बर्दियामा ११ नेपालीसँग काम गर्ने दुई भारतीयमा कोरोना संक्रमण देखिएपछि त्रास बढेको छ।
भारत फर्किएका दुई भारतीयमा कोरोना संक्रमण देखिएपछि नेपालको बर्दियामा उच्च सतर्कता अपनाइएको हो।
प्रहरीका अनुसार बर्दियाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने ती दुई भारतीय मजदुर आफ्नो देश पुगेपछि कोरोना संक्रमण पुष्टि भएका हुन्।
उद्योगमा ५ भारतीय र ११ नेपाली काम गर्ने गरेको खुलेको छ।
यो कुरा भारतीय प्रहरीले जानकारी गराएपछि बर्दियाका सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको बर्दिया प्रहरीले जनाएको छ।
लकडाउनका कारण सीमानाका बन्द भए पनि ती भारतीय मजदुर लुकीछिपी यही वैशाख ५ गते भारतको उत्तर प्रदेशस्थित बहराइच फर्किएका थिए।
त्यहाँको अस्पतालमा नमुना परीक्षण गर्दा उनीहरूमा कोभिड-१९ पुष्टि भएको हो। यो कुरा भारतीय प्रहरीले बाँके र बर्दियाका जिल्ला प्रशासन तथा प्रहरीलाई पत्रमार्फत जानकारी गराएकाे हाे।
संक्रमित व्यक्ति भएको आशंकामा रोग नफैलियोस् भनेर बर्दियाका सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ।
बर्दिया जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीका अनुसार क्रसर उद्योगमा ती संक्रमित भारतीयसँग काम गर्ने सबै मजदुरको नमुना संकलन गरी परीक्षण गर्ने तयारी भइरहेको छ।
बर्दियामा अहिलेसम्म ९१ जनाको आरडीटी र २५ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिए पनि कसैमा संक्रमण देखिएको छैन।
प्रतिक्रिया