ad ad

समाज


कञ्चनपुर र कैलालीका नाकाबाट भित्रिएका ४ हजारलाई परीक्षण नै नगरी स्थानीय तहमा पठाइयो

कञ्चनपुर र कैलालीका नाकाबाट भित्रिएका ४ हजारलाई परीक्षण नै नगरी स्थानीय तहमा पठाइयो

गोकुल जोशी
जेठ ९, २०७७ शुक्रबार ७:२९,

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा गरिएको लकडाउनबीच कामको सिलसिलामा भारतमा रहेका नेपाली नागरिक त्यहाँबाट धमाधम घर फर्किन थालेका छन्।

पछिल्लो केही दिन यता कञ्चनपुर र कैलालीका नाकाबाट चार हजार बढी नागरिकको उद्धार गरिएको छ। कैलालीको गौरीफन्टा नाकाबाट चार दिनको अवधिमा साढे तीन हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए। उनका अनुसार बिहीबार मात्रै गौरीफन्टा नाका भएर दुई हजार मानिस भित्रिएका छन्।

यता कञ्चनपुरको सीमावर्ती सहरमा अलपत्र पाँच सयभन्दा बढीको पनि उद्धार गरिएको छ। भारतमा लकडाउन खुकुलो भएपछि त्यहाँको विभिन्न स्थानबाट आउने क्रम रोकिएको छैन्।

अझै धेरै नागरिकहरु भरतीय सीमावर्ती सहरमा रोकिएका छन्। भारतबाट उद्धार गरिएका नेपाली मजदुरलाई स्वास्थ्य परीक्षणबिना सम्बन्धित स्थानीय तह पठाइएको छ। भारतबाट कैलाली, कञ्चनपुरका विभिन्न नाकाबाट भित्र्याइएका हजारौँमध्ये केहीको मात्रै आरडीटी परीक्षण गरिएको छ। कीट अभावमा अधिकांशलाई ज्वरो नापेकै भरमा गाउँ पठाइएको छ। यसले सुदूरपश्चिममा कोरोना भाइरस फैलिने जोखिम बढेको छ।

११ जनाको आरडीटी रिपाेर्ट पोजेटिभ
कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएकाहरुको आरडीटी टेस्ट गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको छ। आरडीटी रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

उनका अनुसार उद्धार गरिएकामध्ये ८ जनामा कोरोनासँग सम्बन्धित लक्षण देखिएपछि उनीहरुलाई पनि आइसोलेसनमा राखिएको छ। ‘उनीहरुको पीसीआर परीक्षणका लागि थ्रोट स्बाव संकलन गरेर प्रयोगशाला पठाइएको छ, आज बेलुका वा भोलि रिपोर्ट आउँछ’, सूचना अधिकारी श्रेष्ठले भने।

भारतबाट उद्धार गरिएकामध्ये १९ जनालाई कोरोना संक्रमणको आशंकामा भर्ना गरेसँगै सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा २३ जना छन्। ‘आइसोलेसनमा रहेका अन्य कैलालीको क्वारेन्टिनमा बसेका र कोरोनाजस्तै लक्षण देखिए पछि भर्ना गरिएका हुन। उनीहरुको पनि नमूना संकलन गरेर प्रयोगशाला पठाइएको छ’, सूचना अधिकारी श्रेष्ठले भने। उनका अनुसार आरडीटी पोजिटिभ देखिएका बैतडीको सिगास गाउँपालिका–३ घर भइ धनगढी बस्ने २१ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्जको तयारी भइरहेको छ।

कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना हुनेमा बझाङको जयपृथ्वी नगरपालिका–३ का २१ वर्षीय पुरुष, वडा नम्बर ११ का २३ वर्षीय पुरुष, डोटीको दीपालय सिलगढी नगरपालिकाका २८ वर्षीय पुरुष, बडिकेदार गाउँपालिका–५ का १८ वर्षीय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २७ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का २८ वर्षीय पुरुष रहेका छन्।

यस्तै बैतडीको मेलौली नगरपालिका–४ का ३३ वर्षीय पुरुष, १९ वर्षीय पुरुष, २३ वर्षीय पुरुष, शिवनाथ गाउँपालिकाका २७ वर्षीय पुरुष, सोही ठाउँका २४ वर्षीय पुरुष, २२ वर्षीय पुरुष, २० वर्षीय पुरुष, ३० वर्षीय पुरुष र सोही ठाउँका अर्का २० वर्षीय पुरुष, अछामको मेल्लेख–४ का ३० वर्षीया महिला, ११ वर्षीया बालिका, ४ वर्षका बालक र ३२ वर्षीय पुरुषलाई पनि अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .