सेतो रङसँग उनको मित्रता थियो। सेतो रङको एप्रोनमा उनले कति बिरामीको सेवा गरिन्, त्यसको हिसाब छैन।
हिजोसम्म सेतो पहिरनमा उनलाई स्वाभिमानी छोरी देख्ने उनका आफन्त आज त्यही रङ हेर्न नसकेर अल्मलिएका छन्।
रङहरूले पनि समय र अवस्थाअनुसार भाव पोख्ने रहेछन्। पेसासँग जोडिँदा सुन्दर लागेको रङ मृत्युसँग गाँसिएपछि कहालीलाग्दो हुने रहेछ।
शुक्रबार साँझ क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि तिवारीको घरमा पुग्दा सर्वत्र त्यही अत्यास देखिन्थ्यो।
गएको पुस २८ गते काठमाडौंको चन्द्रागिरि सेतो पहरामा भएको सवारी दुर्घटनामा एकै परिवारका ५ जनाको मृत्यु भयो। त्यो परिवार डा. सृष्टिको थियो।
कुलेखानी घुम्न हिँडेका उनका आमा, बुवा, श्रीमान् र २ छोराछोरी चन्द्रागिरिमा दुर्घटनामा परे। उनले हेर्दाहेर्दै बुवा, आमा, श्रीमान् र छोराको दुर्घटनास्थलमै ज्यान गयो। धुकधुकी बाँकी रहेकी छोरी लिएर अस्पताल आएकी सृष्टिले छोरीलाई पनि गुमाइन्।
सुन्दा फिल्मको जस्तो लाग्ने यो हृदयविदारक दृश्य आफ्नै आँखाले हेरेकी सृष्टि भने बाँचिन्।
सोही गाडीमा सवार उनी सडकका ढुंगा पन्छाउन भनेर झरेकी थिइन्। तर, बाटोमा न गाडी नै रोक्ने ढुंगा थियो, न धेरै अप्ठ्यारो बाटो।
शुक्रबार भेट्न आउनेहरूलाई सुस्त आवाजमा सृष्टि सुनाइरहेकी थिइन्, ‘खै कसरी त्यो भयो, मलाई थाहा छैन।’
काठमाडौंको लाजिम्पाटस्थित आफ्नै निवासमा कोठाको एक कुनामा बनाइएको बिछ्याउनामा बसिरहेकी सृष्टि मौन छिन्। उनी घरीघरी आँखा चिम्लिन्छिन्। उनको छेउमा बसेका आफन्त ‘निद्रा लागेको हो?’ भनेर प्रश्न गर्छन्। उनी केवल ‘होइन’ भन्ने भावमा टाउको हल्लाउँछिन्। उनलाई लाग्दो हो, ‘कोहीसँग नबोलूँ। चुपचाप बसिरहूँ।’
तर, उनलाई भेट्न जानेका आँखाभरि जिज्ञासा छन्। सोध्छन्, ‘यो कसरी भयो?’
पुसको २६ गतेसम्म बालरोग विशेषज्ञ डा. महेश गौतम (सृष्टिका श्रीमान्) को परिवार चितवन जाने योजनामा थियो। उनका छोराछोरीको स्कुल बिदाको समय पारेर महेश सृष्टिसहित माघेसङ्क्रान्ति मनाउन चितवन जाने तयारी गर्दै थिए। सृष्टिले भनिन्, ‘लामो बाटो, अप्ठ्यारो छ नजिकै कतै जाने कि?’
खासमा सृष्टिको परिवार प्रकृतिसँग रमाउँथ्यो। साना छोराछोरी लिएर उनीहरू कहिले हाइकिङ जान्थे, कहिले रमणीय स्थलमा ‘नाइट स्टे’ गर्न पुग्थे। त्यो दिन पनि उनीहरू गाडी लिएर निस्किए। तर, चन्द्रागिरिमै यो परिवारको यात्रा सकियो।
हरेक यात्राको पूर्ण जानकारी राखेर हिँड्ने सृष्टि यसपटक भने उति जानकार थिइनन्। किनकि, अघिल्लो साँझ मात्र गन्तव्य बदलिएको थियो। एक्कासि कुलेखानी जाने टुंगो भएकाले आफूलाई त्यहाँको बाटो, बास बस्ने होटल केही थाहा नभएको सुनाइरहँदा सृष्टिको सास बढिरहेको छ। पर बसेर पनि उनको मुटुको चाल अस्वाभाविक बनेको प्रस्टै महसुस गर्न सकिन्छ।
सृष्टि तातो पानीको घुट्का निल्छिन् र भन्छिन्, ‘मैले कतिपटक भनेँ, जर्बजस्ती नगर। गाडी अगाडि बढेको छैन। तर, उसले ब्याक गरेर लान्छु भनेर जिद्दी गर्दा यो दिन देख्नुपर्यो।’
यसै पनि असहज उनको बोली टक्क रोकिन्छ। बोल्न र सुन्न पनि कति ठूलो हिम्मत जुटाउनुपर्छ, उनको कुरा सुन्नेहरूले महसुस गरिरहेका छन्।
सृष्टिले चन्द्रागिरि उक्लिनु अघिल्लो (शुक्रबार) साँझ महेशलाई भनेकी थिइन्, ‘कुलेखानी जाने बाटो पनि अप्ठ्यारो छ भन्छन्, चितवन नै जाने हो कि?’
महेशको जवाफ थियो, ‘होटल बुक गरेर पेमेन्ट गरिसकेँ। नजिकै छ। बाटो त्यस्तो असहज पनि हैन। नानीबाबुलाई हाइकिङ लान पनि हुन्छ।’
त्यसपछि सृष्टि सहमत भइन्।
त्यो शनिबार लाजिम्पाटबाट निस्किएका उनीहरूले कलंकी पुगेर गाडीको अवस्था जाँच गरे। त्यसपछि चित्लाङतर्फ लागेका महेश आफूले बुक गरेको होटलमा फोन गरेर बाटोका बारेमा सोधिरहेका थिए। उताबाट बाटो सहजै भएको जानकारी पाएर नै उनीहरू अगाडि बढेका थिए।
सृष्टि आफैँ पनि गुगल म्यापमा गन्तव्य हेरिरहेकी थिइन्। गुगल म्यापले गन्तव्य १ घण्टाको दूरीमा देखाइरहेको थियो। कच्ची सडक सुरु भएपछि सृष्टिको मनमा लाग्यो, ‘बाटो यस्तै अप्ठ्यारो रहेछ भने केही पर पुगेपछि फर्किनुपर्छ।’
तर, श्रीमानलाई सुनाएकी थिइनन्।
चन्द्रागिरिको सेतो पहरामाथि पुगेपछि गाडी अगाडि बढेन। बाटोमा स–साना ढुंगा थिए। सृष्टिलाई अहिले पनि लाग्दैन कि ती ढुंगा गाडी नै रोक्ने खालका हुन्।
उनीहरू चढेको गाडीसँगै गुडिरहेका अरू गाडी सहजै पार भइरहेका थिए। तर, अहँ, उनीहरूको गाडी अगाडि बढ्नै सकेन।
सृष्टि गाडीबाट झरिन्। भएका स–साना ढुंगा हटाइन्। महेशलाई गाडी अगाडि बढाउन आग्रह गरिन्। महेशले ब्याक गरेर अगाडि बढाउने बताए। सृष्टिलाई लागिरहेको थियो, ‘थोरै ब्याक गरेर अगाडि लैजालान्।’
सोचेको जस्तो भएन। ब्याक गरेको गाडी एकाएक भिरबाट खस्यो।
अहिले श्रीमान् र छोराछोरीको काममा बसेकी सृष्टि सबैलाई सम्झिरहेकी छिन्। उनका छोरा बिदाको दिन घुम्न जाऊँ भन्थे। साँझ भए पनि सृष्टि र महेश छोराछोरी लिएर पुल्चोकको लाबिम मल जान्थे। राति अबेर घर फर्किन्थे। शनिबार सवार त्यही गाडीमा सृष्टिको परिवारले थुप्रैपटक यात्रा गरिसकेको थियो। धेरै अप्ठ्यारो बाटोबाट गन्तव्य भेटेको थियो।
सृष्टि भनिरहेकी थिइन्, ‘जहाँ दुर्घटना भयो, त्यो बाटो त्यति अप्ठ्यारो थिएन।’
तर, दुर्घटना त्यहीँ भयो। दुर्घटनाको ७ दिन बित्यो। सृष्टि घोत्लिएर सोचिरहेकी छन्, ‘महेशसँग गाडी रोक्ने प्रशस्त समय थियो। ब्याक गर्दा पनि सिधै गरेको भए सजिलो बाटोमै आउँथ्यो। ऊ आत्तिएर नर्भस हुने मान्छे पनि होइन। कसरी भिरतिर ब्याक गर्यो, मलाई अझै थाहा छैन।’
शोकमा पनि सृष्टि आफन्तसँग सहज भएर बोल्ने प्रयत्न गरिरहेकी छन्। आफूले चलाउँदै आएको फोन गाडीमै रह्यो। अहिले महेशले घरमा प्रयोग गर्ने गरेको सानो मोबाइल उनको हातमा छ। फोनको घण्टी लगातार बजिरहन्छ। उनी सबै फोन उठाउन सक्दिनन्। घरमा रहेका अरूलाई फोन उठाउन दिन्छिन्।
उनी घरीघरी सम्झिरहन्छिन्, ‘बाटो असहज छ भन्छन्, बरु बिस्तारै चितवन जाऊँ भनेको थिएँ। चित्लाङतर्फ जान फर्पिङको बाटो छोटो थियो। अप्ठ्यारो छ भनेर लामै भए पनि चन्द्रागिरिको बाटो हिँडेका थियौँ।’
दुर्घटनापछि सबैजसो मिडियाले समाचार छापे। सृष्टि आफ्नो अवस्था भन्न सक्ने अवस्थामा थिइनन्। आएका खबरहरूमा श्रीमानको उमेर र छोराछोरीको नाम गलत छापियो। सृष्टिलाई लागेको हुँदो हो, ‘जानेहरूको पनि इतिहास बिग्रनुहुँदैन।’
सृष्टि भनिरहेकी थिइन्, ‘मेरा छोराछोरीको नाम स्माइरा र श्रीयान्स हो।’
सृष्टि लाजिम्पाटमा श्रीमान् र छोराछोरीको काजक्रिया गरिरहेकी छन्। उनकी बहिनी आस्था डिल्लीबजारमा बुबाआमाको काममा बसेकी छन्। तर, यी दिदीबहिनी साँझमा सँगै हुन्छन्। आस्था साँझ लाजिम्पाट जान्छिन्। सृष्टि बसेकै कोठाको अर्को कुनामा सुत्छिन्। सृष्टिका सासूससुरा अर्को कोठामा छन्।
Shares
प्रतिक्रिया