ad ad

समाज


निरस फागु

निरस फागु

रामबहादुर थापा
फागुन २६, २०७६ सोमबार ९:३५,

बागलुङ बजारका सडक, चोक र गल्लीमा फागुको रौनक बिहानै छाइसक्थ्यो। बच्चादेखि युवायुवती हुल बाँधेर हिँड्थे। एकापसमा रङ दल्दै खुशी साट्थे। फागु पर्वको शुभकामना आदानप्रदान गर्थे। सडक पनि रङ्गिन्थ्यो।

यसपालिको फागुले भने रौनक गुमाएको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले सावधानीपूर्वक फागु मनाउन भनेको छ। भीडभाड नगर्न, रङ र पानी नछ्याप्न आग्रह गरेको छ। स्थानीय प्रशासनले समेत फागु लक्षित मेला, उत्सव र साङ्गीतिक कार्यक्रममा रोक लगाएको छ। समूहमा फागु खेल्ने, रमाउने गरेका युवायुवतीले खल्लो महसुस गरेका छन्। फागु पर्व सीमित साथीभाइ, घर र परिवारमा सीमित भएको छ।

बागलुङ सदरमुकामको हल्लनचोक बर्सेनि फागु पर्वमा गरमाउँथ्यो। स्थानीय क्लब, साङ्गीतिक समूहले ‘कन्सर्ट’ आयोजना गर्थे। त्यही हल्लनचोक आज भने सुनसान छ। यो वर्ष कालारात्रि ‘ब्याण्ड’, गायक सम्भोज मल्लसहित ‘लाइभ डिजे’ आयोजना हुँदै थियो।

कोरोना भाइरसकै सन्त्रासका कारण आयोजक कालिका भगवती युवा क्लबले सबै कार्यक्रम रद्द ग¥यो। नेपाल भाषा मङ्का खलः बागलुङले पनि फागु पर्वमा आयोजना गर्दै आएको कार्यक्रम स्थगित ग¥यो। नेवार समुदायका अगुवासहित सर्वसाधारण फागु खेल्दै बागलुङ बजार परिक्रमा गर्थे।

दुई वर्ष पुराना नेवारी फागु गीत बागलुङका सडकमा गुञ्जिन्थे। युवायुवतीदेखि वयस्यकसम्म फागु गीत र नाचमा रमाउँथे। कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई दृष्टिगत गरी फागु विशेष कार्यक्रम स्थगन गरिएको खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए।

यति मात्र होइन जिल्लाका अन्यत्र ठाउँमा पनि फागु पूर्णिमाका अवसरमा आयोजना गरिएका मेला, महोत्सव स्थगन भएका छन्। जिल्लाको गलकोट नगरपालिका–७ मल्म र निसीखोला गाउँपालिका–४ मा आयोजित फागु पूर्णिमा मेला स्थगन भयो।

गलकोटको घुम्टे युवा परिवारले ३५ वर्षदेखि फागु पर्वमा मेला गर्दै आएको थियो । शुक्रबारदेखि शुरु हुने भनिएको मेलामा विविध कला, खेलकूद, कृषि प्रदर्शनीलगायतका कार्यक्रम तय गरिएको थियो। कोरोना भाइरसको सङ्क्रमण रोक्न आवश्यक सजगताका लागि वर्षौं पुरानो मेला स्थगन गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले बताए। सधैँ फागुमा रौनक छाउने मल्मस्थित परिवारको परिसर यसपालि सुनसान छ।

कोरोना भाइरसले फागुमा पारेको प्रभावले व्यापार, व्यवसायलाई समेत असर ग¥यो। फागुका लागि ६०० ‘टिर्सट’ ल्याएकोमा जम्मा १० वटा बिक्री भएको स्थानीय व्यवसायी रिमा गुप्ताले बताए। उनका अनुसार रङलगायत फागुमा प्रयोग हुने कुनै पनि सामग्री बिक्री भएन।

फागु पर्वमा मात्र नभएर जिल्लामा आयोजना हुने अन्य सार्वजनिक सभा, समारोह पनि कोरानाकै कारण स्थगित भएका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण ८५ देशमा फैलिएको छ। अहिलेसम्म भाइरसका कारण तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका छन्। झण्डै एक लाख भाइरसबाट सङ्क्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .