गण्डकी प्रदेश सरकारले अब प्रदेशका नागरिकहरुको दैनिक आवश्यकता पूर्ति गर्न ‘सहज खाद्य प्याकेट’ वितरण गर्ने भएको छ।
सहज खाद्य प्याकेटमा ३५ सय मूल्य बराबरका एक परिवारलाई चाहिने अत्यावश्यक सामान समेटिएको छ।
प्याकेटमा २५ किलोग्राम जिरा स्टिम चामल, ५ किलोग्राम आँटा, एक किलो चिनी, २ लिटर सनफ्लावर तेल, २ किलो सेतो केराउ, २ किलोग्राम आयो नुन, २ किलो चिउरा, ५ सय ग्राम चियापत्ति, २ सय ग्राम मसला, एकसय ग्राम बेसार, ५ प्याकेट चाउचाउ र एक किलोग्राम चना समावेश गरिएको छ। यो सामान अर्डरको आधारमा घरमै पु-याइने छ।
कोरोना भाइरस संकटले निम्त्याएको असहज परिस्थितिको सामना गर्न प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको संयोजकत्वमा बनेको समितिले सो प्याकेटको अवधारणा ल्याएको हो। अवधारणा अनुसार जिल्ला र स्थानीय तहहरुले अत्यावश्यक सामानहरुको लिष्ट तयार गर्ने तथा मोवाइल एप्सको प्रयोग गरि जनताको आवश्यकता पहिचान गर्नेछन्।
मागको आधारमा आपूर्तिको जिम्मा जिल्ला उद्योग वाणिज्य संघ र ठूला आपूर्तिकर्तालाई दिइने छ। यसैगरि समितिले अत्यावश्यक सामानहरुको सहज आपूर्ति मिलाउने तथा दैनिक उपभोग्य सामानको अति आवश्यकता पर्ने नागरिकको विवरण संकलन गर्ने निर्णय पनि गरेको छ।
आपूर्ति अनुगमन समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले दैनिक ज्यालादारी र मजदूरी गर्ने विपन्नहरुको लगत संकलन गरि उनीहरुलाई राहत दिने योजनासमेत बनाएको छ।
सहुलियत प्याकेट कहिलेबाट उपब्लध गराउने भन्नेबारे भने निर्णयमा केही बताइएको छैन। बजारमा खाद्य अभाव हुन नदिन र एकैचोटी धेरै भण्डारण नहोस् भन्ने हेतुले यो निर्णय गरिएको हो।
प्रतिक्रिया