ad ad

समाज


दशगजामा ८ सय नेपाली अलपत्र, गृह प्रवक्ता नै भन्छन् : प्रवेश दिने निर्देशन छैन

दशगजामा ८ सय नेपाली अलपत्र, गृह प्रवक्ता नै भन्छन् : प्रवेश दिने निर्देशन छैन

उजिर कार्की
चैत १७, २०७६ सोमबार १०:२४,

 भारतीय सीमानाका तीन ठाउँमा झण्डै एक हजार नेपाली अलपत्र परेका छन्। बाँकेको जमुना नाका, रुपन्देहीको सुनौली नाका र दार्चुलाको पुलाघाटमा नेपाल प्रवेश गर्न नपाएपछि उनीहरु अलपत्र परेका हुन्।

जमुना नाकामा १५०, सुनौली नाकामा २५० र दार्चुलाको पुलाघाटमा करिब ४ सय नेपाली अलपत्र परेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रविन श्रेष्ठले जानकारी दिए।

उनीहरु तीन दिनदेखि सिमानामा रोकिएका छन्। आफ्नै देश प्रवेश गर्न नपाएको भन्दै सिमानामा आएर नाराबाजी समेत गरिरहेका छन्। सिमानामा सयौं नेपाली अलपत्र परे पनि उनीहरुलाई नेपाल प्रवेश गर्न दिने विषयमा स्थानीय प्रशासनदेखि गृह मन्त्रालय नै अन्योलमा रहेको छ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मन्त्रिपरिषद्ले उनीहरुलाई प्रवेश गर्न दिने निर्णय गरेको सुने पनि आधिकारी जानकारी नपाएको बताएका छन्। लिखित जानकारी नआएसम्म आफूले केही गर्न नसक्ने प्रवक्ता शर्माले बताए।

‘म बिहान ९ बजेदेखि अफिसमा आएर बसेको छु, अहिलेसम्म केही निर्णय आएको छैन, निर्णय नआई मैले के गर्न सक्छु र ?’, उनले नेपालखबरसँग भने, ‘बाहिर सुनेकै भरमा परिपत्र गर्न मिल्दैन।’

प्रवक्ता शर्माले सीमा बन्द गर्ने सरकारको निर्णय भएको बताए। उनले भने, ‘नेपालीलाई प्रवेश गर्न दिन त मलाई पनि मन छ नि! निर्देशन आउनासाथ जिल्लामा पठाइहाल्छु, निर्देशन नआई मैले केही गर्न मिलेन।’

दार्चुलाको पुलाघाटमा करिब चार सय नेपाली अलपत्र परेका छन्। तीन दिनदेखि सिमानामा आएका उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले अलपत्र नेपालीलाई फर्कााउने विषयमा छलफल चलिरहेको बताए पनि अझै केही निर्णय हुनसकेको छैन। सरकारले प्रवेश गर्न नदिएपछि दुई नेपाली महाकाली नदीमा पौडिएर नेपाल प्रवेश गरेका छन्।

तर उनीहरुलाई नेपाल प्रवेश गर्नासाथ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई महाकाली नगरपालिकाको क्वारेन्टिनमा राखिएको दार्चुला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हिक्मत बोहोराले नेपालखबरलाई जानकारी दिए।

बाँकेको जमुना नाकामा १५० जना नेपाली अलपत्र परेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले बताएका छन्। तर भारतीय प्रहरीले भने ११४ जना नेपाली आफ्नो भूमिमा रहेको भन्दै बाँके प्रहरीलाई जानकारी गराएको छ।

भारतीय नागरिक नेपाली सीमामै रोकिए
घर फर्किएका ६० जना भारतीय नागरिक पनि नेपाली भूमिमै छन्। उनीहरुलाई पनि भारत प्रवेश गर्न दिइएको छैन। बाँकेका डीएसपी सिपबहादुर सिंहले दिएको जानकारीअनुसार उनीहरुलाई नेपाल प्रवेश गर्न दिने विषयमा भारतीय पक्षसँग पनि कुरा भइरहेको छ।

यस्तै उनीहरुलाई सम्बन्धित जिल्लाको जिम्मा लगाउने गरी तयारी भइरहे पनि कतिबेला छाड्ने भन्ने टुंगो लागिनसकेको डीएसपी सिंहले जानकारी दिए। यस्तै पर्साको वीरगञ्जमा समेत करिब तीन सय जना भारतीय रोकिएका छन्। उनीहरुलाई भारत प्रवेश गर्न नदिइएको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन्।

रुपन्देहीको सुनौली नाकामा २५० जना नेपाली रोकिएका छन्। उनीहरु अहिले पनि भारतीय भूमिमै छन्। नेपाल प्रवेश गर्न दिन माथिको निर्देशन नआएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेम थापाले बताए।

उनीहरुलाई प्रवेश गर्न दिने विषयमा स्थानीय प्रशासनले निर्णय गर्न नसक्ने एसपी थापाले बताए।

सरकारले एक साताअघि लकडाउन गर्ने निर्णय गर्दै सबै सिमाना बन्द गरेको छ। तर सिमानामा आइसकेका आफ्ना नागरिकलाई नेपाली हुन् भन्ने परिचयपत्रका आधारमा ल्याएर क्वारेन्टिनमा राख्ने भने पनि निर्णय प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा सिमानामा नेपालीले सास्ती खेप्नुपरेको हो।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमामा रहेका नागरिकलाई प्रवेश गर्न दिने निर्णय गरे पनि सयौं नेपाली अझै अलपत्र छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .