ad ad

समाज


यसरी हुनेछ नेपालमा कोरोना संक्रमितको उपचार

यसरी हुनेछ नेपालमा कोरोना संक्रमितको उपचार

यज्ञराज जोशी
चैत २, २०७६ आइतबार १५:४८,

विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस (कोभिड–१९)को हालसम्म निश्चित औषधि पत्ता लागिसकेको छैन।

यद्यपि आइतबारसम्ममा विश्वभर १ लाख ५७ हजारमा कोरोना संक्रमितमध्ये ७५ हजार ९ जना निको भइसकेका छन्। ५ हजार ८ सयको भने मृत्यु भएको छ।

१ सय ५३ देशमा फैलिसकेको कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा छ। नेपालमा संक्रमण देखिए उपचार कसरी हुन्छ त?

अन्य मुलुकको उदाहरण हेरेर लक्षणअनुसार उपचार गर्नुको विकल्प नभएको चिकित्सकहरु बताउँछन्।

जनवरी दोस्रो साता चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण भेटिएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपश्चात ती विद्यार्थी पूर्ण रुपमा स्वस्थ भइसकेका छन्।

उनलाई पनि लक्षण अनुसारकै उपचार गरिएको उपचारमा संग्लन चिकित्सक शेरबहादुर पुनले बताए।

‘उनलाई देखिएका लक्षण अनुसारकै उपचार गरिएको हो। सलाइन चढाइयो, रुघाखोकी, ज्वरोको औषधि दिइयो। त्यसले निको बनायो,’ डा. पुनले नेपालखबरसँग भने।

स्वास्थ्यमन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ सय ५५ जनाको परीक्षण गरिएको छ। तीमध्ये निको भएका एक जनाबाहेक बाहेक सबैको नतिजा नेगेटिभ देखिएको छ।

विश्वमा कोरोनाबाट संक्रमितको तथ्यांक हेर्दा ८० वर्ष उमेरभन्दा माथिका व्यक्ति १४.८ प्रतिशत मृत्युदर देखिन्छ। त्यसतै, ६०–६९ वर्षमा ३.६ प्रतिशत, ५० देखि ५९ सम्म १.३ प्रतिशत, ४० देखि ४९ सम्म ०.४ प्रतिशत र १० देखि ३९ सम्म ०.२ प्रतिशत मृत्युदर छ।

अर्थात् रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, अन्य स्वास्थ्य समस्या भएका वृद्धहरुमा मृत्युदर अत्यधिक छ भने युवाहरुमा नगन्य। त्यसैले उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान आफूहरु सल्लाह दिने गरेको डा. पुनले बताए। त्यसबाहेक थप जटिलता देखिए आइसीयू तथा भेन्टिलेटरमा राखेर फेरि पनि लक्षण अनुसार नै उपचार गर्नुपर्ने उनी बताउँछन्।

अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले पनि कोरोनाको ठ्याक्कै औषधि नभए पनि ‘सपोर्टिभ ट्रिटमेन्ट’ गरिने बताए।

‘यसको संक्रमण देखिएपछि अन्य सेकेन्डरी संक्रमणपनि देखिन्छ। अहिले त्यसक्रममा देखिएका लक्षणअनुसार उपचार गर्ने सपोर्टिभ ट्रिटमेन्टमात्रै हो,’ राजभण्डारीले भने, ‘थप समस्या देखिएमा उनीहरुलाई आइसीयूमा राखेर उपचार गर्नुपर्छ।’

क्षमता बढाउँदै सरकार
सरकारले ठूलो संख्यामा कोरोना संक्रमित देखिए उपचारको क्षमता बढाउन थालेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ सयसम्म संक्रमित हुनसक्ने अनुमानका आधारमा तयारी गरिएको बताए।

‘अहिले ८० प्रतिशत क्वारेन्टाइनमै उपचार हुनसक्ने, १५ प्रतिशतलाई छुट्टै आइसोलेटेड बेडमा राखेर उपचार गर्नुपर्ने तथा ५ प्रतिशतलाई विशेष उपचारको आवश्यकता रहेको तथ्यांक देखिन्छ,’ ढकालले भने, ‘हामी त्यसअनुसार १५ सयसम्म तत्काल संक्रमित देखिएको स्थितिमा सहज रुपमा जुध्न तयारीमा छौं।’

स्वास्थ्यमन्त्रालयका अनुसार हाल काठमाडौंमा १ सय ५५ आइसोलेसन बेड तथा एक सय ७० आईसीयू बेड छन्। थप जोखिम देखिए सरकारले काठमाडौंका तीन अस्पताललाई पूर्ण रुपमा कोरोनाको उपचारमा प्रयोग गर्ने तथा देशभर थप २ सय ३५ आइसीयू बेड निर्माणको तयारी गरेको मन्त्री ढकालले बताए।

‘कोरोनाको जोखिमलाई मध्यनजर गर्दै काठमाडौंमा १ सय २० र काठमाडौं बाहिर १ सय ३५ गरी थप २ सय ३५ आईसीयू बेडको तत्कालै व्यवस्था गर्न काम अघि बढाएका छौं,’ ढकालले भने, ‘काठमाडौंमा तीन अस्पताललाई पूर्ण रुपमा कोरोनाको उपचारमा छुट्याएर त्यहाँ आवश्यक औषधि र उपकरणको व्यवस्था गर्न लागिएको छ।’

अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले शंकास्पदहरुको नमुना परिक्षण गर्दै आएको छ। हप्तामा ५ सय नमुना परीक्षण गर्न सक्ने प्रयोगशालाको क्षमता आवश्यकता अनुसार बढाउन सकिने प्रवक्ता राजेशकुमार गुप्ताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .