ad ad

समाज


कोरियामा कोरोनाः नेपाली भन्छन्- घरबाट ननिस्कन भनेको छ, हिंडडुल पातलिएको छ

कोरियामा कोरोनाः नेपाली भन्छन्- घरबाट ननिस्कन भनेको छ, हिंडडुल पातलिएको छ

यज्ञराज जोशी
फागुन ११, २०७६ आइतबार १०:१४,

कास्कीका अर्जुन श्रेष्ठ ९ वर्षदेखि दक्षिण कोरियाको थेगु शहरमा बस्छन्। थेगु त्यही शहर हो, जसलाई अहिले कोरिया सरकारले कोरोना भाइरस ‘विशेष क्षेत्र’ घोषणा गरेको छ।

सो शहरमा कोरोना भाइरसबाट अहिलेसम्म एक जनाको निधन भएको छ। यहीँबाट फैलिएको कोरोना भाइरस अहिले कोरियाका सबैजसो स्थानमा पुगेको छ। आइतबार दिउँसोसम्म कोरियामा २ जनाको मृत्यु हुनुका साथै ६ सय बढी मानिसहरुमा संक्रमण देखिइसकेको छ।

‘शुक्रबार अघि यहाँको सडक मान्छेले भरिभराउ हुन्थे। डिपार्टमेन्टल स्टोर, मल तथा मार्केटमा सामान किन्नेहरुको त्यतिकै चहलपलह हुन्थ्यो,’ श्रेष्ठले थेगुबाट नेपालखबरसँग भने, ‘अहिले प्रान्तिय सरकारले नै सकभर घरबाट ननिस्कन भनेको छ। आइतबार विदाका दिनसमेत बजार तथा रेस्टुरेन्टहरु निकै कम खुले। मान्छेहरुको हिडडुल समेत पातलिएको छ।’

शुक्रबार सर्वप्रथम कोरियाको चौथो ठूलो यस शहरमा कोरोनाको संक्रमण देखिएको थियो। २५ लाख जनसंख्या रहेको यो शहरमा नेपालीहरु कोरियामा रहेकामध्ये पाँच भागको एक भाग रहेको उनी बताउँछन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार इपिएसबाट रोजगारीका लागि कोरिया जाने नेपालीहरु ३५ देखि ४० हजारको हराहारीमा छन्। त्यसमध्ये अध्ययन र कामका लागि ५ देखि ७ हजार नेपालीहरु थेगु सहरमा रहेको विश्वास गरिन्छ।

श्रेष्ठका अनुसार उनी रहेको क्षेत्रमा मात्रै दुई सय जना नेपालीहरु छन्। अधिकांश कामदार छन् भने बाँकी विधार्थीहरु छन्। प्रान्तिय सरकारले निरन्तर अलर्ट गराइरहेकाले सर्तक हुनुपर्ने तर आत्तिहाल्नुपर्ने स्थिति नरहेको उनी बताउँछन्।

‘सरकारले दिनमा दुई तीन पटक जति सचेतना म्यासेज पठाउँछ। केही शंका लागे तत्काल खबर गर्न भनेको छ,’ उनले भने, ‘अहिले यहाँका सरकारी अस्पतालहरुमा कोरोनाको परामर्श तथा परिक्षण पनि निशुल्क गरिएको छ।’

उनका अनुसार यसबेला अवैधानिक रुपमा कोरियामा बसिरहेकाहरुलाई पनि बिना केरकार उपचार गरिदिन सरकारले व्यवस्था मिलाएको छ।

‘यहाँको सरकारले जिम्मेवारीपूर्ण रुपमा काम गरिरहेको छ। नागरिकहरुलाई आत्तिन दिएको छैन,’ कोरोनाविरुद्ध कोरियाली सरकारले देखाएको भुमिकाको उनले प्रसंशा गरे।

यस्तै चीनबाट मुख्य रुपबाट कच्चा पदार्थ आयात भई सञ्चालन हुने कलकारखानाहरु भने १०–१५ दिनअघि देखि नै बन्द भइसकेको उनले बताए।

थेगुको मुख्य शहरभन्दा एक घण्टाको दूरीमा बस्ने गुल्मीका सन्तोष पन्थ यस प्रान्तमा फैलिएको कोरोनाको डरले माक्र्स लगाएरै काम गर्नुपर्ने अवस्था रहेको उनले बताए। उनी काम गर्ने कम्पनीमा ५ जना नेपालीहरु कार्यरत छन्।

अर्को शहर बुसानमा खेम कार्की कोरियामा ६ सय बढी संक्रमण देखिए पनि कोही नेपालीलाई नदेखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। सञ्चारकर्मी समेत रहेका कार्कीले दूतावास, गैरआवसीय नेपालीहरुको पहलमा आफूहरुले नेपालीहरुलाई सतर्क रहने सन्देशहरु बाँडिरहेको बताए।

SKoreaCorona

सावधानी अपनाउन दूतावासको अनुरोध
‘दूतावासले आजै विज्ञप्ति पनि जारी गरेको छ। हामीहरु एनआरएन कोरियामार्फत् आजै केहीबेरमा लाइभ आएर यसबाट सर्तक रहने तथा बच्ने उपायहरु पनि बताउँदैछौं। आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले नेपालखबरसँग भने।

सोलस्थित नेपाली राजदूतावासले नेपालीहरुलाई कोरोनाको संक्रमणबाट जोगिन सचेत गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

आइतबार नै दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरु, अन्य पेसा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन पनि राजदूतावास अनुरोध गर्दछ।’

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालले त्यहाँ तत्कालका लागि कामदार नपठाउने भएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले कोरोनाको समस्यामा केही सामाधान नभएसम्म नेपाली कामदार नपठाइने निर्णय भएको बताए।

‘कोरियामा पनि कोरोनाको संक्रमण देखिएकाले नेपाली कामदारलाई पठाउँदैनौँ’, नेपालखबरसँग कुरा गर्दै महानिर्देशक दहालले भने, ‘कोरानाको संक्रमण फैलिएकै कारण कोरिया कामदार लैजानका लागि प्रस्ताव भएको एक उडानपछि सर्ने भएको छ।’

कोरियामा कोरोनाको संक्रमण दिन प्रतिदिन बढिरहेको समाचार बाहिरिएसँगै फागुन १८ गते कोरिया पठाउन लागिएको उडान रोकिने भएको हो। ईपीएस कोरिया शाखाका कर्मचारी कृष्णप्रसाद खनालका अनुसार सो दिन ४० जना नेपालीहरुलाई कोरिया पठाउन तयारी गरिएको थियो।

‘यो प्रस्तावित उडान रोक्ने छलफल भएको छ। फेरि कहिले उडाउने भन्ने विषयमा निर्णय भएको छैन,’ उनले भने। ईपीएसमार्फत सरकारले कोरियामा नेपाली कामदारहरु पठाउँदै आएको छ। नेपाल कोरियामा ३५ देखि ४० हजार नेपालीहरु रहेको विभागको तथ्यांक छ।

यो पनि : कोरियामा कोरोनाको संक्रमण फैलिएपछि नेपालले कामदार पठाउन रोक्यो, प्रस्तावित उडान रद्द

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .