काठमाडौंको तारकेश्वर नगरपालिका–३ तारेभिरकी सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका रुपेन्द्र लामा कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले बुधबार लामालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
गत माघ २२ गते पढ्नका लागि बूढानीलकण्ठ स्कुल हिँडेकी सुष्मा बेपत्ता भएकी थिइन्। कलेजबाट घर नफर्किएपछि सुष्माका परिवारले त्यसको तीन दिनपछि खोजतलासको लागि प्रहरीमा निवेदन दिएका थिए।
खोजतलासको क्रममा स्थानीय वृद्धले स्याउला काट्न जाँदा तारेभीरस्थित राष्ट्रिय निकुञ्जमा फागुन २४ गते साँझ गाडिएको अवस्थामा शव फेला पारेका थिए। एक महिनाअघि नै हत्या गरेर पुरिएकी सुष्माका परिवारले उनले लगाएका कपडा र चाबीका आधारमा पहिचान गरेका थिए।
हातमात्रै बाहिर देखिएपछि प्रहरी र स्थानीयले २५ गते खोतलेर शव निकालेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान गर्दा सुष्माको हत्या सोही गाउँका २१ वर्षीय रुपेन्द्र लामाले गरेको निष्कर्ष निकालेको थियो। सुष्माका किताब र मोबाइल पनि प्रहरीले रुपेन्द्रकै कोठाबाट बरामद गरेको थियो।
रुपेन्द्रलाई हदैसम्मको कारबाही गर्न माग गर्दै सुष्माकी आमा लुची तामाङले किटानी जाहेरी दिएकी थिइन्।
अनुसन्धानका क्रममा रुपेन्द्रले पनि आफूले हत्या गरेको स्वीकार गरेका थिए। उनले बयानका क्रममा आफूले किन र कसरी हत्या गरे भन्ने कुरा खुलाएका छन्। सुष्मालाई मन पराएको र पटक पटक प्रेम प्रस्ताव राख्दा पनि अस्वीकार गरेपछि हत्या गरेको उनको बयान छ।
प्रेम प्रस्तावदेखि हत्यासम्म के-के भयो?
सुष्मा पढ्ने बूढानीलकण्ठ माध्यमिक विद्यालयमै पढ्थे रुपेन्द्र। एउटै विद्यालयमा पढ्ने भएकाले उनीहरु कहिलेकाहीँ सँगै आउजाउ गर्थे। तर १२ कक्षामा भर्ना भएका उनले ४/५ महिना विद्यालय गएर बीचैमा पढाइ छाडे। सुष्मा पनि कक्षा १२ मै अध्ययनरत हुन्।
करिब ८ महिना पहिलेदेखि रुपेन्द्रले सुष्मालाई एकतर्फी मन पराउँथे। सुष्मा भने रुपेन्द्रसँग विवाह गर्ने कुरा इन्कार गर्दै आएकी थिइन्। घटना हुनुभन्दा तीन महिना पहिलेदेखि नै रुपेन्द्रले सुष्माको पिछा गर्न र उनीसँग कुराकानी गर्दै नजिक हुन खोजेका थिए।
सुष्मा बिहान ५ बजेतिर कलेज जान्थिन्। रुपेन्द्र पनि सोही समयमा बाटोमा ढुक्थे र सुष्मासँग बाटोमा गफ गर्दै जान्थे। केही समय यसैगरी चल्यो। तर रुपेन्द्रले सुष्मासँग साथीको रुपमा नजिकिएपछि एक दिन विवाह गर्न प्रस्ताव राखे। सुष्माले इन्कार गरिन्।
रुपेन्द्रले अनेक जुक्ति लगाएर आफ्नो बनाउन खोज्दा पनि सुष्माले नमानेपछि घटनाको ८ दिनपहिले फेरि आफूले माया गर्ने भन्दै विवाह गर्न प्रस्ताव गरे। तर सुष्मा बोल्दै नबोली कलेजतर्फ लागिन्। केही अगाडि पुगेपछि रुपेन्द्र घर फर्किएका थिए।
त्यसको भोलिपल्ट बिहान पनि सुष्मा कलेज जाने समयमा रुपेन्द्रले अनेक बहानामा फकाउने प्रयत्न गरे। तर सुष्माले आफ्नो अडान छाडिनन् र उनीसँग विवाह गर्न राजी भइनन्।
त्यसपछि रुपेन्द्र थप तनावमा परेका थिए। घटना हुनुभन्दा २ दिनअघि अन्तिम पटक प्रस्ताव गर्ने र त्यसपछि पनि अस्वीकार गरे हत्या गर्ने योजना बनाए। २ दिनअघि नै उनले सुष्माको हत्या गर्ने र जंगलमा गाड्ने योजनाअनुसार घरबाटै कोदालो लगेका थिए।
त्यस दिन रुपेन्द्रले विवाह गर्न प्रस्ताव गर्दा सुष्माले अहिले तत्काल नगर्ने जवाफ दिइन्। आफू जापान जाने बताइन्। त्यसै दिने हत्या गर्ने योजना भए पनि रुपेन्द्र कोदालो लिएर घरै फर्किए। सुष्मा कलेज गइन्।
प्रेम प्रस्ताव राखिरहेका रुपेन्द्रको झोलामा हत्या गरेर पुर्नका लागि बोकेको कोदालो छ भन्ने थाहै थिएन।
माघ २२ गते बिहान सवा ४ बजे नै रुपेन्द्र घरबाट कोदालो बोकेर सुष्मा आउने बाटोमा निस्किए। १५ मिनेटअगाडि शिवपुरीको जंगलमा बाटो ढुकेर बसिरहेका थिए। बिहान सवा ५ बजेतिर सुष्मा मोबाइलको बत्ती बाल्दै उनी भएको ठाउँमा पुगिन्।
बाटो छेकेर रुपेन्द्रले ‘आज तिमीसँग अन्तिम पटक कुरा गर्नु छ’ भन्दै हात समाते। अनि उही कुरा गरे माया गर्ने र विवाह गर्ने।
सुष्माले जहिल्यै यही कुरा गरेको भन्दै उनको हात झड्कालेर अघि बढिन्। अनि अहिले विवाह नगर्ने र विदेश जाने जवाफ दोहोर्याइन्। कलेज जान ढिला भइसक्यो भन्दै ६/७ पाइला अगाडि बढेपछि रुपेन्द्रले पछाडिबाट सुष्माको घाँटी पक्रिए।
सुष्माले केहीबेर प्रतिकार गर्ने प्रयास गरिन्। तर घाँटी थिचिरहेका रुपेन्द्रले कुनै होहल्ला गर्नै नदिई केही मिनेटमै हत्या गरे।
त्यसपछि सुष्माको मोबाइल आफ्नो गोजीमा हाले। सुष्माको मृतशरीर काँधमा बोकेर ५०/६० मिटर तल जंगलमा गए। अनि खाल्डो खने। खाल्डोमा हाल्न खोज्दा एउटा खुट्टाको जुत्ता खुस्कियो। त्यसपछि सुष्माको अझै ज्यान नगएको आशंकामा जुत्ताका तुना र टाइले घाँटी कसे। सुष्माले लगाएको पेटीले हात बाँधिदिए।
अनि, खाल्डोमा पुरिसकेपछि स्याउलाले छोपे। सुष्माको कलेजको झोला बोकेर जाँदा गाउँलेले थाहा पाउलान् भनेर जाँदा कोदालो लगेको झोलामा सुष्माका किताब कापी बोकेर रुपेन्द्र घर फर्किए।
घर फर्किएर केही दिन ती सबै किताब कापी र मोबाइल आफ्नै कोठामा राखे।
गाउँमा सुष्माको खोजी भइरहेको थियो। तर रुपेन्द्रले भने घटनापछि घर छाडेनन्। हत्याको दुई दिनपछि सुष्माको मोबाइलमा सय रुपैयाँको रिचार्ज गरे। सुष्माको फेसबुक रि–स्टार्ट गरे। अनि दुलाहादुलहीको फोटो गुगलबाट डाउनलोड गरेर दुलहीको फोटोमा सुष्माको टाउको जोडे।
दुलाहाको फोटोको अनुहार छोपिदिएर पोष्ट गरिदिए। अनि स्टाटस लेखिदिए, ‘म तीन दिनपछि आउँछु।’
सुष्माकी आमाले भने खोजतलासको लागि प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिइन्। सुष्माको मोबाइलमा उनकी दिदीले घर आउन आग्रह गर्दै म्यासेज पठाएकी थिइन्।
रुपेन्द्रले सुष्माको नम्बरबाटै जवाफ फर्काए, ‘किन पुलिस रिपोर्ट गरेको ? म तीन दिनमा आउँछु भन्दाभन्दै कस्तो मान्छेहरु रहेछ। आउँछु भनेको थिइन र, हामीलाई जेलमा हालेर के पाउँछौँ? कसैले पनि चिन्ता लिनुपर्दैन हाम्रो।’
आफन्तहरु खोजिरहेका थिए। यतिकैमा एक महिनापछि सुष्माको शव फेला परेको हल्ला फैलियो। सुष्माको शव खोतल्न गाउँका धेरै मानिस पुगे। तर रुपेन्द्र भने पक्राउ पर्ने डरले गएका थिएनन्।
प्रहरीले अनुसन्धान गर्दै जाँदा चैत २ गते सुष्माको हत्या आरोपमा रुपेन्द्रलाई पक्राउ गरेको थियो। २५ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रहरीले उनलाई अदालतमा बुझाएको थियो। अन्ततः अदालतले सुष्माको हत्या आरोपमा पुर्पक्षका लागि कारागार पठाएको हो।
Shares
प्रतिक्रिया