ad ad

समाज


भारतबाट डोटी फर्किएका १७५ जना क्वारेन्टिनमा

भारतबाट डोटी फर्किएका १७५ जना क्वारेन्टिनमा

नेपालखबर
चैत १२, २०७६ बुधबार ९:२९,

भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका जिल्लाका १७५ जना बासिन्दालाई क्वारेन्टिनमा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले मंगलबार कैलालीको त्रिनगर भन्सार कार्यालय हुँदै डोटी आएका ती मानिसलाई जिल्लाको बडीकेदार गाउँपालिका बिपीनगर, शिखर नगरपालिका तल्कोट र दिपायल सिलगढी नगरपालिका राजपुरमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको जानकारी दिए।

भारतबाट स्वदेश फर्किएका सुदूरपश्चिम प्रदेशका ९९९ स्थानीय बासिन्दालाई प्रदेश सरकारको निर्देशनमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सम्पर्कमा जाने गरी मंगलबार राति कैलालीबाट पहाडी जिल्लामा पठाइएको थियो। यसै सिलसिलामा डोटीमा १७५ जना भारतमा काम गरी फर्किएका छन्।

भारतबाट फर्किएकाहरु तल्कोटमा रहेको क्वारेन्टिनमा ७१ जना, बिपीनगरमा ५१ जना र राजपुरमा निर्माण भएको क्वारेन्टिनमा ५३ जना राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले जानकारी दिए। क्वारेन्टिनमा राखिएकाहरुलाई सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले खानेबस्ने व्यवस्था मिलाएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए।

उनले भने, ‘क्वारेन्टिनमा राखिएकाहरुको खानेबस्ने व्यवस्था सम्बन्धित स्थानीय तहले गरेको छ, तिनलाई केही दिन क्वारेन्टिनमै राखिने छ।’

कोभिड–१९ को सचेतनास्वरुप यहाँका स्थानीय तहले विभिन्न वडाका घरघर पुगेर भारतबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझावसमेत दिन थालेका छन्। भारतबाट आफ्नो गाउँटोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न प्रजिअ पौडेलले सबैलाई आग्रह गरे।

भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

क्वारेन्टिनमा राखिएकाहरुलाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्शसमेत दिइएको छ। त्यसैगरी जिल्लामा भारतसहित देशका अन्य क्षेत्रबाट आएकाहरुको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने समन्वय समितिका संयोजक ऐरले बताए।

दिपायल राजपुरको क्वारेन्टिनमा राखिएकाहरुको उपचार गर्ने स्वास्थ्य केन्द्रलाई आवश्यकतानुसारका स्वास्थ्य सामग्री दिपायल सिलगढी नगरपालिकाले उपलब्ध गराएको नगर प्रमुख मञ्जु मलासीले बताइन्।

उनले भनिन्, ‘क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य जाँच गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री तथा औषधि उपलब्ध गराएका छौँ, आवश्यक परे जति बेला पनि अन्य सामग्री प्रदान गर्न तयारी अवस्थामा छौँ ।’

नगरपालिकाले साबुनपानीसहित हात धुने व्यवस्थाका लागि साबुन, स्यानिटाइजर र मास्कसमेत प्रदान गरेको नगर प्रमुख मलासीले जानकारी दिइन्। त्यसैगरी स्थानीयवासी जम्मा हुने तथा बढी भीडभाड हुने ठाउँ तथा चोकमा पनि साबुनपानीसहित हात धुने व्यवस्था मिलाइएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिए।

लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन तथा घरटोल र छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई संक्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि र कर्मचारी लागिपरेको नगरपालिकाले जनाएको छ। उता सरकारले लकडाउन गरेसंँगै यहाँको स्थानीय प्रशासनले घरबाहिर ननिस्किन स्थानीयवासीलाई आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय डोटी, सशस्त्र प्रहरी ३६ नम्बर गणको टोलीले यहाँका बजार तथा गाउँघरमा गई घर बाहिर ननिस्किन स्थानीयवासीलाई माइकिङ गरिरहेका छन् । त्यस्तै प्रशासनको आग्रहलाई अटेर गरे कानूनी कारवाही गरिने प्रजिअ पौडेलले बताए।

उनले भने, ‘स्थानीय नागरिकको ज्यानको सुरक्षाका लागि हामी आफ्नो ज्यान जोखिममा राखेर खटिएका छौँ, अटेर गरे कानूनबमोजिम कारवाही गछौँ।’

लकडाउनका कारण बजार सुनसान भएका छन् भने बजारभरि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .