ad ad

समाज


काठमाडौंमा यी ६ कम्पनी खुलेका थिए चिनियाँ सुन तस्करका लागि

काठमाडौंमा यी ६ कम्पनी खुलेका थिए चिनियाँ सुन तस्करका लागि

नेपालखबर
भदौ २७, २०८० बुधबार १५:३८, काठमाडौँ

तीन देशका गिरोह मिलेर काठमाडौंमा सुन तस्करी गर्न ७ वटा कम्पनी खडा गरेको पाइएको छ। ती मध्ये हाल ६ वटा सञ्चालनमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ।

चिनियाँ गिरोहको सल्लाह अनुसार तिब्बतीय मुलका भारतीय नागरिक थुप्तेन छिरिङले नेपालका हर्कराज राई मार्फत ती कम्पनी खडा गरेको सीआईबीको निस्कर्ष छ। साउन २ गते राजश्वले बरामद गरेको झण्डै ६१ किलो सुन पनि तीनै मध्येको रेडि ट्रेड कम्पनीका नाममा आएको थियो।

ब्रेक प्याडमा ल्याइएको उक्त सुन राजश्वलेअ बरामद गरेसँगै गिरोहका अन्य धन्दा पनि खुलेको हो।

गिरोहले दीलिप भुजेलको नाममा बालुवाटारमा रहेको रेडी ट्रेड, कुमार भुजेलको नाममा सामाखुसीमा रहेको ह्वाडा इलेक्ट्रोनिक्स सप्लायर्स प्राइभेट लिमिटेड, रामकुमार भुजेलको नाममा चाबाहिलमा रहेको भुइजाल इन्टरप्राइजेज प्राइभेट लिमिटेड, सरिता तामाङको नाममा रहेको सरिता सप्लार्य, लेखनाथ कार्कीको नाममा बुढानिलकण्ठमा रहेको छुङगाक इलेक्ट्रिोनिक्स सप्लायर्स प्रालि, बिकुन्द्र भुजेलको नाममा लाजिम्पाटमा रहेको दोल्खा इलेक्ट्रोनिक्स सप्लायर्स कम्पनी दर्ता गरेको पाइएको छ।

उनीहरुले यसअघि यी कम्पनीका नाममा समेत हङकङबाट विभिन्न इलेक्ट्रिक सामान लगायतमा पनि सुन तस्करी गरेको खुलेको छ। ब्रेकप्याडमा मात्रै ३६२ किलो सुन तस्करी गरिसकेको सीआईबीको निस्कर्ष छ।

अहिले सीआईबीले रेडि ट्रेडको नाममा ब्रेकप्डायमा ल्याएको सुनको मात्रै अनुसन्धान गरेको छ। अन्य सामानमा अरु कम्पनीका नाममा ल्याएको सुन बारे पनि अनुसन्धान गर्ने सीआईबीले जनाएको छ। सीआईबीले ३५ दिन लगाएर सुन प्रकरण बारे अनुसन्धान गरी बुधबार जिल्ला सरकारी कार्यालयमा प्रतिवेदन बुझाएको छ।
गिरोहले नै खोलेको सरिता सप्लायर्स दर्ता गरे पनि अहिले सञ्चालनमा देखिएको छैन।

यी कम्पनी थुप्तेन छिरिङ मार्फत खडा गरेको सीआईबीको निस्कर्ष छ। थुप्तेनले यसका लागि हर्कराज राईलाई प्रयोग गर्ने र हर्कराज राईले ती व्यक्तिका नाममा कम्पनी दर्ता गराएको पाइएको सीआईबीले जानकारी दिएको छ।

थुप्तेनले नै यी कम्पनीका लागि सटर खोलिदिने, गोदाम खोलिदिने, यी कम्पनीमा आएका सामान रिसिभ गर्ने र त्यसको जानकारी चिनियाँ समूहलाई गराउने गरेको सीआईबीले जानकारी गराएको छ। थुप्तेनले हरेक कामका लागि नेपालमा हर्कराज राईलाई नै सम्पर्क गर्ने गरेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .