दुई महिनाअघि दार्चुलाको शैल्यशिखर नगरपालिका–१ जुगौडाका वासुदेव भट्ट कामको खोजीमा महाकालीपारि धार्चुला गएका थिए।
उनी धार्चुलाको बालुवाकोटमा सडक निर्माणको काम गर्थे। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारत र नेपाल दुवैतर्फ लकडाउन भयो, नाका बन्द भए।
सीमामा अलपत्र परेकाहरुलाई जहाँको त्यहीँ क्वारन्टिनमा राख्ने सरकारले निर्णय गर्यो।
त्यसैले ‘बिसु’ अर्थात् नयाँवर्षको पर्वमा पनि उनी घर आउन पाएनन्। बालुवाकोटमै उनलाई पनि क्वारन्टिनमा राखियो। जहाँ अहिले सुदूरपश्चिमका एक हजारभन्दा धेरै नेपालीलाई राखिएको छ।
नाका खुल्ने पर्खाइमा क्वारन्टिनका दिन बिताइ रहेका उनलाई घरबाट दुःखद् सन्देश आयो।
शैल्यशिखर नगरपालिका–१ जुगौडास्थित उनको घरमा ५५ वर्षीय आमाको मृत्यु भएको थियो।
उनी काजकिरियाका लागि घर आउन पाएनन्। क्वारन्टिनमै किरिया बसे, त्यो पनि भाग्ने पो हो कि भनेर बसेका प्रहरीको पहरामा।
आमाको काजकिरियाका लागि पनि उनलाई घर आउन नदिइएको घटना राष्ट्रिय समाचार बन्यो। सरकारको तीव्र आलोचना पनि भयो।
त्यसपछि मात्रै उनलाई घर ल्याउने पहल सुरु भयो। र, अन्ततः आमाको मृत्यु भएको ६ दिनपछि सीमा पार गरेर उनी घर आउन पाएका छन्।
‘सुरुमा यस क्षेत्रका जनप्रतिनिधि गणेश ठगुन्ना र सीडीओलाई घटनाबारे जानकारी गराएँ, त्यस पछि वडाको सिफारिस लेखेर प्रशासनमा बुझाएँ,’ शैल्यशिखर नगरपालिका–१ का वडाध्यक्ष भरतबहादुर खडायतले भने।
त्यसपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले घटनाबारे केन्द्रमा जानकारी गराए।
तर, महाकालीवारि र पारि दुवैतिरका मुलुक पूर्ण रुपमा लकडाउनमा थिए। दार्चुला प्रशासनले चाहेर मात्र वासुदेवलाई घर ल्याउन सकिने अवस्था थिएन।
त्यसैले सीडीओ पौडेलले मन्त्रालयलाई यसबारे जानकारी गराए।
वैशाख ३ गते गृह मन्त्रालयले वासुदेवलाई घर ल्याउने व्यवस्था मिलाउन प्रशासनलाई अनुमति दियो।
त्यसपछि सीडीओ पौडेलले भारतीय प्रशासनसंग यसबारे पहल थाले। उनले पटक–पटक त्यहाँको प्रशासन (डीएम) सँग वासुदेवलाई घर ल्याउन सम्पर्क गरिरहे।
तर, भारततर्फ पनि गृह मन्त्रालयबाटै अनुमति चाहिने भयो।
‘स्थानीय प्रशासनले मात्रै निर्णय गर्न सम्भव थिएन, केन्द्र सरकारले नै अनुमति दिनुपर्ने थियो,’ सीडीओ पौडेलले भने, ‘हामीले पटक–पटक त्यहाँको प्रशासनसंग छलफल, कुराकानी, पत्राचार गर्यौँ। तर भारतीय पक्षले गर्दा केही ढिला हुन पुग्यो।’
प्रशासनिक समन्वयबाट उद्धार सम्भव भएको उनको भनाइ छ।
स्वास्थ्य परीक्षण र क्वारन्टिनमा राख्नेगरी आमाको मृत्यु भएर किरिया बसेका वासुदेवलाई नाका प्रवेशका लागि नेपाली पक्षले भारतीय प्रशासनलाई पत्राचार गर्यो।
नेपाली प्रशासनले आग्रह गरेको चार दिनपछि आइतबार मात्रै पछि त्यहाँको गृह मन्त्रालयले सो अनुमति दियो।
आइतबार दिउँसो १ बजेतिर वासुदेवलाई दत्तुको झोलुङ्गे पुलबाट बालुवाकोटवारि दार्चुला ल्याइयो।
वासुदेव क्वारन्टिन बसेको बालुवाकोट दार्चुलाबाट ४ सय मिटरको दूरीमा पर्छ। बीचको महाकाली नदीमा छ, दत्तुको झोलुंगे पुल।
आमाको मृत्युपछि बीचको ४ सय मिटर दूरी पार गरेर स्वदेश आइपुग्न वासुदेवलाई ६ दिन लाग्यो।
जिल्ला अस्पतालमा वासुदेवको आरडीटी रिपोर्ट निगेटिभ आएपछि आइतबार उनलाई नै एम्बुलेन्सबाट घर पठाइएको छ।
‘आरडिटी रिपोर्ट निगेटिभ आयो। त्यसपछि उनलाई घर पठाइएको छ। उनी घर गएर किरिया बस्छन्,’ सीडीओ पौडेलले भने।
दार्चुला सदरमुकामदेखि उनको घर तीन घण्टाको कच्ची बाटोमा पर्छ। उनका पाँच दाजुभाइ छन्।
सबैभन्दा जेठा वासुदेव हुन्। उनका एक भाइ कामका लागि भारतको बेंगलोरमा छन्। अरु भाइ भने घरमै छन्।
प्रतिक्रिया