यतिबेला कोरोना भाइरसबाट विश्व नै आतंकित र पीडित छ। जसका कारण अहिले लगभग संसारै लकडाउनमा छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार बुधबार बिहानसम्म कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४२ हजार १ सय १४ पुगेको छ। संक्रमितको संख्या साढे ८ लाख नाघिसकेको छ।
नेपालमा पनि ५ जनामा यसको संक्रमण भएको पुष्टि भइसकेको छ। कोरोना भाइरसको शंकामा स्वास्थ्य परीक्षण गराउने क्रम दिनप्रतिदिन बढिरहेको छ।
मंगलबारसम्म १ हजार ६० जनाले कोरोना छ कि छैन भनेर स्वाब परीक्षण गराइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तर तीमध्ये १ हजार ५५ जनामा कोरोना संक्रमण नभएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणले पुष्टि गरेको छ।
कोरोना महामारी फैलिने डरकै कारण सरकाले चैत ११ देखि २५ गतेसम्मका लागि देशभर लकडाउन अर्थात् बन्दाबन्दी गरेको छ।
सँगसँगै यसबाट बच्न मास्क लगाउने, बारम्बार साबुनपानीले हात धुने, खोक्दा हाच्छ्युँ गर्ने व्यक्तिबाट टाढा रहन तथा आफूले त्यसो गर्दा रुमाल या कुहिनाले नाकमुख छोप्न भनेर चिकित्सक एवं स्वास्थ्य मन्त्रालयले सञ्चारमाध्यममार्फत सुझाव दिइरहेका छन्।
साथै एक व्यक्तिबाट अर्काे व्यक्तिको दूरी कम्तीमा २ मिटर राख्न पनि उनीहरूले सल्लाह दिइरहेका छन्।
यसैकारण अहिले हामी यस्ता सुरक्षा अपनाउने सवालमा सचेत हुन थालेका छौं। तर पनि यो भाइरस कसरी फैलिरहेको छ भन्ने विषयमा वैज्ञानिकले अनुसन्धान जारी नै राखेका छन् र दिनदिनैजसो नयाँ-नयाँ तथ्य सार्वजनिक गरिरहेका छन्।
यसै सन्दर्भमा हामीले प्रयोग गर्ने अर्थात् पिउने पानीबाट चाहिँ यो भाइरस सर्छ कि सर्दैन भन्ने जिज्ञासा पनि हामीमध्ये धेरैलाई लागिरहेको हुन सक्छ। यही प्रश्न नेपालखबरले बुधबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेरबहादु पुनलाई राखेको छ।
उक्त अस्पतालका रिसर्च युनिटका संयोजकसमेत रहेका डा. पुन भन्छन्ः
अहिलेसम्म विश्व स्वास्थ्य संगठनको अनुसन्धानले कोरोना भाइरस सर्ने मुख्य माध्यम खोक्दा, हाच्छ्युँ गर्दा उछिट्टिने थुक तथा र्याल भनेको छ।
यसैकारण आफूले खोक्दा/हाच्छ्युँ गर्दा रुमाल या कुहिनाले नाकमुख छोप्ने अर्थात् अरूले त्यस्तो गरेका बेला सचेत रहने, कम्तीमा २ मिटर टाढा बस्ने, मास्क लगाउनेजस्ता सुरक्षा अपनाउनुपर्छ भनिएको हो।
साथै संक्रमितको थुक तथा र्याल कुनै सतह जस्तै: झ्याल/ढोकाका चुकुल, कागज, प्लास्टिक, भाँडाकुँडामा पनि खसेको छ र त्यसमा हाम्रो हातले छोयो भने भाइरस हाम्रो हातमा आउँछ र त्यो हातले हाम्रो नाक-मुखमा छोइयो भने भाइरस हाम्रो श्वासप्रश्वास प्रणालीमा प्रवेश गरेर हामीलाई बिरामी बनाउँछ।
यसैकारण हात नमिलाउने तथा कतै छोइएपछि हरेकपल्ट साबुन-पानीले मिचीमिची हात धुनुपर्छ भनिएको हो।
अब तपाईंले उठाउनुभएको यो पानीबाट कोरोना सर्छ कि सर्दैन भन्ने सवालमा चाहिँ अहिलेसम्म कुनै अनुसन्धानले पानीलाई किटान गरेर यो भाइरस सर्ने माध्यममा रूपमा उल्लेख गरेका छैनन्।
