सोमबार (१ असोज) सम्म नीजि क्षेत्रको नेपालको सबैभन्दा पुरानो मिडिया ग्रुप कान्तिपुरको अध्यक्ष र प्रबन्ध निर्देशक थिए, कैलाश सिरोहिया। कैलाशले ३१ वर्ष पुरानो कान्तिपुर मिडिया ग्रुपको जिम्मेवारी सिरोहिया परिवारको युवा पुस्तालाई हस्तान्तरणको सुरुवात गरेका छन्।
यसैक्रममा उनका जेठा छोरा सम्भवले पिता कैलाशबाट सोमबार प्रबन्ध निर्देशकको जिम्मेवारी प्राप्त गरेका छन्। लामो समयदेखि आफैले सम्हाल्दै आएको प्रबन्ध निर्देशकको जिम्मेवार सिरोहियाले सोमबार थापाथलीस्थित मुख्यालयमा छोरा सम्भवलाई हस्तान्तरण गरेका हुन्।
‘३१ वर्षसम्म निरन्तर कार्यकारी नेतृत्व सम्हाल्नु चुनौतीपूर्ण थियो,’ सम्भवलाई प्रबन्ध निर्देशकको जिम्मेवारी हस्तान्तरणका लागि आयोजित कार्यक्रममा अध्यक्ष सिरोहियाले भने, ‘टिमको सहकार्यले कान्तिपुरले यो उचाई प्राप्त गरेको हो। नयाँ नेतृत्वले पनि सबैको साथ पाउनेमा म विश्वस्त छु ।’
सम्भवलाई प्रबन्ध निर्देशकको जिम्मेवारी हस्तान्तरणका लागि आयोजित कार्यक्रममा सन् २०१८ कि ‘मिस नेपाल’ उपाधि बिजेता श्रृङ्खला खतिवडापनि उपस्थित थिइन्। सम्भव र श्रृङ्खलाबीच विवाहोन्मुख प्रेम सम्बन्ध रहेको चर्चा हुँदै आएको छ।
सिरोहियाका कान्छा छोरा अनुभव सिरोहियाको इन्गेजमेन्ट कार्यक्रममा श्रृङ्खला खतिवडापनि सम्भवका साथ उपस्थित थिइन्। अनुभवकी हुनेवाला दुलहीले सम्भवका साथ रहेकी श्रृङ्खलालाई झुकेर ढोग गरिरहेको तस्वीरसमेत सार्वजनिक भएको थियो।
समारोहमा सम्भवले संसारभर मिडिया उद्योगहरूमा चुनौती आइरहेकाले पत्रकारितालाई जोगाउने जिम्मेवारी रहेको बताए।
‘हामी अहिलेको समस्या सामना गरेर कान्तिपुर मिडिया ग्रुपलाई नयाँ उचाइमा लैजान चाहन्छौं,’ समारोहमा सम्भवले भने, ‘पत्रकारिताको मूल धर्म कायम राख्दै अझ प्रविधिमैत्री बनाउँछौं।’
सम्भवले २०७४ मा कान्तिपुरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनी कान्तिपुर टेलिभिजन नेटवर्क र कान्तिपुर डिजिटल कर्प (केडीसी) को प्रमुख कार्यकारी अधिकृत थिए।
६ वर्षअघि प्रमुख कार्यकारी अधिकृतको् जिम्मेवारी लिँदा कान्तिपुरले उल्लेख गरे अनुसार सन् २०१३ मा स्थापित केडीसीको संस्थापक सिइओ रहेका सम्भवले कान्तिपुरसम्बद्ध प्रकाशनहरुको डिजिटाइजेसनमा व्यवस्थापकीय नेतृत्व प्रदान गरेका थिए।
त्यसो त, कान्तिपुर मिडिया ग्रुपको निर्देशकको जिम्मेवारी लामो समयदेखि स्वस्तिका सिरोहियाले सम्हाल्दै आएकी छन्, जो प्रबन्ध निर्देशक सम्भवकी आमा हुन्। श्रीमति स्वस्तिका भन्दा छोरा सम्भवलाई महत्वपूर्ण जिम्मेवारी दिएर अध्यक्ष सिरोहियाले कान्तिपुर मिडिया ग्रुपको जिम्मेवारी युवापुस्तालाई अघि बढाउने संकेत गरेका हुन्।
Shares
प्रतिक्रिया