असार १३ गते राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्दा गुल्मीको छत्रकोट गाउँपालिका- ४ का ऋषिराम कँडेल घरमै थिए। सँगै थिए- उनका बाबा लक्ष्मण र ममी शान्ता। फरक क्षमताका ऋषिरामलाई आफ्नो एसईई नतिजा कतिबेला हेरौँ जस्तो भएको थियो। मनमा हुटहुटी र कौतुहल थियो। मुटुको ढुकढुकी बढ्दै थियो।
यस्तो नहोस् पनि किन? राज्यले ‘क’ वर्गको अपांगतामा सूचिकृत गरेका ऋषिरामले खुट्टाले लेखेर एसईई परीक्षा दिएका थिए।
एसईई मात्रै होइन, जीवनका २० वसन्त पार गर्दै गरेका यी किशोरले एसईईअघिका धेरै परीक्षामा दाहिने खुट्टाका तिनै दुई औँलाको सहायतामा आफ्नो जीवनको भाग्य कोर्दै आफूलाई अब्बल प्रमाणित गर्दै आएका थिए।
एसईई नतिजा सार्वजनिक भएको खबर सुन्नासाथ ममी-बाबाकै सामुन्ने बसेर उनले खुट्टाका तिनै दुई औँलाको सहायतामा मोबाइल चलाउन थाले। वेबसाइट सर्च गरे। आफ्नो सिम्बोल नम्बर ०४६०११७९ ‘के’ र जन्म मिति लेखेर सर्च गर्दा नतिजा ३.३७ जीपीए देखायो।
नतिजा देख्नेबित्तिकै उनले उत्साहित हुँदै आफू पास भएको ममी-बाबालाई सुनाए। ममी-बाबाले हर्षविभाेर हुँदै आँसु बगाए। शृंगा जनता माविका प्रधानाध्यापक विकास खरेलसहितका सरहरुले पनि फोन गरेर ‘बधाई छ ऋषिराम तिमीलाई’ भन्दै माया दर्साए।
‘३.३७ जीपीए मैले अपेक्षा गरेअनुसारकै नतिजा हो,’ निकै मीठो र बौद्धिक ढंगले बोल्ने ऋषिरामले नेपालखबरसँग भने, ‘यो नतिजा मेरो कडा मेहनतको परिणाम हो।’
थप कथा उनकै शब्दमा..
मेरो एसईई रिजल्टपछि घरमा खुसीयाली छ। अब प्लस टु साइन्स पढ्ने इच्छा मैले ममीबाबालाई सुनाएको छ। साइन्समा प्लस टु क्लियर गर्न सके त्यसमाथिको पढाइ मलाई जुन उपयुक्त लाग्छ, त्यही पढ्छु भन्ने साेचेको छु। मेरो यो इच्छामा ममीबाबाले पनि सहमति जनाउनु भएको छ।
एसईई रिजल्ट मैले अपेक्षागरेअनुसार नै आएको छ। मैले यो भन्दा धेरै अपेक्षा गरेको पनि थिइँन। नौ कक्षामा पढाइ बिग्रिन नपाएको भए यो भन्दा राम्रो रिजल्ट आउन सक्थ्यो होला। तर, म कक्षा नौमा बिरामी पर्दा पढाइ केही खस्कियो। ‘अप्सनल सबजेक्ट’ले पनि मलाई अलिक अप्ठ्यारो पारेको थियो। तर, त्यसलाई पनि मैले मेहनत गरेर सुधार्न सकेँ। ३.३७ जीपीए अर्थात् ‘ए’ मेरा लागि अपेक्षित रिजल्ट नै हो। अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली जस्ता विषयमा मेरो रिजल्ट राम्रो आएको छ।
हाम्रो विद्यालयबाट यस वर्षको एसईईमा २१ जना विद्यार्थी सहभागी भएका थिए। त्यसमध्येका ११ जना उत्तीर्ण भएका छन्। सबैभन्दा राम्रो गर्नेले ३.४८ जीपीए ल्याएका छन्। कमी आउनेको पनि ३.१५ सम्म आएको छ।
हाम्रो ममीबाबा किसान हो। गुल्मीको छत्रकोट- ४ मा हाम्रो घर छ। हाम्रो बाबाममीको पुस्तौनी सम्पत्ति केही छैन। खेती किसानी नै हाम्रो जीविकाको आधार हो। उहाँहरूको म एक्लो सन्तान। २०५९ चैत २० गते मेरो जन्म भएको हो। म जन्मजात नै फरक क्षमता (अपांगता) को रुपमा यो धर्तीमा आएँ। मलाई गाउँपालिकाले ‘क’ वर्गको अपांगता भएका नागरिकलाई राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। त्यसले पनि मलाई पढाइमा निकै सहयोग पुगेको छ।
मेरो शारीरिक अवस्था कमजोर हुँदाहुँदै पनि ममीबाबाले सानैमा मलाई पढाउने निर्णय लिनु भएछ। उहाँहरुले मलाई बन्द कोठामा राख्न चाहनु भएनछ। मेरो यो सफलतामा ठूलो हात मेरो ममीबाबाकै छ। मैले पढेसम्म पढाउने सोच उहाँहरुले बनाउनु भएको छ।
पढाइ आफैँ सुधार हुने विषय होइन। त्यसको लागि ‘हार्डवर्क’ जरुरी छ। जति बढी मेहनत गरिन्छ, त्यही अनुसार फल पाइन्छ। मैले पनि पढाइमा निकै मेहनत गरेको छु। मैले कहिल्यै पनि आफूलाई शारीरिक रुपमा कमजोर छु भन्ने ठानिनँ।
पढ्दै जाँदा जुन विषयमा म कमजोर छु भन्ने लाग्थ्यो, त्यसमा म झन् धेरै मेहनत गर्थेँ। कुनै पनि विषयमा बनिबनाउ जान्ने हुँदैन मान्छे। जान्ने हुने भनेको मेहनतले नै हो।
मैले एसईईमा जुन नतिजा ल्याएँ, त्यो मेरो हार्डवर्ककै प्रतिफल हो। मैले एसईई परीक्षा दिएको गाउँकै जनबोध माविमा प्लस टु साइन्स पढाइ हुन्छ। कक्षा ११ त्यहीँ पढ्ने सोच मैले बनाएको छु। मेरो शारीरिक अवस्थाले पनि अहिले गाउँकै स्कुलमा प्लस टु पढ्दा उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ।
मलाई पूर्ण रुपमा अरुको सहायता चाहिन्छ। त्यो सहयोग आमाबुवाबाट जत्तिको अरुबाट नहुन पनि सक्छ।
मेरो दाहिने खुट्टाका दुईवटा औँला बाहेकका कुनै पनि हातखुट्ट चल्दैनन्। यी हातखुट्टा राम्ररी विकास पनि भएका छैनन्। मलाई घर परिवार, साथीभाइ र चिनेजानेका सबैले लगनशील र मिलनसार छाै भन्नुहुन्छ।
प्लस टु साइन्स पढेर कम्प्युटर इन्जिनियरतिर लाग्दा ठिक होला कि भन्ने मलाई लागेको छ। यो २ वर्षमा फरक सोच आएछ भने छुट्टै कुरा हो। मैले प्लस टु गाउँमै पढ्दा बुवाआमाले पनि मेरो थप पढाइको विषयमा सोच्न पाउनु हुने भयो।
अबको मेरो पढाइको सम्पूर्ण दायित्व गाउँपालिकाले लिने घोषणा छत्रकोट गाउँपालिकाका अध्यक्षले गर्नु भएको छ। एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा हाम्रो स्कुलले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले मेरो पढाइको सबै दायित्व गाउँपालिको लिने घाेषाणाा गर्नु भएको छ। यसले पनि मलाई पढाइमा थप उत्साह थपेको छ। मेरो सफलतामा गाउँपालिका परिवार पनि खुसी भएकाे पाउँदा म अझ हर्षित छु।
एक कक्षादेखि १० कक्षासम्म नै मलाई बुवाले स्कुल पुर्याउने र घर ल्याउने गर्दै आउनु भयो। अबको पढाइमा पनि मलाई बाबाले यही गर्नुहुनेछ।
मलाई मोटरसाइकलमा १० बजे स्कुल पुर्याएपछि बाबा मलाई लिन ४ बजे स्कुल आउनु हुन्थ्यो। बुवा नहुँदा ठूलो बुवा (रामकृष्ण कँडेल)ले मलाई स्कुल लाने/ल्याउने गर्नुहुन्थ्यो। ठूलो बुवाको पनि आफ्नै बाइक छ। त्यसले पनि मलाई स्कुल जान आउन सजिलो भएको छ। अब पनि मलाई बुवाले त्यही गर्नुहुनेछ, जुन क्रम उहाँले १ देखि १० कक्षासम्म मलाई गर्नु भएको थियो।
सुरुमा मैले घर नजिकै रहेको शारदा विद्या मन्दिर भन्ने प्राथमिक विद्यालयमा पढेँ। कक्षा ४ सम्म मैले त्यही स्कुलमा पढेको हो। कक्षा ५ देखि भने मैले श्रृंगा जनता माविमा पढेँ। जहाँबाट मैले कक्षा १० पछिको एसईई परीक्षा दिएँ।
तर, श्रृंगा जनता माविमा कक्षा ११ मा विज्ञान संकायको पढाई नभएकाले मैले स्कुल परिवर्तन गर्नुपर्ने अवस्था आएको छ। अबकाे स्कुल भने अलिक टाढा पर्छ। बाइकमा झण्डै आधा घण्टा लाग्छ होला। पहिलाको स्कुल घर नजिकै थियो।
मोटरसाइकलमा मलाई उचालेर बसाउनु पर्छ। त्यसपछि चाहीँ म आफैँ अडिएर बस्न सक्छु। फेरि स्कुल पुगेपछि मलाई मोटरसाइकलबाट झार्नुपर्छ। म आफैँ मोटरसाइकल चढ्न र झर्न सक्दिन। स्कुल बाहेक कतै कुनै कामले जानुपर्दा, आफन्तकोमा आउजाउ गर्दा पनि मलाई बाबाले नै लैजानु हुन्छ।
अतिरिक्त क्रियाकलाप गर्न पनि मलाई मन पर्छ। विद्यालयमा पनि म सबैखाले अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थेँ। आफैँ मोबाइल, ल्यापटप चलाउन सक्छु। पढाइ सम्बन्धि जम्मै कुरा गर्ने मैले यही दाहिने खुट्टाका दुईवटा औँलाको सहायताले मात्रै हो। कम्प्युटरमा म टाइप पनि राम्ररी गर्न सक्छु। गिटार बजाउँछु, गीत पनि गाउँछु। यिनै दुईवटा औँलाले कापीमा लेख्छु।
दिसापिसाब गर्न भने मलाई अरुले सहयोग गर्नुपर्छ। आफैँ ट्वाइलेट जान सक्दिन। खानेकुरा पनि म खुट्टाकै दुई औँलाको सहायतामा चम्चाले खान सक्छु। तर, धेरैजसो भने घरमा मलाई ममीबाबले नै खाना खुवाउनु हुन्छ। मेरा हात माथि नै बस्छन्। तर, झर्दैनन्। हेर्दा हात जस्तो देखिने मात्र हो। देब्रे खुट्टाले पनि केही काम गर्दैन। देर्बे खुट्टाको घुँडो सामान्य चल्छ मात्रै। थप काम हुँदैन।
मेरा हातखुट्टा जाम परेका जस्ता छन्। बाबाले मलाई सानोमा धेरैतिर उपचारको लागि पनि लैजानु भयो। उपचारमा लाग्दा मेरो झण्डै पाँच वर्ष पढाइ ढिलो भयो।
सुरुदेखि नै पढ्न पाएको भए यतिबेला म १२ कक्षा उत्तीर्ण भइसक्थेँ। जन्मेदेखि पाँच वर्षसम्म ममीबाबाले मेरो हरेक तरहले उपचार गर्न खोज्नु भयो। तर, डाक्टरहरुले मेरो शारीरिक अवस्थामा यो भन्दा थप सुधार हुँदैन भन्ने निष्कर्ष दिएपछि भने उहाँहरुले मलाई स्कुल भर्ना गर्नु भएको हो। सानामा त मेरा यी दुई औँला पनि राम्ररी चल्दैनथे। पछि मैले पढ्न थालेपछि यी औँलाको प्रयोग बढ्दै गयो। त्यसले धेरै सुधार भयो। अहिले म यी औँलाले घण्टौँ लेख्न सक्छु।
अझ सानामा त मेरा सबै हातखुट्टका औँला मास्तिर फर्केका थिए। एक्सरसाइज गर्दै जाँदा यी तलतिर फर्किएका हुन्।
दुई वर्षअघि कक्षा ८ को परीक्षामा म छत्रकोट गाउँपालिका टप भएको थिएँ। कक्षा नौमा म बिरामी परेँ। त्यसले परीक्षा केही बिग्रिएको थियो। तर, कक्षा १० मा मैले फेरि पढाइलाई पुरानै लयमा फर्काउन सकेँ।
धेरै विद्यार्थी फेल भएको यस पटकको परीक्षामा मैले खुट्टैले लेखेर ल्याएको परिणामलाई धेरैले राम्रो भन्नु भएको छ। यसले पनि मलाई उत्साहित बनाएको छ।
मेरो लक्ष्य भनेको अहिले पढाइलाई निरन्तरता दिनु मात्रै हो।
पढ्दा मलाई सबैभन्दा सजिलो लाग्ने विषय कम्प्युटर हो। साइन्स पढ्न मलाई निकै रमाइलो र इन्ट्रेस्ट लाग्छ। त्यसैगरी अंग्रेजी, नेपाली, सामाजिक शिक्षा जस्ता विषय पढ्न पनि मलाई मजा लाग्छ। ती विषयमा फ्रि ढंगले लेख्न पाइने भएकाले परीक्षामा राम्रो नम्बर पनि आउँछ। समग्रमा भन्दा मलाई सबै विषय पढ्न मजा लाग्छ। तर, म्याथमा भने म अरु विषयभन्दा अलिक कमजोर जस्तो छु। त्यति हुँदा हुँदै पनि मैले कक्षा ९ र १० ऐच्छिक गणित विषय लिएर पढेँ। तर, म अरु विषय भन्दा गणित विषयलाई अलिक अप्ठ्यारै मान्छु।
पढाइमा सफल हुन सबैभन्दा ठूलो र पहिलो कुरा भनेको मेहनत नै हो। मेहनत गर्दै जाँदा धेरै ठाउँमा हण्डर ठक्कर पाइन सक्छ। त्यसले हामीलाई रोक्न पनि खोज्छ, तर सफल हुन चाहने विद्यार्थीले त्यसमा हरेस खान हुँदैन।
अप्ठ्यारोमा पनि नरोकिनु र सधैँ अघि बढ्नु पर्छ। तपाईँ लडेर केही बिग्रँदैन। तर, तपाईँ लडेपछि उठ्न सक्नु भएन भने चाहिँ सफलताको यात्रा रोकिन्छ। हामीलाई लडाउने अप्ठ्यारोलाई जितेर अघि बढ्ने प्रयास गिरयाे भने सफल हुन सकिन्छ भन्ने मलाई लाग्छ।
हामीले सफलतामा धेरै हर्षित हुने र सोचेजस्तो नहुँदा निरास हुने, दुःखी हुने पनि गर्नु हुँदैन। त्यो परीक्षाको रिजल्टमा पनि लागू हुन्छ। मेरो पनि धेरै पटक आफूले सोचेजस्तो रिजल्ट आएको छैन। तर, त्यतिबेला म निरास भइनँ। त्याे बेला मैले मेहनत गर्न पुगेनछ भन्ने सोचेँ। मैले मानसिकता बलियो बनाउने प्रयास गरेँ। मैले कहिल्यै मनलाई निराशाले जित्न दिएको छैन। एसईईमा आएको नतिजा पनि त्यसकै परिणाम हो।
प्रतिकूल अवस्थामा पनि मैले सधैँ ‘पोजेटिभ’ सोच राख्दै आएको छु। अप्ठ्यारो अवस्थामा पनि निरास नभइ पोजेटिभ कुरा सोचेर हामी अगाडि बढ्यौँ भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन। आफूसँग भएको सम्पूर्ण क्षमतालाई प्रयोग गरेर अघि बढ्न चाह्यौँ भने तपाईँ हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
म घरमा एक्लै पढ्छु। हाम्रो घरकाे वरपर मसँग स्कुलमा सँगै पढ्ने साथीको घर छैन।
शारीरिक रुपमा म अप्ठ्यारो अवस्थामा भए पनि मलाई अहिलेसम्म कसैले चित्त दुखाउनु भएको छैन। सबैले माया र सहयोग नै गर्नु भएको छ। स्कुलमा पनि मलाई सबैले सम्मान र माया गर्नुहुन्छ।
‘शारीरिक रुपमा यस्तो भएँ’ भनेर म कहिल्यै पनि दुःखी बनिनँ। ममीबाबासहित आफन्त कसैले पनि मलाई त्यो फिल हुन दिनु भएन। यो मेरो सौभाग्य पनि हो।
मलाई अतिरिक्त क्रियाकलाप गर्न पनि निकै मन पर्छ। म चित्र पनि बनाउँछु, गीत गाउँछु। गितार बजाउँछु। मलाई वक्तृत्त्व कला पनि मन पर्छ। त्यस्ता प्रतियोगितामा भाग पनि लिन्छु।
अस्ती एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई दिन स्कुलले आयोजना गरेको कार्यक्रममा पनि सरहरुले एसईई उत्तीर्ण हुने ब्याचबाट मलाई नै शुभकामना मन्तव्य दिन आग्रह गर्नुभयो । त्यहाँ पनि मैले आफ्ना मनमा लागेका केही कुराहरु राखेँ। मैले बोलिरहँदा सबैले ध्यान दिएर सुन्नु भयो। ताली बजाउनु भयो।
Shares
प्रतिक्रिया