ad ad

समाज


खोला उत्खनन् रोक्न माग गर्ने गाउँलेमाथि क्रसर सञ्चालकको आक्रमण, एक युवा गम्भीर घाइते

खोला उत्खनन् रोक्न माग गर्ने गाउँलेमाथि क्रसर सञ्चालकको आक्रमण, एक युवा गम्भीर घाइते

शैलेन्द्र महतो
जेठ २१, २०७७ बुधबार ४:१३,

धनुषको बट्टेश्वमा खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा मंगलबार राति स्थानीय गाउँलेमाथि आक्रमण भएको छ।

बटेश्वर गाउँपालिका १ स्थित बडहडी खोलामा अवैध उत्खनन् रोक्न जाँदा गाउँलेहरु आक्रमणमा परेका हुन्। आक्रमणमा परि एक युवक गम्भीर घाइते भएका छन्। क्रसर सञ्चालकको रड प्रहारबाट बटेश्वर गाउँपालिका १ डालाखारीका २२ वर्षीय संजयकुमार महतो घाइते भएका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।

रडप्रहारबाट संजयको टाउको, कान र तिघ्रामा गम्भीर चोट लागेको उनका भाई सत्रोहन महतोले बताए। संजयको अहिले जनकपुरस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ।

101679745 639424536641387 9115208821717860352 n

घाइतेका भाई सत्रोहनका अनुसार खोला खन्नेहरु पेस्तोल, खुकुरी र रड बोकेर आएका थिए। ‘हामी तीनचारजना मात्रै थियौं। उनीहरु ६ ७ जना थिए। हामी खोलामा पुग्ने बितिकै उनीहरुले मार सालेहरुलाई भन्दै जथाभावी रड प्रहार गर्न थाले,’ उनले भने, ‘पहिले ममाथि नै रड प्रहार भयो। दाई संजय अगाडी बढ्नु भयो। उहाँमाथि झनै बढी प्रहार भयो। केहि साथी ज्यान बचाउँदै भागे।’

उनीहरुले खुकुरीले पनि आक्रमण गर्न खोजेको सत्रोहनले बताए। तर पछि अन्य गाउँले पनि आएको थाहा पाएपछि उनीहरु भागेका उनले बताए। ‘दाई माथि बढी रड प्रहार भएकाले उहाँ गम्भीर घाइते हुनुभयो। हामीलाई पनि तीनचार पटक प्रहार भएको छ। गाउँले आउँदै छन् भन्ने थाहा नभएको भए उनीहरुले हाम्रो आज हत्या गर्ने थिए,’ सत्रोहनले भने।

घटनापश्चात डलाखारीका दुईसयबढी गाउँले खोलामा पुगेका थिए। घटना पश्चात इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोली त्यहाँ पुगेको थियो। राति उनीहरु फरार भइसकेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ।

आक्रमण गर्ने मनोज महतो लगायतको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सखुव महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए।
गउँलाई नै संकटमा पार्ने गरी निरन्तर भइरहेको अवैध उत्खननको विरोधमा गाउँलेहरु सोमबारदेखि विरोधमा उत्रेका छन्।

गाउँलेले सोमबार र मंगलबारसमेत खोलामा गई उत्खनन रोकाएका थिए। उत्खनन रोक्न माग गर्दै मंगलबार विजयपुरका दुईसयभन्दा बढी गाउँलेले बटेश्वर गाउँपालिका कार्यालय समेत घेराउ गरेका थिए। त्यहाँ गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत नआएपछि वडा नम्बर १ का अध्यक्ष शैलेन्द्र महतोले छलफल नहुञ्जेल खोला उत्खनन नहुने प्रतिवद्धता जनाएपछि गाउँले घर फर्किएका थिए। तर राति फेरी खोला उत्खनन् सुरु भएपछि गाउँलेले रोक्ने प्रयास गरेका हुन्।

101831265 877248866117039 7976143461428494336 n

बटेश्वर गाउँपालिका १ चित्रपुरका केहि युवाको जमात ड्रग्स सेवन गर्ने र अवैध खोला खन्ने कार्यमा लागेको गाउँलेहरुको आरोप छ। उनीहरुले केहिलाई मारेर वा गाडीले किचेर भएपनि खोलामा अवैध उत्खनन जारी राख्ने धम्की दिँदै आएका छन्।

गाउँपालिकाले स्थानीय सत्रोहन महतोलाई १५ लाख रुपैयाँमा गाउँपालिका अन्तर्गत पर्ने खोलाको साढे ६ फिट सतहसम्म खन्ने गरी ठेक्का दिएको छ। तर ठेकेदारले १५ फिटसम्म गहिरो खनेर गाउँलाई नै धरापमा पर्दा समेत गाउँपालिका र प्रहरी प्रशासन मुकदर्शक बनेको स्थानीयको भनाई छ।

गएको पुस २५ गते धनुषाकै मिथिला नगरपालिका ५ श्रीपुरका दिलीप महतो औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा क्रसर माफियाले रड प्रहार गरी टिपरले किचेर हत्या गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .