प्रहरीले उदयपुरका एक व्यक्तिलाई दुई थान कटुवा पेस्तोलसहित भक्तपुरबाट पक्राउ गरेको छ।
उदयपुरको बलैया नगरपालिका ५ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।
‘बुधबार राति साढे ७ बजे लोकन्थलीको कखरा स्कुल नजिकै बाटोबाट उनलाई पक्राउ गरिएको हो,’ पाठकले भने, ‘माझीको क्रियाकलाप शंकास्पद लागेर शरीर खानतलासी गर्दा दुई थान कटुवा पेस्तोल र एक थान गोली फेला पर्यो। त्यसपछि उसलाई हामीले नियन्त्रणमा लिएका हौँ।’
प्रहरीले माझी सवार बा ४३ प ९००० नम्बरको स्कुटर पनि बरामद गरेको छ।
माझीलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ। माझीसँगै भएका ठेगाना नखुलेका ३० वर्षी अश्विन दाहाल नाम गरेर युवक भने चेकजाँचको क्रममा फरार भएका प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरु लुटपाटको योजनामा रहेका पाइएको पाठकले बताए।
Shares
प्रतिक्रिया