उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्नेविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताएका छन्।
गृह र अर्थ मन्त्रालयद्वारा वीरगन्जमा बिहीबार आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका हुन्।
बिलविजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने उनको भनाइ थियो। ‘अन्डरबिलिङ, गलत बिलिङको जुन समस्या देखिएको छ, त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्ने कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ,’ उनले भने, ‘बिल नबनाउने, गलत बिल बनाउने, एउटा सामान ल्याउँदा अर्काे समानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिनेछौँ।’
गृहमन्त्री लामिछानेले राजस्व संकलनमा देखिएका चुनौतीलाई समाधानका निमित्त सक्रिय भएर सरकार लागिपरेको बताए।
‘बजारमा छयाप्पछयाप्ती अखाद्य वस्तुहरू छन्। किसानले उत्पादन गरेका दूध फालिने अवस्था सृजना भएको छ। आफ्नै उत्पादनले बजार पाइरहेका छैनन्। यो कुरा देखेर पनि प्रशासनले वास्ता गरेको छैन भने हामीलाई कुनै पनि हालतमा सह्य हुँदैन,’ उनले भने, ‘म आफैँले पनि राम्रो काम गर्न सकिनँ भने प्रधानमन्त्रीले मलाई पनि माया गरेर राख्नुहुन्न। यो कुरा मलाई मात्रै होइन, सबैलाई लागू हुन्छ।’
गृहमन्त्री लामिछानेले बजारमा प्रतिबन्धित वस्तुहरू पर्याप्त मात्रामा भइरहेको प्रति असन्तुष्टि जनाउँदै सो प्रतिबन्धित आयातलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुन सबै सरोकारवाला निकायलाई निर्देशन दिए।
‘यसअघि पनि सरकारले आयात प्रतिबन्ध लगाएका वस्तु तथा सेवा बजारमा छ्याप्पछयाप्ती देखिरहेको छ। जुन बजारमा प्रतिबन्धित सामग्री छयाप्पछयाप्ती पाइन्छ। यो क्षेत्रमा जिम्मेवारी लिएर बसेका प्रशासनिक तथा प्रहरी अधिकृत पनि निरन्तर रहिरहन सक्दैनन्। त्यसैले त्यस्ता खालका विकृति र विसंगति अन्त्य गर्नका लागि आवश्यक काम गरिहाल्नूस्।’
गृहमन्त्री लामिछानेले अवैध तस्करी तथा भन्सार छलीका गतिविधिलाई कडिकडाउ ढंगले नियन्त्रण गर्न सुरक्षा निकाय तथा अन्य प्रशासनिक निकायलाई निर्देश गरे।
‘उद्योगी-व्यवसायीको व्यवसायलाई सुरक्षा र सुरक्षित गर्ने काम हाम्रो हो। त्यसमा कुनै पनि चिन्ता नलिनुस्। तपाईँहरूलाई कसैले पनि विभिन्न डर, धम्की र दबाब दिन सक्दैन। त्यसको ग्यारेन्टी म लिन्छु,’ उनले भने, ‘म वीरगन्जमा उभिएर बहालवाला गृहमन्त्रीको हैसियतले भनिरहेको छु, नियम कानुनको अधीनमा रहँदा तपाईँहरूलाई कसैले दबाब सृजना गर्न सक्दैन। न त यहाँ गुण्डागर्दी चल्छ। न त यहाँ हप्तागिरी चल्छ। न त प्रशासनकै चल्छ। न त अमूक मान्छेकै चल्छ। बस्, यहाँ केवल चल्छ त कानुनीराज र विधिको शासन मात्रै चल्छ।’
गृहमन्त्री लामिछानेले मधेस प्रदेशबाट नै मुलुकमा नियम कानुन र थिति बसाल्ने कामको सुरुवात थालेको दाबी गरे। रासस
Shares
प्रतिक्रिया