ad ad

समाज


जानीजानी कोरोना लुकाए वा फैलाए हुनेछ १० वर्ष जेल

जानीजानी कोरोना लुकाए वा फैलाए हुनेछ १० वर्ष जेल

नेपालखबर
चैत १२, २०७६ बुधबार ३:३३,

अहिले सिंगो संसार नै कोरोना भाइरसको सन्त्रासमा छ। यसको संक्रमणबाट दिनप्रतिदिन मानिस मर्ने क्रम रोकिएको छैन।

कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जोन हप्किन्स विश्वविद्यालयले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ। संक्रमितको संख्या ४ लाख नाघिसकेको छ।

यसैकारण अहिले नेपालमा पनि यसबाट बच्न सरकारले नै सतर्कता अपनाएको छ। मंगलबारदेखि पूरै देश बन्द अर्थात् लकडाउन गरिएको छ।

अहिले व्यक्तिगत रूपमा हरेक मानिस सतर्क भइरहेका छन्। सकेसम्म भिडभाडमा नजाने, हात नमिलाउने, एक व्यक्तिदेखि अर्काे व्यक्तिबीच निश्चित दूरी (चिकित्सकका अनुसार कम्तीमा ६ फिट टाढा) कायम गर्ने आदि नियम पालना गर्ने क्रम तीव्र छ।

परिवारकै सदस्यबीच पनि कसैलाई रुघाखोकी लागेको छ भने अलि टाढै रहनेजस्ता होसियारी यतिबेला मानिसले अपनाइरहेका छन्।

यस्तै विदेशबाट आएका वा यतै बसेकाहरूले पनि आफूलाई कोरोनाको लक्षण देखिएमा तुरुन्त अस्पतालमा सम्पर्क राखेर आफूलाई अलग गर्न सरकार तथा चिकित्सकले सुझाव दिइरहेका छन्।

भर्खरै मात्र पनि फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले उनी टेुक अस्पतालमा उपचार गराइरहेकी छन् भने यसअघि उनीसँग सम्पर्कमा आएका परिवारका सदस्य लगायत व्यक्तिको पनि सरकारले पहिचान गरी क्वारेन्टिनमा रहन भनिसकेको छ।

यति गर्दागर्दै पनि कतिपय व्यक्तिले रोग लुकाउने तथा नियतवश अरूलाई सार्ने कुचेष्टा पनि नगर्लान् भन्न सकिने अवस्था छैन। किनकि कतिपय मानिस आफूलाई परेको समस्या अरूलाई पनि परोस् भन्ने आपराधिक सोचका हुन सक्छन्।

यसैलाई विचार गरेर हुनुपर्छ- त्यस्ता व्यक्तिलाई सजायको व्यवस्था हाम्रो कानुनले पनि गरेको छ।

नेपालको मुलुकी अपराध संहितामा कसैले पनि आफूलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतवश अरूलाई सारेमा, लापरबाही वा हेलचक्र्याइँ गरेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ।
यस आधारमा अहिले विश्वभर महामारी बनेर फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण जानीजानी फैलाउनेलाई पनि १० वर्षसम्म कैदसहित १ लाख जरिवाना हुने कानुनविद् बताउँछन्।

रोग लागेका व्यक्तिले लापर्बाही वा हेलचक्र्याइँ गरेमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ।

संहिताको दफा १०४ मा संक्रामक रोग फैलाउन नहुने व्यवस्थाअन्तर्गत कसैले कसैको ज्यानलाई खतरा पु¥याउन सक्ने कुनै किसिमको संक्रामक रोग फैलाउने, फैलिन सक्नेगरी काम गर्न नहुने भनिएको छ।
इस्तै दफा १०६ मा सरुवा रोगसम्बन्धी कानुन उल्लंघन गर्न नहुने उल्लेख छ।

संघीय, प्रदेश वा स्थानीय सरकारले वा कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोग सम्बन्धमा जारी गरेको नियम, निर्देशन उल्लंघन गर्न नहुने कानुनी व्यवस्था छ। सरकारले जारी गरेको नियम, आदेश उल्लंघन गरेमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुनेछ।

मुलुकमा कोरोना भाइरसको जोखिम बढेपछि संक्रामक रोग ऐन २०२० पनि आकर्षित हुन सक्नेगरी सरकारले लक डाउन गरिसकेको छ।

ऐनअन्तर्गत दिइएका आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिना कैद वा सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ। ऐनमा काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने लेखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .