ad ad

समाज


स्क्रब टाइपसको उपचार गरेर अस्पतालबाट फर्केका युवकमा कोरोना संक्रमण

स्क्रब टाइपसको उपचार गरेर अस्पतालबाट फर्केका युवकमा कोरोना संक्रमण

गोकुल जोशी
जेठ ९, २०७७ शुक्रबार १५:१४,

शुक्रबार एकै दिन सुदूरपश्चिम प्रदेशको कैलाली, डडेल्धुरा र बैतडीमा पाँच जनामा कोरोना संक्रमण देखिएको छ।

ती मध्ये एक जना डडेल्धुराको परशुराम नगरपालिका–१० कुर्मुले भन्ने ठाउँका २८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। कोरोना पोजेटिभ देखिएका उनी जेठ ६ गते डडेल्धुरा अस्पतालबाट डिस्चार्ज भएको खुलेको छ। डडेल्धुरा अस्पतालका अनुसार स्क्रब टाइपसको संक्रमण देखिए पछि उनी उपचार पश्चात् निको भएर अस्पतालबाट तीन दिन अघि डिस्चार्ज भएका थिए।

सरकारी कर्मचारी रहेका उनी वैशाख २६ गते पछि अमरगढी नगरपालिकामा बस्दै आएका छन्। ज्वरो आए पछि स्वास्थ्य चेकजाँचका लागि डडेल्धुरा अस्पताल पुगेका ती पुरुषमा स्क्रब टाइपसको संक्रमण देखिएको थियो। उपचार पश्चात् स्वास्थ्यमा सुधार आउन थाले पछि जेठ ६ गते डिस्चार्ज गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र बिष्टले बताए।

‘स्क्रब टाइपसको उपचार पछि निको भएर डिस्चार्ज भएका थिए, स्क्रब टाइपस र कोरोना लक्षण उस्ता उस्तै हुने हुनाले हामीले थ्रोट स्वाब संकलन गरेर प्रयोगशाला पठाएका थियौँ, कोरोना पनि पोजेटिभ देखिएको छ’ डा. बिष्टले नेपालखबरसँग भने।

जेठ ६ गते थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको थियो। तीन दिन पछि उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो। अहिले संक्रमितलाई डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। स्क्रब टाइपसको उपचार गराइरहेको ती युवकको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर सुपरिभाइजर हरि भट्टले बताए।

‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ हुँदैछ, अहिले अस्पतालको सम्पर्कमा आइसकेका छन्’ उनले भने।

शुक्रबार नै कैलालीको जानकी गाउँपालिकाकास्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका वडा न. ४ का एकजना र वडा नं ७ का दुई जनालाई कोरोना संक्रमण देखिएको छ।

गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीका अनुसार उनीहरु एकजना भारत, एकजना इटहरी र एकजना बाँकेबाट आएर क्वारेन्टिनमा बसेका थिए। यस्तै, बैतडीका संक्रमित युवक वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेको खुलेकाे छ।

लकडाउन अघि चैत्र ६ गते भारतको दिल्लीबाट फर्किएका उनलाई शिवनाथ गाउँपालिका–४ की १८ वर्षीय युवती गीता महराको रहस्यम मृत्यु घटनाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको ती युवकमा कोरोना पोजेटिभ देखिए पछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको छ। यसअघि भेटिएका ५ जना भने निको भई घर फर्किसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .