ad ad

समाज


चार भन्दा बढी सन्तानलाई सेनामा प्रवेश गराउने अभिभावक सम्मानित

चार भन्दा बढी सन्तानलाई सेनामा प्रवेश गराउने अभिभावक सम्मानित

नेपालखबर
फागुन १४, २०७६ बुधबार १३:२२,

 भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा श्री नं. २२ बाहिनी अड्डा रामनगर व्यारेक, रुपन्देही जिल्लामा सञ्चालन गरिएको नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन-२०७६’ सम्पन्न भएको छ। सम्मेलनको बुधबार एक विशेष समारोहकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले समापन गरे।

त्यसक्रममा प्रधानसेनापति थापाले अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, आफ्ना सुख दुःखको अनुभवहरु साट्ने, एक आपसमा सामिप्यताको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यहरुको जानकारी गराई समायानुकुल सुधारको लागी थप राय सुझावहरु संकलन गर्ने उद्देश्यका साथ उक्त सम्मेलनको आयोजना गरिएको बताएका थिए।

अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पुर्‍याएको भएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताए। उनले कल्याणकारी कोषको दीगोपन, मितव्ययी र पारदर्शी प्रयोग, हिताधिकारीहरुको असीमित चाहना र आकांक्षाहरुको दीर्घकालीन सोच सहित समुचित व्यवस्थापन गर्नको लागि कल्याणकारी सोच २०३० तयार गरी चार ‘स’ स्वास्थ्य, शिक्षा, सीप र स्वःरोजगार तथा सुविधा र सहुलियतको अवधारणा अनुरुप कल्याणकारी कार्यक्रमहरु कार्यान्वयन गर्नेतर्फ नेपाली सेनाको ध्यान केन्द्रीत रहेको बताएका थिए। नयाँ चिन्तन सहित विविध कल्याणकारी कार्यक्रमहरूको लागि नेपाल सरकारसंग समन्वय र स्वीकृती लिई अगाडि बढ्ने नीति पनि अवलम्बन गरिएको उनले बताए।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार(आत्म सम्मान तथा समृद्धिको आधार’ भन्‍ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाची, गुल्मी, र पाल्पा जिल्लामा बसोबास गर्ने नेपाली सेनाका भूतपूर्व सैनिकहरु तथा परिवारजनहरुको सहभागीता रहेको थियो। सम्मेलनकै क्रममा विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पिटी प्रदर्शन गर्नुका साथै भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्ले कार्डसहित मार्चपास प्रदर्शन गरेका थिए। कार्यक्रम पश्चात प्रधानसेनापति महारथी थापाले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनका सहभागीहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया समेत गरेका थिए।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका १२ जना ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट उद्यमी व्यवसायी पुरुषतर्फ जमदार टेम बहादुर वगाले (अप्रा) र एकल महिलातर्फ सर्वोत्कृष्ट उद्यमी व्यवसायी श्रीमती मिठु कुमारी खत्रीलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण भएको थियो। सोही क्रममा फरक क्षमता भएका १४ जना भूतपूर्व सैनिक तथा परिवारहरु र ६ जना बहालवाला सैनिकहरुलाई व्हिल चियर वितरण गर्नुका साथै भूतपूर्व तथा बहालवाला सैनिक १र१ जनालाई बैशाखी वितरण गरिएको थियो। उल्लेखित यस्तै, जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक ९३ वर्षका प्युठ. दल बहादुर घर्ति (अप्रा) र जेष्ठ एकल महिला ८९ वर्षीया श्रीमती लक्ष्मी गुरुङ्ग (स्व. जमदार कर्ण बहादुर गुरुङ्गको श्रीमती) लाई अभिनन्दन गरिएको थियो।

त्यस्तै नेपाली सेनामा आफ्ना ४ जना वा सो भन्दा बढि सन्ततीहरुलाई सेवा प्रवेश गराउन प्रेरित गर्ने अभिभावकहरुलाई सम्मान गर्ने क्रममा आफ्ना ६ जना सन्ततीहरुलाई नेपाली सेनामा प्रवेश गराउन प्रेरित गर्ने ७३ वर्षीया श्रीमती चुमादेवी जिसी र ४ जना सन्ततीहरुलाई नेपाली सेनामा प्रवेश गराउन प्रेरित गर्ने ८५ वर्षका कुल बहादुर सारुलाई सम्मान गरिएको थियो। सोही अवसरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, बहालवाला सैनिक तथा तिनका परिवार र गैर सैनिक व्यक्तिहरु गरी जम्मा एक हजार ६ सय ५९ जनालाई स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .