ad ad

समाज


सिनामंगलमा मृत भेटिएकाहरू ‘नाताभित्रकै’ : भरत मुम्बईमा काम गर्थे, करिस्मालाई परेको थियो डीभी

सिनामंगलमा मृत भेटिएकाहरू ‘नाताभित्रकै’ : भरत मुम्बईमा काम गर्थे, करिस्मालाई परेको थियो डीभी

उजिर कार्की
साउन १८, २०८१ शुक्रबार १८:५५, काठमाडौँ

काठमाडौँको सिनामंगलमा शुक्रबार दिउँसो मृत फेला परेका युवक र युवती नजिकका दाजुबहिनी भएको खुलेको छ। बाजुराको त्रिवेणी नगरपालिका ४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९/२० वर्षकी करिस्मा सार्की काठमाडौँ महानगरपालिका ९ शम्भुमार्गस्थित झर्ना गेस्टहाउसमा मृत फेला परेका छन्।

गेस्टहाउसको कोठा नम्बर २०४ मा भित्रबाट ढोका बन्द गरेर बसेको र होटलका कर्मचारीले बोलाउँदा नआएपछि प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीले ढोका फोडेर हेर्दा उनीहरू दुवै जना मृत फेला परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। 

करिस्मा घाँटी काटिएको अवस्थामा र भरत झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीले घटनास्थलको मुचुल्का सकेर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ। घटनाको थप अनुसन्धान गरिरहेको पनि एसपी अधिकारीले बताए। 

करिस्मा आफ्ना दुई भाइसँग काठमाडौंमा बस्दै आएको उनको परिवारले जनाएको छ। करिस्माकी काकी सरिता सार्कीका अनुसार उनका कक्षा ६ र १२ मा पढ्ने दुई जना भाइ छन्। उनीहरूको हेरचाहका लागि उनी काठमाडौँमै बस्थिन्। 

उनले भने गाउँकै विद्यालयमा एसईई दिएकी थिइन्। त्यसपछि कक्षा ११ र १२ धनगढीमा पढेको सरिताले नेपालखबरलाई बताइन्। परिवारका अनुसार करिस्मालाई यसैवर्ष अमेरिकाको डीभी परेको थियो। 

उनका बुबा अम्मरबहादुर सार्की रोजगारीका लागि मलेसियामा छन्। आमा पनि केही दिनअघि भारत गएकी छिन्। उनी उपचारको लागि असार अन्तिममा भारत गएकी थिइन्। 

यता करिस्मा र भरत साउन १५ गतेदेखि नै उक्त गेस्टहाउसमा बसेको खुलेको छ। गेस्टहाउसले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरू १५ गतेदेखि नै सँगै बसे पनि शुक्रबार बिहान खाना खान नआएपछि खोजी गर्दा बन्द कोठाभित्र मृत फेला पारिएको हो। 

भरत भने रोजगारीका लागि मुम्बईमै थिए। उनी करिब चार वर्षपहिले मुम्बई गएपछि गाउँ फर्किएका थिएनन्। अहिले उनी काठमाडौँ आएको पनि परिवारलाई जानकारी नरहेको बताएका छन्। 

‘भरत र सरिता नजिकका दाजु–बहिनी हुन्। यहाँ घर पनि तल्लो घर–माथ्लो घर हो। तर उनीहरू धेरै नजिक भएको हल्ला चलेपछि हामीले घरमै उनीहरूलाई सम्झाएका थियौँ। तर त्यसपछि मुम्बई गएको भरत गाउँ फर्किएको थिएन। अहिले काठमाडौँ आएको पनि थाहा थिएन। करिस्मा पनि भाइहरूलाई रेखदेख गर्दै काठमाडौँमै बस्थिन्,’ उनीहरूका आफन्तले नेपालखबरसँग भने।

अहिले घटनाबारे जानकारी पाइसकेपछि परिवारलाई खबर गरेको वडाध्यक्ष गणेशबहादुर साउदले बताए। सोही टोल घर भएकी त्रिवेणी नगरपालिका ४ की वडासदस्य अपेक्षा सार्कीले परिवारमा खबर आइसकेको र अहिले बाहिर रहेका आफन्तलाई बोलाउने काम भइरहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .