बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.७ स्थित नेपाली सेनाकाे श्री नं. २८ बाहिनी अड्डाको हाताभित्र एकीकरण स्मृति उद्यानको निर्माण गर्न लागिएको छ। प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार उद्यानको शिलान्यास गरेका छन्।
नेपाल-अंग्रेज युद्धको दौरान अंग्रेज फौज विरुद्ध मधेशवासी नेपालीहरुले देखाएको बहादुरी तथा नेपाल एकिकरण अभियानमा पुर्याएको योगदानकाे स्मरणमा एकीकरण स्मृति पार्क निर्माण गर्न लागिएकाे नेपाली सेनाले जनाएकाे छ।
तत्कालीन अवस्थाका ऐतिहासिक गढी तथा किल्लाहरुको सम्बर्धन गरी तराई, मधेश, पहाड र हिमालबीचको अनोन्यास्रित ऐतिहासिक सम्बन्ध तथा सबै नेपालीबीचको राष्ट्रिय एकतालाई उजागर गर्ने उद्देश्यले एकीकरण स्मृति उद्यानको परिकल्पना गरीएकाे हाे।
सेनाकाे श्री नं. 28 बाहिनी अड्डाको हातामा रहेको तीन विगाह जग्गामा एकिकरण स्मृति उद्यान निर्माण गर्न लागिएको हो। उद्यानमा हिमाल, पहाड र तराईका विभिन्न कला र संस्कृती झल्किने ऐतिहासिक प्रर्दशनी हल सहितको मुख्य ६ वटा भौतिक संरचनाहरु निर्माण गर्न लागिएको छ।
२२ करोड कुल लागत रहेको उक्त परियोजना आर्थिक वर्ष ०७७/७८ भित्र निर्माण सम्पन्न गरि जितपुर सिमरा उपमहानगरपालिकाको स्वामित्व र रेखदेखमा सञ्चालन गर्ने योजना रहेको छ ।
प्रतिक्रिया