तर भर्खरै डब्ल्यूएचओ र चीन मिलेर गरेको एउटा अनुसन्धान मैले पढेको थिएँ। जसमा कोरोना भाइरस संक्रमित व्यक्तिको दिसामा पनि कोरोना भाइरस देखिएको कुरा उल्लेख गरिएको छ।
यसैकारण शौचालय गएपछि साबुन-पानीले राम्रोस्रँग हात धुने कुरालाई जोड दिइएको छ, व्यक्तिगत सरसफाइमा ध्यान दिन सुझाव दिइएको हाे।
तर उनीहरूले अनुसन्धानमा पानीको कुरा उल्लेख गरेका छैनन्। यद्यपि यसलाई हाम्रो सन्दर्भमा जोडेर हेर्दा हामीलाई पानीबाट पनि यो भाइरस सर्ने जोखिम देखिन्छ। किन भन्नुहुन्छ भने हामीकहाँ स्वच्छ खानेपानीको व्यवस्था छैन।
हरेक वर्ष खानेपानीमा ढल मिसिएर आउँछ। अब अनुसन्धानले जब दिसामा पनि कोरोना भाइरस देखियो भन्ने जुन निष्कर्ष निकालेको छ, त्यसबाट विचार गरौं कि हाम्रो खानेपानीमै ढल मिसिने जुन समस्या छ, त्यसले पक्कै हाम्रा निम्ति पानीबाट पनि कोरोना भाइरस सर्ने केही न केही जोखिमचाहिँ देखाउँछ।
डब्ल्यूएचओ, चीनलगायतले गरेका अनुसन्धानमा पानीबाट सर्ने जोखिमलाई किन उल्लेख गरिएन भने त्यहाँ खानेपानीको प्रबन्ध राम्रो हुन्छ, हामीकहाँ जस्तो जथाभावी ढल मिसिने अव्यवस्था हुँदैन, राम्रो व्यवस्था गरिएको हुन्छ।
यसैकारण उनीहरूले पानीलाई जोखिम नमानेका हुन सक्छन्। तर हाम्रो परिस्थिति अलि फरक छ। यहाँ स्वच्छ पानीको व्यवस्था छैन। ढललगायत फोहोर मिसिने सम्भावना छ होइन कि हरेक साल त ढल मिसिएको समाचार हामीले सुनिरहेकै छौं।
तसर्थ अनुसन्धाले जब संक्रमित व्यक्तिको दिसामा पनि कोरोना भाइरस देखियो है जुन भनेको छ, त्यस हिसाबले चाहिँ पानी कोरोना सर्ने मुख्य माध्यम नमानिए पनि हाम्रो सन्दर्भमा केही न केही जोखिम देखिन्छ।
तसर्थ मेरो सल्लाह के छ भने पानी उमालेर पिउने गरौं। उमालेपछि जुनसुकै भाइरस भए पनि मर्छ। उसो त अन्य बेला पनि धेरै रोगबाट बच्न पानी उमालेरै पिउन आवश्यक छ।
फेरि हामीकहाँ के भनिन्छ भने पानी उमाल्दा मीठो हुँदैन रे। यसो भनेर पनि पानी नउमालीकन पिउने मानिस धेरै छन्, यहाँ। अत्यन्त अचम्मलाग्दो कुरा- रोग लाग्ने मीठो कुरा खाने कि रोग नलाग्ने नमीठो कुरा? यसर्थ पानी उमालेर पिऔं र रोगबाट बचौं।
उमाल्नैपर्छ कि फिल्टर गर्दा वा पियुषजस्ता औषधि हाल्दा पनि हुन्छ?
भाइरस यति सानो हुन्छ कि त्यसलाई साधारण फिल्टरले रोक्न सक्दैन। हुन त फिल्टर पनि भाइरस छान्ने किसिमको पनि पाइन्छ भन्ने सुनेको छु। यस विषयमा मैले खासै अन्सनुन्धान गरेको छैन। अर्काे कुरा, फिल्टर हामी सबै नेपालीको पहुँचमा नहुन सक्छ। हाम्रो बजारमा आउने फिल्टर कस्ता हुन्छन्, त्यो पनि विचारणीय छ।
अब पियुषजस्ता औषधि हालेर पानी निर्मलीकरण गर्ने जुन विधि छ, त्यो पनि उमाल्न सम्भव नभएका बेला त ठीकै हुन्छ। तर हामीमध्ये धेरैलाई फेरि त्यस्ता औषधि कति लिटर पानीमा कति हाल्ने भन्ने जानकारी नहुन सक्छ। अर्काे हानि पुर्याउन सक्छ।
त्यसैले मेरो सल्लाह छ चाहिँ सकेसम्म उमाल्नु नै पानी स्वच्छ पार्ने सबैभन्दा सजिलाे र सही तरिका हो। यसका लागि धेरै कुरा जान्नै परेन। एकपटक भुक्लुक्क उमाल्यो सकियो।
प्रतिक्रिया