ad ad

समाज


दाङका दुई स्थानमा हावाबाट बिजुली निकाल्ने तयारी

दाङका दुई स्थानमा हावाबाट बिजुली निकाल्ने तयारी

नेपालखबर
फागुन २६, २०७६ सोमबार ९:३१,

 दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ। दाङको गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि परीक्षण भइरहेको छ।

गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी सम्भाव्यता अध्ययन भइरहेको छ। स्याटेलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाइएको इञ्जिनियर गौरव दुलालले जानकारी दिए। ‘कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा त छैन, तर स्याटेलाइटको माध्यमबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ’, दुलालले भने। ती दुवै स्थानमा टावर निर्माण गर्नुका साथै पंखा पनि जडान गरिएको छ। ‘असी मिटर अग्लो टावर र त्यसमा जडान गरिएका पंखाले दुई वर्षसम्म हावाको गति मापन गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन सुरु गर्नेछौँ’, इञ्जिनियर दुलालले भने।

गत वर्ष स्थापना भएका टावरमा भएको मापनअनुसार अहिलेसम्म राम्रो नतिजा आइरहेको उनले बताए। एक वर्षको मात्रै परीक्षणले नहुने भएकाले अर्को एक वर्ष पनि परीक्षण मात्रै हुने छ। ‘दुई वर्षसम्म यसको तथ्यांक निकाल्नु पर्छ, दुई वर्षको नतिजाअनुसार मात्र विद्युत उत्पादन सुरु हुन्छ’, उनले भने। इञ्जिनियर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रतिसेकेण्ड हुनुपर्छ। अहिले हावाको गति मापन गर्ने काम भइरहेको छ।

हावाको गति मापन गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ। यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन सुरु हुने उनले बताए। पहिलो चरणमा रु ६० लाख बराबरको काम भएको उनको भनाइ छ। अहिले देशका २१ ठाउँमा हावाको मापन गर्ने काम भइरहेको छ। यसअघि सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनियर दुलालको भनाइ छ। उनका अनुसार नवलपरासी, सिन्धुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम र पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .