ad ad

समाज


हिंसात्मक कारबाही रोक्न तालिबान सहमत

हिंसात्मक कारबाही रोक्न तालिबान सहमत

नेपालखबर
माघ २९, २०७६ बुधबार ८:४२,

मङ्गलबार साँझ भएको यस वार्तामा पोम्पेओले घानीलाई अफगानिस्तानका विद्रोही समूह तालिबानसँग जारी रहेको यस शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको जानकारी दिए।

हिंसामा उल्लेखनीय र स्थायी कमी ल्याउने सम्बन्धमा तालिबानीले प्रस्ताव गरेको विदेशमन्त्री पोम्पेओले जानकारी गराएको घानीले आफ्नो ट्विटरमा लेखेका छन्।

‘यो स्वागतयोग्य हो र मलाई खुसी लागेको छ। हाम्रो प्रमुख उद्देश्य मूर्खतापूर्ण रक्तपात अन्त्य गर्नु हो’ घानीले भने।

अमेरिकी र तालिबानी प्रतिनिधिहरुको सहभागितामा यस महिनाको सुरुदेखि वार्ताको लागि दुईवटा बैठक आयोजना भएको छ।

आइतबार अफगानिस्तानका लागि अमेरिकाका विशेष शान्तिदूत जाल्मे खलिलजादले तालिबानका सहसंस्थापक मुल्लाह बारादार र अन्य कैयौं तालिबानी नेताहरूसँग भेटेका थिए।

अमेरिका र तालिबानको वार्ताको विषयमा नेटो, पाकिस्तान र अफगानी नेताहरुसँग वार्ता गर्नको लागि खलिलजाद बेल्जियमको ब्रसेल्स, पाकिस्तानको इस्लामाबाद र अफगानिस्तानको काबुलको यात्रापछि दोहा फर्किनु भएको समाचारमा जनाइएको छ।

समग्र शान्ति प्रक्रियालाई सकारात्मक रुपमा समर्थन गर्न अफगानिस्तानले आगामी चरणका वार्ताहरुको व्यवस्थापन गर्ने पनि घानीले बताएका छन्।

यसैबीच, एएफपीका अनुसार अमेरिकी अखबार दी न्यूयोर्क टाइम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तालिबानलाई एक साताको समय दिन मन्जुर भएको समाचार छापेको छ। एक साता अफगानिस्तानमा हिंसात्मक घटना रोकिए थप विचार विमर्श गर्न आफूहरु तयार रहेको राष्ट्रपति ट्रम्पले वार्तामा सहभागी दुबै पक्षलाई जानकारी दिएका छन्।

अमेरिकी प्रस्तावको तालिबान समूहले स्वीकार गरेको पाकिस्तानमा रहेका तालिबान समूहका नेताहरुले बताएका छन्।

गत फेब्रुअरी ४ मा राष्ट्रपतिको “स्टेट अफ दी युनियन” सम्बोधनमा पनि ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई स्वदेश फर्काउने प्रतिबद्धता व्यक्त गरेका थिए। अफगानिस्तानमा हाल १४ हजारभन्दा बढी अमेरिकी सेना तैनाथ छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .