ad ad

समाज


सेती प्रादेशिक अस्पतालको आइसोलेसन भरियो, बिरामीलाई राख्न समस्या

सेती प्रादेशिक अस्पतालको आइसोलेसन भरियो, बिरामीलाई राख्न समस्या

गोकुल जोशी
जेठ ९, २०७७ शुक्रबार १४:१७,

कोरोना भाइरस (कोभिड–१९) को उपचार हुने सुदूरपश्चिमको मुख्य अस्पताल सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्ड बिरामीले भरिएको छ। कोरोना संक्रमित बिरामी र संक्रमणको आशंकामा भर्ना गरिएका बिरामीले अस्पतालको आइसोलेसन भरिएको हो।

गत चैत्र १९ गते सरकारले कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताललाई कोरोना उपचार अस्पताल तोकेको थियो। सेती प्रादेशिक अस्पतालमा २४ शय्याको आइसोलेसन छ। अहिले कोरोना आशंकामा २२ जना बिरामी आइसोलेसनमा छन्। पीसीआर परीक्षणका लागि उनीहरुको थ्रोट स्वाब संकलन गरेर प्रयोगशाला पठाइएको छ। रिपोर्टको पर्खाइमा उनीहरु आइसोलेसनमा दिन बिताइरहेका छन्।

पछिल्लो एक महिना यता कोरोना संक्रमित नभेटिएको सुदूरपश्चिममा शुक्रबार कैलालीमा तीन, डडेल्धुरा र बैतडीमा एक/एक गरी पाँच जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको जानकी गाउँपालिकाको क्वारेन्टिनमा रहेका तीन जना संक्रमितलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनीहरुलाई ल्याए २४ बेड क्षमताको आइसोलेसनमा २५ जना हुने छन्।

यस्तै, बैतडीको शिवनाथ गाउँपालिका–१ का २२ वर्षीय पुरुष र डडेल्धुराको परशुराम नगरपालिका–१० कुर्मुर्लेका २८ वर्षीय पुरुषलाई अहिले त्यहीँको अस्पतालमा राखिएको छ। उनीहरुलाई पनि थप उपचारका लागि सेती अस्पताल ल्याउनुपर्ने स्थित आउन सक्छ। जसले गर्दा आइसोलेसन वार्ड अभाव हुने देखिन्छ।

‘आइसोलेसन अहिले भरिएको छ, पाँच जनालाई अस्पतालको आइसीयूमा बनाइएको आइसोलेसनमा राख्न सकिन्छ’ सूचना अधिकारी श्रेष्ठले भने।

यस्तै, धनगढीस्थित निर्माण पुरा भएको ५० बेडको आइसोलेसनलाई पनि सोमबारबाट सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।

शुक्रबार नै कैलालीको जानकी गाउँपालिकाकास्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका वडा न. ४ का एकजना र वडा नं ७ का दुई जनालाई कोरोना संक्रमण देखिएको छ।गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीका अनुसार उनीहरु एकजना भारत, एकजना इटहरी र एकजना बाँकेबाट आएर क्वारेन्टिनमा बसेका थिए।

यसैगरी बैतडीका संक्रमित युवक वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेको खुलेको छ। लकडाउन अघि चैत्र ६ गते भारतको दिल्लीबाट फर्किएका उनलाई शिवनाथ गाउँपालिका–४ की १८ वर्षीय युवती गीता महराको रहस्यम मृत्यु घटनाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको ती युवकमा कोरोना पोजेटिभ देखिए पछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको छ। यसअघि भेटिएका ५ जना भने निको भई घर फर्किसकेका छन्।

महाकाली अस्पतालको आइसोलेसन भवन निर्माणमा ढिलाई
उता ठेकेदारको लापरबाहीले महाकाली अस्पतालको आइसोलेसन भवन निर्माणमा ढिलाई भएको छ। ७ जेठमा सक्ने सम्झौता भएपनि ठेकेदारको लापरवाहीले गर्दा निर्माण कार्य अधुरै रहेको हो।

६ चैतमा आइसोलेसन भवन निर्माणका लागि ९२ लाख ५४ हजारमा ठेक्का पाएको विपिन विल्डर्सले विभिन्न वहाना र समस्या देखाएर भवन निर्माणमा ढिलाई गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए। ५० शय्याको आइसोलेसन भवन सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त एक करोड रुपैयाँको लागत निमार्ण गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .