ad ad

समाज


प्रहरीले करणी उद्योगको उजुरी लिएन, पीडित पक्ष गए मानव अधिकार आयोग

प्रहरीले करणी उद्योगको उजुरी लिएन, पीडित पक्ष गए मानव अधिकार आयोग

नेपालखबर
जेठ २७, २०७७ मंगलबार २:५,

जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको जाहेरी प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले लिन अस्वीकार गरेपछि सोमबार पीडित पक्षले प्रहरीविरुद्ध नै मानवअधिकार आयोगको दिक्तेल कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

पीडित भनिएकी महिलाले दिएको उजुरी सोमबार नै दर्ता गरेर अनुसन्धान शुरु गरिएको आयोगका निमित्त प्रमुख सुमित्रा राईले जानकारी दिए। ‘उजुरी आएलगत्तै पीडित महिलासँग सोधपुछ गरेर छानबिन शुरु गरिएको छ,’ उनले भने, ‘यसविषयमा थप अनुसन्धान गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ।’

पीडक बाँस्तोलाले यही जेठ ३ गते राति आफ्नै घरमा आएर बलात्कार प्रयास गर्नुका साथै हातपातसमेत गरेको पीडित महिलाको भनाई छ। उनीविरुद्ध कारवाहीको माग गर्दै जाहेरी लिएर प्रहरीमा जाँदा पटकपटक फर्काइदिएपछि मानवअधिकार आयोगमा उजुरी दिइएको पीडित महिलाले बताइन्। ‘म अन्यायमा परेकी छु। प्रहरीमा न्याय माग्न जाँदा उल्टै हप्काएर पठाएपछि मानवअधिकार आयोग गुहारेकी हुँ,’ उनले भनिन्।

मादक पदार्थ सेवन गरेर आएका बाँस्तोलाले गाउँका जोसुकैकी श्रीमती, छोरी र बुहारी पनि समाउन सक्छु भन्दै आफूलाई बलात्कार गर्न हातपात गरेको पीडित महिलाको भनाई छ। ‘बेलुकाको करिब ९ बजेको समयमा हाम्रो घर आएका बाँस्तोलाले मेरो श्रीमानसँग विभिन्न बहानामा निहुँ खोजिरहेका थिए,’ उनले भनिन्, ‘खाइसकेर श्रीमान् चर्पी गएको मौका छोपेर मलाई कम्मरमा समाएर लडाउनुका साथै मेरो संवेदनशीन अङ्गमा समेत बलात्कार प्रयास गरे।’

घटनास्थलमा पीडक भनिएका बाँस्तोला र महिलाबीच दोहोरो हात हालाहालसमेत भएको स्थानीय बासिन्दाले बताएका छन्। घटनामा महिलाले बाँस्तोलालाई दाउरा प्रहार गर्दा बाँस्तोलाको टाउकोमा चोटसमेत लागेको छ।

बलात्कारको प्रयास असफल भएपछि घटनास्थलबाट भागेका बाँस्तोलाले प्रहरी टोली ल्याएर आफूहरुलाई नै उल्टै पक्राउ गराएको पीडित पक्षको आरोप छ। घटनालगत्तै पक्राउ परेका पीडित भनिएकी महिला र उनका श्रीमानविरुद्ध प्रहरीले अभद्र व्यवहार अभियोगको मुद्दा दर्ता गरेर कारवाही गरेको थियो।

एघार दिन हिरासतमा बसेर तारिखमा छुटेका उनीहरुले जिल्ला प्रशासन कार्यालय खोटाङमा ४२ रुपैयाँ धरौटी बुझाएका छन् । धरौटीमा छुटेपछि पीडक बाँस्तोलाविरुद्ध मुद्दा दर्ता गर्न जाँदा प्रहरीले पटकपटक फर्काउने गरेको उनीहरुको आरोप छ।

उता प्रनाउ चिमोरियाले भने महिलामाथि भएको घटना करणी उद्योग नभई यौन दुव्र्यवहार भएकाले उनले प्रहरीमा दिएको उजुरी फर्काइएको दाबी गरे। ‘यौन दुव्र्यवहारसम्बन्धी मुद्दा अदालतले हेर्छ,’ उनले भने, ‘पीडित भनिएकी महिलाले करणी उद्योगको मुद्दा ल्याएकाले प्रहरीकै परामर्शमा यौन दुव्र्यवहारअन्तर्गतको मुद्दा लिएर अदालत जान सुझाव दिएका छौं।’

पीडक भनिएका बाँस्तोलाले भने आफूमाथि योजनाबद्ध तरिकाले हातपात गर्नुका साथै चरित्रहत्या गर्न झुटो आरोप लगाएको बताएका छन्।

यसअघि भएको घरायसी विवादमा उनीहरुले योजनाबद्ध तरिकाले कुटेर फालेको बाँस्तोलाको आरोप छ। पीडित भनिएकी महिलाबाट कुटाइ खाएका बाँस्तोलालाई एम्बुलेन्समार्फत काठमाडौँ लगेर उपचार गरिएको आफन्तले बताएका छन्। उनको टाउको, हात र आँखामा गहिरो चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .