ad ad

समाज


सीमामा खटिएका प्रहरीमाथि दुवै तिरबाट बढ्यो आक्रमण, सेना थपिने

सीमामा खटिएका प्रहरीमाथि दुवै तिरबाट बढ्यो आक्रमण, सेना थपिने

उजिर कार्की
बैशाख २४, २०७७ बुधबार १२:१९,

सीमा क्षेत्रमा कार्यरत प्रहरीमाथि नै आक्रमण हुन थालेपछि नेपाली सेना र स्थानीय युवा पनि परिचालन गरिने भएको छ।

गृह मन्त्रालयले सीमा क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा नेपाली सेनाको गस्ती बढाउन र सीमा क्षेत्रका स्थानीय तहमा नागरिकको निगरानी समूह बनाएर परिचालन गर्न सबै जिल्लामा निर्देशन पठाएको हो।

सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीमाथि दुवैतिरका नागरिकले आक्रमण र हुलहुज्जत गर्ने, लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि थप सुरक्षा व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइएको हो।

हरेक जिल्लाले स्थानीय आवश्यकता अनुसार सैनिकको गस्ती बढाउन सक्ने छन्।

नागरिक निगरानी समूह बनाउन स्थानीय तहलाई प्रोत्साहित गर्न गृहले भनेको छ। भारतीय सीमानामा आवागमन रोक्न स्वयंसेवक परिचालन गर्ने तयारी छ।

‘जिल्ला सुरक्षा समितिको दैनिक बैठक बसी सबै सुरक्षा निकायबीच सूचना आदानप्रदान गर्न, एकआपसमा सहयोग र सहजीकरणको वातावरण निर्माण गर्ने। विशेषगरी सीमा नाका जोडिएका जिल्लाहरुले सीमा नाकाभन्दा नेपालतर्फ ५ किलोमिटरभित्र आवश्यकता अनुसार नेपाली सेनाको गस्ती बढाएर भएपनि क्षेत्र नियन्त्रण गरी लुकीछिपी नेपाल प्रवेश गर्ने कार्यलाई निरुत्साहित हुने वातावरण मिलाउने,’ गृहको निर्देशनमा भनिएको छ।

सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई बढीभन्दा बढी सीमा सुरक्षामा केन्द्रित गर्न पनि गृहले भनेको छ।

चैत ११ गतेदेखि लकडाउन भएपछि नेपाल–भारत सीमामा पनि आवागमन रोकिएको छ। तर यसबीचमा प्रहरीलाई छल्दै हजारौं भित्रिएका छन्।

उनीहरुलाई रोक्न खोज्दा प्रहरीसँग ठाउँठाउँमा झडप समेत भएको छ। सोमबार साँझ झापामा भारतीय नागरिकले सशस्त्र प्रहरीलाई आक्रमण गर्ने प्रयास गरेका थिए। मोटरसाइकलमा आएका दुई जना भारतीयलाई प्रहरीले झापा गाउँपालिका प्रवेशमा रोकेको थियो।

उनीहरु फर्किएको केही समयपछि ठूलो भीड आएर प्रहरीमाथिनै आक्रमणको प्रयास गरेको थियो। त्यो भीडलाई फर्काउन प्रहरीले हवाई फायर समेत गरेको थियो। करिब डेढ सयको संख्यामा घरेलु हतियारसहित भारतीय आएको प्रहरीले जनाएको छ।

झापाको १ सय ४४ मिलोमिटर क्षेत्र दुवैतर्फबाट बन्द गरिएको छ। जोखिम बढेसँगै सैनिक गस्ती बढाउने विषयमा छलफल भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए।

‘पहिलेभन्दा एक हजार सुरक्षाकर्मी थप गरेपनि अझै पनि सीमा नाका पूर्णरुपमा बन्द भएको अवस्था छैन, हाम्रो वस्तुस्थिति पनि त्यस्तै छ। फेरि भारतीय सुरक्षाकर्मी राति बस्दैनन् यो कारण पनि समस्या भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी मगरले भने।

सोमबार राति नै नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो। आक्रमणकारी भने नेपाली नै थिए। उनीहरुले भारततर्फ जान पाउनु पर्ने भन्दै प्रहरीमाथि ढुंगामुडा गरेका थिए।

त्यसअघि सर्लाही, सिरहा लगायतका स्थानमा पनि प्रहरीमाथि आक्रमण भएको थियो। नेपाल–भारतबीच १ हजार ८ सय ८ किलोमिटर खुल्ला सिमाना छ।

सीमामा खटिएको सशस्त्र प्रहरीले अझै ९ हजार सुरक्षाकर्मी थप गर्न माग गरेको छ। नेपाल प्रहरीलाई पनि सिमानामा थप सुरक्षाकर्मी पठाउन गृहले निर्देशन दिइसकेको छ।

‘हामीले दुवै सुरक्षा निकायलाई कहाँबाट मिलाउन सकिन्छ, सीमा क्षेत्रमा सुरक्षाकर्मी थप्नु प¥यो भनेका छौं, उहाँहरुले आवश्यक जनशक्तिसहितको प्रस्ताव ल्याउनु हुन्छ, अनि गृहले निर्णय गर्छ,’ गृहसचिव केदारनाथ शर्माले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .