ad ad

समाज


प्रहरी नियन्त्रणमा रहेका दुई एम्बुलेन्स चालक रिहा

प्रहरी नियन्त्रणमा रहेका दुई एम्बुलेन्स चालक रिहा

नेपालखबर
चैत २६, २०७६ बुधबार १२:८,

कोरोना संक्रमण जोखिमको वर्तमान अवस्थामा विभिन्न बहाना देखाएर बिरामी बोक्न नमान्दा प्रहरी नियन्त्रणमा रहेका एम्बुलेन्स चालकलाई कास्की प्रहरीले रिहा गरेको छ। पोखराका मेट्रोसिटी र फेवासिटी अस्पतालले आकस्मिक स्वास्थ सेवामा प्रयोग हुने एम्बुलेन्स सेवाग्राहीले फोन गरेर बोलाउँदा सेवा दिन आनाकानी गरेको अभियोगमा तिनका चालकलाई प्रहरीले दुई दिन अगाडि नियन्त्रणमा लिएको थियो।

कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले चालकलाई एक दिन हिरासतमा राखेर आइन्दा बिरामी बोक्ने शर्तमा रिहा गरिएको जानकारी दिए। उनले एम्बुलेन्स अत्यावश्यक सवारी साधनअन्तर्गत पर्ने हुँदा धेरै दिनसम्म राख्न नमिलेको र पहिलोपल्ट भएकाले सचेत गराएर रिहा गरिएको स्पष्ट गरे।

कारवाहीमा पर्ने एम्बुलेन्समा ग १ च ५४९२ र ग १ च २७१४ थिए। यसअघि पनि धादिङका दुई एम्बुलेन्सले बिरामीबाहेक यात्रु ओसारपसार गरेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि धादिङ जिल्ला प्रशासनमा पठाइएको थियो।

केसीका अनुसार पोखरामा लकडाउन उल्लघन गर्ने दुई हजार ३५६ मोटरसाइकल र दुई गाडी कारवाहीमा परेका छन्। लकडाउन अटेर गरी घर बाहिर निस्कने तीन हजार ५७७ सर्वसाधारणलाई सचेतनामूलक जानकारी दिएर छाडिएको छ।

गण्डकी प्रदेशको मन्त्रिपरिषद्को बैठकले सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले आफूकहाँ आएका जुनसुकै बिरामीलाई अनिवार्य रुपमा उपचारको व्यवस्था मिलाउनुपर्ने र कुनै पनि बहानामा तत्काल उपचार नगरी बिरामी फर्काउने जस्ता गैरजिम्मेवार कार्यमा रोक लगाउने व्यवस्था गरेको थियो।

त्यसरी तत्काल उपचारको व्यवस्था नमिलाएमा उक्त अस्पताल वा संस्थाका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई संक्रमण रोग ऐन २०२० लगायतको प्रचलित कानूनअन्तर्गत कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको थियो।

वर्तमान अवस्थालाई ध्यान दिँदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्थासमेत गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .