फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षिय किशोरीलाई आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै एउटै विमानमा आएका यात्रुहरुको निरीक्षण पनि सरकारले थालेको छ।
यसैक्रममा उनीसँगै विमानमा आएका बाग्लुङको ढोरपाटन नगरपालिका ५ का एक युवालाई छुट्टै आइसोलेसनमा राखिएको छ।
२४ वर्षीय ती युवालाई उनकै दुईमध्ये एक घरमा छुट्टै आइसोलेयसनमा राखिएको नगरप्रमुख देवकुमार नेपालीले बताए।
‘ती युवा संक्रमण भएकी किशोरीसँगै आएको खबर पाएपछि म, चिकित्सक र इलाका प्रहरी कार्यालयको टोली स्थलगत निरीक्षणमा आज पुगेका थियौं, नगरप्रमुख नेपाली नेपालखबरसँग भने, वडाध्यक्षको निगरानीमा उसैका दुईमध्ये एउटा घरमा छुट्टै बस्न लगाएका छौं।’
ती व्यक्ति नेपाल आएको ७ दिनभइसक्दा पनि हालसम्म कुनै लक्षण नदेखिएको उनले बताए। सोहीकारण तत्काल नमूना नलिइएको र कुनै लक्षण देखिए नमूना संकलन गरि काठमाडौं पठाइने उनले जनाएका छन्।
प्रतिक्रिया