कञ्चनपुरमा विद्यार्थीहरुलाई राहत वितरण गरिरहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार भीमदत्त नगरपालिकास्थित कञ्चन विद्या मन्दिरमा विद्यार्थीलाई राहत वितरण गरिरहेका विद्यार्थी नेता र शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलले जानकारी दिए।
स्थानीय तह तथा प्रशासनसँग समन्वय नगरी राहत वितरण गरिरहेका विद्यार्थी नेता नरेन्द्र भाट, भुवन विष्ट र अर्का एक शिक्षक गरी तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको उनले बताए।
‘स्थानीय तह र प्रशासनसँग समन्वय नगरी राहत वितरण गरिरहेकाहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ’, उनले भने। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एकद्वार प्रणालीबाट राहत वितरण गर्न निर्देशन दिएको छ।
उता विद्यार्थी नेताहरुले भने नगरपालिकाले विद्यार्थीलाई राहत बाड्न सक्ने भनेपछि राहत वितरण गरिएको दाबी गरेका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन देश ३३ दिनदेखि लकडाउनमा छ। लकडाउनले गर्दा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने तथा डेरा गरी बस्ने मानिस प्रभावित भएका छन्।
प्रतिक्रिया