ad ad

समाज


टेकुमा उपचाररत कोरोना संक्रमित युवतीको अवस्था कस्तो छ?

टेकुमा उपचाररत कोरोना संक्रमित युवतीको अवस्था कस्तो छ?

नेपालखबर
चैत ११, २०७६ मंगलबार २:३९,

कोरोना भाइरसबाट संक्रमित नेपाली युवतीको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार जारी छ।

फ्रान्सबाट स्वदेश फर्किएकी १९ वर्षीया ती छात्राको अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले मंगलबार बिहान नेपालखबरलाई जानकारी दिए।

‘उनको उपचार जारी छ, त्यस्तो नराम्रो छैन, अवस्था सामान्य छ’ प्रवक्ता बास्तोलाले भने, ‘म अहिले अस्पताल पुग्दै छु र थप बुझ्दै छु।’

अस्पतालका निर्देशक वासुदेव पाण्डेले पनि ती छात्राको अवस्था एकदमै सामान्य रहेको बताए।

‘पहिला पनि उनमा खासै समस्या देखिएको होइन,’ मंगलबार बिहान निर्देशक पाण्डेले नेपालखबरसँग भने, ‘अहिले उनको अवस्था सामान्य छ।’

बरु उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूमा सर्यो कि भन्ने मात्र चिन्ता ठूलो भएको उनले बताए।

‘उनको परिवारसहित उनका आसपासमा आएका व्यक्तिको खोजी गरिरहेका छौं र तिनको नमुना परीक्षण अगाडि बढाएका छौं,’ उनले भने।

फ्रान्सबाट यही चैत ४ गते नेपाल आएकी ती छात्राको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा कोरोना भाइरस भेटिएको हो। यसबारे साेमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको थियो।

त्यसलगत्तै उनको घरमा र परिवार पनि जोखिममा हुने भएकाले स्वास्थ्य मन्त्रालयको टोली काठमाडौंमै रहेको उनको घर पुगेको थियो।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमित युवतीको परिवारलाई घरमै अर्थात् होम क्वारेन्टाइनमा राखिएको छ।

ती संक्रमित युवतीको अहिले टेकु अस्पतालमा आइसोलेसनमा राखेर भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै डाक्टरको सल्लाहअनुसार उनको दोस्रो पटक पनि स्वास्थ्य परीक्षण गरिने मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमित ती युवतीको आसपास तथा सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको सरकारले जानकारी दिएकाे छ। 

यसअघि सुरुमा परीक्षण गराएका चीनको उहानबाट आएका एक नेपाली विद्यार्थीमा पनि कोरोना संक्रमण भेटिएको थियो। तर उपचारपछि अहिले उनी पूरै स्वस्थ भएर आफ्नो काममा फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसयता साढे ५ सय जनाको स्वास्थ्य परीक्षण गरिए पनि कसैमा कोरोना पाइएको थिएन।

तर फ्रान्सबाट आएकी ती छात्रामा भने कोरोना संक्रमण पाइएको हो। यो नेपालमा कोरोना संक्रमण देखिएको दोस्रो घटना हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .