ad ad

समाज


शरणार्थी प्रकरण : धरौटी बुझाउन कोही गएनन् अदालत, रिजाल भन्छन्- त्यत्रो रकम बुझाउन सक्दिनँ

शरणार्थी प्रकरण : धरौटी बुझाउन कोही गएनन् अदालत, रिजाल भन्छन्- त्यत्रो रकम बुझाउन सक्दिनँ

नेपालखबर
मंसिर १७, २०८० आइतबार १४:२२, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणका ६ अभियुक्तलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको पत्र जिल्ला अदालतमा पुगेको छ। 

तर आइतबार दिउँसोसम्म धरौटी बुझाउन कोही पनि नआएको काठमाडौँ जिल्ला अदालत प्रशासनले जनाएको छ। 

‘हामीकहाँ उच्च अदालतको आदेशसहितको पत्र प्राप्त भइसकेको छ। तर अहिलेसम्म धरौटी बुझाउन कोही पनि आउनु भएको छैन’, अदालतका एक अधिकारीले भने। 

उच्च अदालत पाटनले शुक्रबार नक्कली शरणार्थी प्रकरणका ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। ४ जनालाई साधारण तारेखमा र ९ जनालाई थुनामा राख्न आदेश भएको छ। तर पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणका विषयमा भने आदेश बाझिएपछि निर्णय हुन सकेको छैन।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले १० दिन लामो सुनुवाइपछि शुक्रबार आदेश सुनाएको हो।

यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नरेन्द्र केसीलाई उच्च अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

यस्तै हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर उनीहरू दुवै जनाका आफन्त अहिलेसम्म धरौटी बुझाउन गएका छैनन्। 

पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीलाई उच्च अदालतले पनि थुनामा पठाउने आदेश सदर गरेको छ। तर उनका छोरा सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सन्दीपलाई सबैभन्दा बढी धरौटी तोकिएको हो।

उनलाई जति नै बालकृष्ण खाँणलाई पनि न्यायाधीश पाण्डेले धरौटी तोक्ने राय दिएका थिए। तर यसमा अर्का न्यायाधीश खरेल सहमत नभएपछि आदेश हुन सकेन। 

सन्दीप रायमाझीको पक्ष पनि अहिलेसम्म धरौटी बुझाउन अदालत गएका छैनन्।

यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी सञ्चालक हरिभक्त महर्जन पनि धरौटी बुझाउन गएका छैनन्। उनीहरूलाई उच्च अदालतले समान १५ लाख रुपैयाँका दरले धरौटी माग गरेको छ। 

रामशरण केसीलाई पनि १५ लाख रुपैयाँ नै धरौटी माग गरिएको छ। तर उनी पनि धरौटी बुझाउन गएका छैनन्। 

यसअघि जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गरेकी लक्ष्मी महर्जन र टंककुमार गुरुङ, सहित थुनामा पठाएका आशिष बुढाथोकी र केशव तुलाधरलाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। 

रिजालको प्रतिक्रिया- कहाँबाट ल्याउनु त्यत्रो पैसा! 
धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिए पनि आफू रकम जुटाउन नसक्ने अवस्थामा रहेको भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बताएका छन्। 

शुक्रबार १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थाहा पाएलगत्तै उनले कारागारको आन्तरिक प्रशासनका कर्मचारीसँग आफूले पैसा तिर्न नसक्ने र जेलमै रहने प्रतिक्रिया दिएको गारागार प्रशासन स्रोतले जानकारी दियो। 

स्रोतले रिजालको भनाइ उद्धृत गर्दै नेपालखबरसँग भन्यो, ‘म त्यत्रो धरौटी जम्मा गर्न सक्दिनँ। त्यो भन्दा बरु अब मलाई यहीँ ठीक छ, यतिन्जेल त बसियो, त्यत्रो पैसा तिरेर किन निस्कनु!’

स्रोतका अनुसार उनका कोही आफन्तले धरौटी जम्मा गरेमा मात्र उनी छुट्ने सम्भावना छ, नत्र आफ्नो छुटाइ नहुने रिजाल बताइरहेका छन्। 

उनीहरूलाई राखिएको केन्द्रीय कारागार सुन्धाराका प्रमुख ललितकुमार बस्नेतले भने अदालतको पत्र कुरिरहेको बताए।

‘अदालतबाट जजसको पत्र प्राप्त हुन्छ, उहाँहरूलाई छाड्छौँ। धरौटी राखिसकेपछि मात्रै अदालतले हामीलाई छाडिदिनु भनेर पत्र पठाउँछ’, बस्नेतले नेपालखबरसँग भने। 

यसअघि जिल्ला अदलतले थुनामा पठाएका टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद तुलाधर, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पाका हकमा भने उच्चले थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेको छ। 

बालकृष्ण खाँणका विषयमा भने अब अर्को इजलासले निर्णय गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .