ad ad

समाज


‘मेरो हिम्मत र आत्म विश्वासले कोरोना पराजित भयो’

‘मेरो हिम्मत र आत्म विश्वासले कोरोना पराजित भयो’

गोकुल जोशी
बैशाख १०, २०७७ बुधबार ९:५६,

कैलालीको धनगढीका ३४ वर्षीय अमृत शाही कोरोनालाई जितेर मंगलवार सेती प्रादेशिक अस्पतालको आइसोलेसनबाट घर फर्किए। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरानासँग झण्डै एक महिना जुधेका उनी कोरानालाई जितेर मंगलवार बेलुका घर फर्किदा घरपरिवार, छरछिमेक साथीभाईहरु खुसी व्यक्त गरिरहेका थिए।

कामको शिलशिलामा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट फर्किएका उनको स्वास्थ्यमा सामान्य समस्या आएपछि ११ चैत्रमा अस्पताल पुगेका थिए। घर पुगे पछि अमृतमा सामान्य ज्वरो देखियो। सामान्य घरेलु उपचार पछि ज्वरो निको भयो तर जताततै कोरोनाको त्रास थियो। त्यो त्रासले अमृत पनि अस्पताल नगइ घरमै बस्न सकेनन्। अमृत ११ चैत्रमा स्वास्थ्य चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भए। उनमा कोराना परीक्षण गर्दा १४ चैत्रमा संक्रमण पुष्टि भयो।

‘रिपोर्ट पोजेटिभ आए पछि त छाँगाबाट खसे जस्तो भयो, सुरुमा दुई/चार दिन जिन्दगीदेखि नै वाकदिक्क लागेको थियो।’ आफ्नो अनुभव सुनाउँदै अमृतले नेपालखबरसँग भने, ‘पछि बुझ्दै जाँदा कोरोना भनेको त केही रहेनछ, मान्छे आफैँ औषधि रहेछ भन्ने बुझेँ, दृढ आत्मबलका साथ लागेर कोरोना जित्न सफल भए।’

कोराना जितेर घर फर्किएका अमृतले उपचाररत अन्य संक्रमितलाई हरेश नखाएर आत्मबल बढाउन सुझाएका छन्। ‘यो रोग लाग्यो भनेर निराश नहुनु, आत्मविश्वास बलियो राख्यो भने जित अवश्य पनि हासिल हुन्छ’ उनले भने, ‘खानेकुरा मस्त खाइराख्ने तथा व्यायाम गरिराख्नका साथै दिमागबाट रोगको बारेमा सबै हटाएर आत्मबल दृढ पार्नु पर्छ जस्तो लाग्छ।’

सुरुमा रोगबाट केही डराएका अमृत पछि आत्मविश्वास दृढ पार्दै आफू सामान्य अवस्थामा नै जस्तो लाग्ने गरेको सुनाउँछन्। एक महिना जति आइसोलेसनमा बस्दा पनि उनमा केही लक्षण देखिएको थिएन।
‘एक पटक पखाला लागेको थियो, त्यस पछि सुने जस्ता कुनै पनि लक्षण देखिएनन्’ उनले भने, ‘आइसोलेसनमा रहँदा कति बेला मोबाइलमा गेम खेल्ने, साथीभाईहरुसँग कुराकानी, व्यायाममा नै दिन बितेको पत्तै भएन।’

आइसोलेसनमा बस्दा हनुमानचालिसा पढ्ने तथा ओसोको प्रवर्चन सुन्ने गरेको अमृतले सम्झिए। जसले गर्दा उनमा आत्मविश्वास बढेर आउँथ्यो। ‘मेरो हिम्मत र विश्वासले कोरोना पराजित भएको हो,’ उनले भने।

अस्पतालको आइसोलेसनमा रहँदा जोखिम मोलेर संक्रमणबाट मुक्त पार्न सघाउने डाक्टरहरुलाई उनले धन्यवाद समेत व्यक्त गरे। करिब एक महिना लामो बन्द कोठाभित्रको बसाइका क्रममा सामाजिक सञ्जालमा देखिने कोरोना सम्बन्धीका नकरात्मक खबरहरुले विक्षप्त पार्ने गरेको उनले सुनाए।

‘फेसबुकमा अमेरिकामा यति मरे, इटलीमा यति मरे भन्ने खबर मात्रै सुनिन्थे, बाँचेको कुरा कतैबाट आउने गरेको थिएन। त्यो सुन्दा कता कता मनमा डर लाग्थ्यो’ उनले भने, ‘पछि त फेसबुक नै चलाउन बन्द गरे, म्यासेन्जरबाटै साथीहरुसँग कुरा भैराख्थ्यो, हौसला प्रदान गरिराख्नु हुन्थ्यो।’

उपचार सुरु भएपछि क्रमिक रुपमा सुधार आएको र कोरोन निको हुने विश्वास बढेको उनले बताए।

‘म ठीक हुन्छु भन्ने थियो। तर, कहिले हुन्छ भन्ने थाहा थिएन’ उनले भने, ‘म ठीक हुन्छु भन्ने मेरो विश्वासले नै मलाई ठीक बनाएको जस्तो लाग्छ।’

निको हुने आत्मविश्वास बढिरहेका बेला, उनकै भाउजुमा पनि संक्रमण पुष्टि भए पछि थप चिन्तित भए, अमृत। कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षका युवकलाई कोरोना निको भएपछि उनी थप उत्साहित भएका थिए। अन्ततः मंगलवार कोरोनालाई जितेर अमृत घर फर्किए। अहिले अमृत आफ्नो घरबाट दुई किलोमिटर टाढा अर्कै घरमा सेल्फ क्वारेन्टिनमा बसेका छन्।

‘डाक्टरले भने बमोजिम सेल्फ क्वारेन्टिनमा छु, घरपरिवारका सदस्य, साथीभाई, छरछिमेकी भेट्न आइरहेका छन््, सामाजिक दुरी कायम गरी भेटभाट हुँदैछ’ उनले भने।

उनलाई विभिन्न माध्यमबाट बधाई आइरहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .