ad ad

समाज


उपत्यकामा एकै दिन चार हजार सवारी साधन कारबाहीमा

उपत्यकामा एकै दिन चार हजार सवारी साधन कारबाहीमा

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १६:११,

कोभिड–१९ संक्रमण रोक्न सरकारले घोषणा गरेको बन्दाबन्दी उल्लंघन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ। बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारबाही थालेको छ। आज मात्रै चार हजारभन्दा बढीलाई कारबाही गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ र रातमा ४५ स्थानमा जाँच चौकीमार्फत आम नागरिकको अत्यावश्यक सेवा र कामलाई सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरी परिचालन गरी जाँच गर्दै आएको छ।

आज मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने तीन हजार ६४७ दुईपाङ्ग्रे र ४६० चारपाङ्ग्रे गरी जम्मा चार हजार १०७ सवारी नियन्त्रणमा लिई चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोधसमेत गरेका छन्। लकडाउनमा बिना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बच्न गरिएको आग्रह लत्याउँदै बिना काम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा चैत ११ गतेदेखि आजसम्म लकडाउन उल्लंघन गर्ने ६१ हजार ४०६ सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .