ad ad

समाज


नारायणी र सप्तकोसीमा जलसतह खतराको बिन्दुमाथि

नारायणी र सप्तकोसीमा जलसतह खतराको बिन्दुमाथि

अविरल बर्षाका कारण नारायणगढस्थित नारायणी नदीमा आएको बाढी। यतिबेला नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरी खतरा उन्मुख रहेको छ। तस्बिरः सनद अधिकारी/रासस


नेपालखबर
असार २२, २०८१ शनिबार १९:४६, काठमाडौँ

निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ। देवघाटमा शनिबार दिउँसो ४ : ४५ मा जलसतह नौ दशमलव ८ मिटर मापन गरिएको छ। सात मिटर कटेपछि चेतावनी र ९ मिटर कटेसँगै खतराको तह मानिन्छ।
 
बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार आज दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ। एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिए। ‘निरन्तर वर्षा भइरहेको छ,’ उनले भने, ‘ नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ। त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौं।’

त्यस्तै सप्तकोसी नदीको जलसतह पनि आज यस वर्षकै सबैभन्दा उच्च भएको छ। दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन्। आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए। 

‘पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो,’ उनले भने, ‘जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन।’

सेतीमा पनि बढ्यो सतह, ५ परिवार विस्थापित
सेती नदीमा पानीको सतह बढेपछि पोखरा–१४ को गोष्टी बस्ती जोखिममा परेको छ। नदीमा पानीको सतह बढेर जोखिम बढेपछि नदी किनारमा बसोबास गर्ने पाँच परिवार विस्थापित भएका छन्।

अविरल वर्षाका कारण सेतीमा पानीको सतह बढेर बस्ती जोखिम पसेपछि यहाँका ५ परिवारका २३ जनालाई आज दिउँसो सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

गोष्टी टोलस्थित सेती नदीको किनारमा बसोबास गरिरहेका विष्णुमाया सुनुवारको परिवारका ५, डोम्मा शेर्पाका सात, सुकदेव गुरुङका ४, डावा शेर्पाका चार र काजी शेर्पाको परिवार तीन जनालाई टोल विकास संस्थाको भवनमा सारिएको शर्माले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .