कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेश बमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका २१ कैदीबन्दीलाई छाडिएको सिरहा कारागारका जेलर बबिता महतोले जानकारी दिइन्।
कोरोनाको सम्भावित जोखिमका कारण अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयवापतको रकम तिराएर छाड्न अदालतले आदेश दिएको हो।
अदालतको आदेशानुसार ती कैदीबन्दीलाई रकम तिराएर छाडिएको जेलर महतोले बताइन्।
कूल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिलासहित ५५१ कैदीबन्दी बस्दै आएका छन्।
एक जनामा सङ्क्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले कैदीबन्दीलाई विगत एक सातादेखि आफन्तजनसँग पनि भेटघाट गर्न नदिएको र कोरोना भाइरस सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराइरहेको जेलर महतोले बताइन्।
यसैबीच कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीका युवानेता प्रमोदकुमार यादवले व्यक्तिगतरूपमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई स्यानिटाइजर र साबुन वितरण गरेका छन्।
सप्तरीको इलाका प्रहरी कार्यालय बोदे बसाईन तथा सशस्त्र प्रहरी बेसक्याम्पलाई साबुन र स्यानिटाइजर वितरण गरिएको यादवले जानकारी दिए।
प्रतिक्रिया