कोरोना संक्रमणमा परेका बुढानिलकण्ठ नगरपालिका–३ का मनोज श्रेष्ठ ५ दिनमै निको भए।
शनिबार अस्पतालबाट घर फर्कंदै गर्दा उनको मनमा एउटा अनुभूति भयो– अरुको भलो सोच्नेको भगवानले पनि भलो गर्ने रहेछन्।
लकडाउनका बेला श्रेष्ठ बिरामीलाई आफ्नै गाडीमा अस्पताल पुर्याउने, वडामा रहेका विपन्नलाई राहत जुटाउने लगायत सामाजिक काममा स्थानीय जनप्रतिनिधिसँगै सक्रिय रहे।
स्थानीय प्रतिनिधि तथा वडामा अग्रपंक्तिमा रहेर खटिनेहरुको जेठ १२ गते कोरोना परीक्षण गर्दा उनमा पनि कोरोना संक्रमण देखियो।
त्यसपछिका ५ दिन टेकु अस्पतालमा बिताएर उनी शनिबार डिस्चार्ज भएर घर पुगिसकेका छन्।
नेपाली सामाजमा कोरोना लागेको मान्छे भनेपछि बिरामीसँगै उनको परिवारलाई समेत फरक दृष्टिकोणले हेर्ने व्यवहार व्याप्त छ। तर, त्यो व्यवहार श्रेष्ठले न कोरोना लाग्दा भोग्नुपर्यो न घर फर्कदा नै।
अस्पतालमा उनलाई टोलबाट शुभचिन्तक, आफन्त, टोलबासीको निरन्तर फोन आइरहन्थ्यो। शनिबार घर फर्कदा पनि फुलमालासहित स्वागत भयो। यहि व्यवहारले गर्दा उनमा ‘अरुको भलो सोच्नेको भगवानले पनि भलो गर्ने रहेछन्’ भन्ने विश्वास पलायो।
‘मैले सेवाको दृष्टिकोणबाट नभई अरु हिसाबले काम गरेको भए मलाई पनि छिःछि र दूरदूर गरिन्थ्यो होला। सेवा गर्नेलाई भगवानले पनि हेर्छ भन्छन् नि त्यस्तो पनि भयो होला,’ उनी भन्छन्, ‘ज्यानै जोखिममा हुने रोग भनेर प्रचार भएको छ। कोरोना भन्ने बित्तिकै तर्सने, डराउने हुन्छ। तर म फर्कदा वडाध्यक्ष लगायत टोलबासीबाट न्यानो स्वागत पाउँदा सार्है खुशी लाग्यो।’
अस्पतालबाट घर पुगेको केहीबेरमा नेपालखबरसँग कुरा गर्दा पनि श्रेष्ठलाई आफूभन्दा आफूले सहयोग गरिरहेका बिरामीबारे चिन्ता देखाइरहेका थिए।
वडानम्बर २ का दिलबहादुर तामाङ उनीबाट उपचारमा सहयोग पाउने त्यस्तै एक बिरामी हुन। जसलाई उनले १६ पटकसम्म बनस्थलीस्थित डायलिसिस सेन्टरमा पुर्याएर उपचारमा सहयोग गरेका थिए।
‘बेलाबेला म उहाँलाई भोलिका दिनमा म नै बिरामी पराैंला, गाडी बिग्रिएला भने तपाई के गर्नुहुन्छ भनेर मजाक गर्थें,’ श्रेष्ठले भने, ‘ठ्याक्कै त्यस्तै पर्यो। यसबीच उहाँले कसरी उपचार गर्नुभयो होला। म भर्खर आइपुगें। अब म बुझ्छु।’
कोरोना पोजिटिभको रिपोर्ट आउनु अघिल्लो दिन राति १० बजेपनि उनले वडानम्बर २ एक सुत्केरी बिरामीलाई अस्पताल पुर्याएका थिए।
त्यही दिन वडानम्बर ४ का एक बिरामीलाई डायलसिसका लागि वीर अस्पतालमा पुर्याएका थिए। दिनभर उनी वडामा राहत बाँड्ने काममा जुटेका थिए।
तर, कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीसँग सम्पर्कमा आएका कसैमा पनि कोरोना पोजिटिभ देखिएन।
‘कहिलेकाँही फाइलै साटिएको हो कि, अर्काको फाइल मेरोमा परेको हो कि जस्तो पनि लाग्छ,’ श्रेष्ठले भने।
सामाजिक अभियन्ता भएकाले शुभचिन्तकले बेला बेला फोन गरेर केही पनि हुँदैन आत्मबल बढाउनुस भनेर भनिरहन्थे।
अस्पतालले पनि केही कुराको कमी महसुस हुन दिएन। त्यसैले यो रोग धेरै हदसम्म आत्मबलले ठीक पार्नसक्ने उनले अनुभव गरेका छन।
‘युवक अवस्था र ममा कुनै लक्षण पनि नदेखिएकाले छिट्टै निको भएँ। रोग लागेकाहरुलाई अरु उपचार पनि गर्नुपर्ला,’ अस्पताल बसाईको अनुभवका आधारमा उनले भने, ‘संक्रमित व्यक्तिले यो रोग केही पनि हैन, धेरै जना निको भएर घर फर्केका छन। मृत्युदर पनि एकदमै कम छ भनेर आत्मबल पनि बढाउनुपर्ने रहेछ।’
अब चिकित्सकको सल्लाहअनुसार केहीदिन घरमै बसेर पुन: सामाजिक सेवामा फर्कने उनको योजना छ।
प्रतिक्रिया