामाजिक विकास मन्त्रालयले पत्राचार गरेको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की बताउँछन्।

हिजो (बुधबार) बिहानसम्म एयर एम्बुलेन्स आउने भनिएकामा साँझसम्म पनि नआउँदा उनको मृत्यु भएको हो। ‘एयर एम्बुलेन्सका लागि पहल भइरहेको थियो, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेर्ने भएकाले त्यहाँ पत्राचार गरिएको थियो,’ स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने।

उनका अनुसार नेपाल वायु सेवा निगमको सानो जहाज काठमाडौंबाट संक्रमितलाई लैजान धनगढी आउने तयारी थियो, तर मौसम खराबीका कारण हिजो दिनभर आउन सकेन। जसले गर्दा त्यही बेलुका सेती अस्पतालको भेन्टिलेटरमै उनको मृत्यु भएको हो। अहिले उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .