धनगढीकी कोरोना संक्रमित महिला निको भएर सेती प्रादेशिक अस्पतालबाट शुक्रबार डिस्चार्ज भएकी छिन्।
पछिल्ला दुई रिपोर्ट लगातार नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए। उनी ३५ दिनको अस्पताल बसाईपश्चात निको भएर घर फर्किएकी हुन्।
उनलाई उनका आफन्तबाट कोरोना सरेपछि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो।
यसअघि सेती अस्पतालमा उपचार गराएका ४ जना भने निको भएर घर फर्किसकेका छन्। योसँगै सुदूरपश्चिमका सबै पाँचै संक्रमितहरु निको भइसकेका छन्।
यसअघि लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढीका ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला निको भएर फर्किसकेका छन्।
योसँगै १०२ जना कोरोना संक्रमित भेटिएको नेपालमा संक्रमणबाट निको हुनेको संख्या २८ पुगेको छ।
निको भएका ३ जनामा भने पुन: संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।
प्रतिक्रिया