चीनको मुख्य क्षेत्रमा अँग्रेजी महिनाको जुन २२ देखि २४ गतेसम्म सार्वजनिक बिदा दिइन्छ। यस बेला चिनियाँहरू परम्परागत ड्रागन बोट फेस्टिभल मनाउँछन्। चिनियाँ भाषामा डुनाउ भनिने ड्रागन बोट फेस्टिभल लुनार पात्रोको पाचौँ महिनाको पाचौँ दिनमा मनाइन्छ। ड्रागन अर्थात् अजिङ्गर, अजिङ्गरलाई चीनमा शक्तिको प्रतीकको रूपमा लिइन्छ।
नदी र तालहरूमा ड्रागनको टाउको राखिएको डुङ्गासहित यात्रा गर्नु यस पर्वको विशेषता हो। फरक मितिमा सिंगापुर र ताइवानमा सार्वजनिक बिदा दिएर प्रतियोगिता मनाइन्छ।
प्रतियोगिताअन्तर्गत अजिङ्गरको टाउको जडित डुङ्गामा सवारहरू चिनियाँ ड्रमको तालमा बहाना खियाउँछन्। ड्रम बजाउने अगुवा हुन्छ, पछाडि बस्नेको काम बाटो देखाउने हुन्छ। ड्रमको तालमा ताल मिलाउँदै बहाना चलाइन्छ। एउटै डुङ्गामा सवार व्यक्तिहरूले एकैपटक बहाना चलाउँदा डुङ्गाको गति छिटो हुन्छ। डुङ्गाको आकार हेरेर सवार गर्ने व्यक्तिको संख्या निर्धारण हुन्छ। चीनमा यो चाडको बेला एक प्रकारको चामल (नेपालमा अनदीजस्तै) को परिकार खाइन्छ।
शुक्रबारबाट पोखराको फेवातालमा अजिङ्गरको टाउको जडित ८ वटा डुङ्गा प्रतियोगितामा सामेल भएका छन्। चिनियाँ सभ्यता, वैभव र शक्तिको प्रतिक मानिने प्रतियोगिता सम्पन्न गराउन चिनियाँ राजदूत छेन सङ निकै सक्रिय देखिए। नेपालस्थित चिनियाँ दूतावासले पोखरा महानगरपालिकासहित विभिन्न संघ–संस्थासँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगिताको नेपालका पर्यटनमन्त्री सुदन किराँती, चिनियाँ राजदूत सङसहितले उद्घाटन गरे।
प्रतियोगिताले चिनियाँ पर्यटन बजारमा नेपालको प्रचार हुने अपेक्षा गरियो। मन्त्री किराँतीले ड्रागन बोट फेस्टिभलको इतिहास केलाउँदै फेवामा आयोजित प्रतियोगिता पर्यटन प्रवर्द्धनमा कोषेढुङ्गा हुने धारणा राखे। चिनियाँ राजदूत सङले दक्षिण एसियामा पहिलोपटक आयोजित सांस्कृतिक पर्वले दुवै देशबीचको परम्परागत सांस्कृतिक र आर्थिक सम्बन्ध विस्तार हुने बताए।
नेपालका ४ र विदेशका ४ गरी ८ टिमबीच दुई चरणको प्रतिस्पर्धाबाट नेपालका २ र चीनको २ टोली फाइनल चरणमा प्रवेश गरे। सिचुवाङ ड्रागन समूह,युनान ड्रागन समुह र नेपालको नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए) र नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) फाइनल चरणमा प्रवेश गरेका हुन्।
शुक्रबार २ सय र ५ सय मिटरको दुई/दुई चरणको प्रतिस्पर्धा भएको प्रतियोगिताका प्राविधिक प्रमुख मीनबहादुर मगरले जानकारी दिए। शनिबार हुने अन्तिम प्रतिस्पर्धाको विजेताले ५ लाख ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
चीन-नेपाल फ्रेण्डसिप, पोखरा महानगरपालिका, सिंगापुरको जिएस ड्रागन समूह र फेवा डुङ्गा व्यवसायी संगठनको टिम पहिलो दिनको प्रतिस्पर्धाबाट बाहिरिए। तर, पोखरेलीलाई को बाहिरिए र को अन्तिम स्पर्धामा पुगे भन्नेसँग खासै मतलब भएन। बरु, उनीहरूले प्रतियोगितामा सामेल चिनियाँ र फेवामा तीव्र गतिमा ड्रमको तालसहित दौडिएका डुङ्गालाई रमाइलो मानेर हेरे।
पोखरा– केरला कनेक्सन
पोखरा महानगरसँग चीनको लिन्जी र कुनमिङसहितका नगरहरूसँग भगिनी सम्बन्ध छ। पोखरामै चिनियाँ लगानीमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनेको छ। पृथ्वी राजमार्ग, पोखरा– बागलुङको भूपि शेरचन राजमार्ग निर्माणमा संलग्न चीनको लागि पोखरा सामरिक महत्वको क्षेत्र हो।
किनकि, सन् १९५० मा दलाई लामा तिब्बत छाडेर निर्वासनमा गएपछि मुस्ताङ हुँदै खम्पाहरू नेपाल आएका थिए। २०३१ सालतिर त मुस्ताङलाई आधार बनाएर खम्पाहरूले विद्रोह नै गरे। जसका कारण सन् १९५० सम्म भोट व्यापारमा निर्भर काठमाडौं र हिमाली क्षेत्रका व्यायार कटौती भयो।
त्यो बेलाको नेपाली व्यापारबारे डा.तीर्थप्रसाद मिश्रको 'भोटमा नेपाली पहिचान र पराक्रम' पुस्तकमा लामो व्याख्या गरिएको छ। पुस्तकका अनुसार भोटमा नेपाली व्यापारीहरूले नेपाली कानुन अनुसार व्यवसाय गर्थे। तर, व्यापारमा कटौती भयो। रणनीतिक महत्वको केरला–त्रिवेणी मार्गले गति नलिनु,केरलामा नेपाली पक्षले भन्सार कार्यालय स्थापना नगर्नु र पोखरासहित यो क्षेत्रमा भारतीय प्रभाव बढ्दै गएपछि यहाँ चीनले पनि पछिल्लो समय उपस्थिति बढाउँदै गएको छ।
केरलाबाट मुस्ताङको सदरमुकाम ११० किलोमिटरको दूरीमा छ। पोखरासम्म आउन १६० किलोमिटरको थप यात्रा गर्नुपर्छ। पोखराबाट भारतीय नाका भैरहवा १८७ किलोमिटर टाढा छ।
‘चीन हिजोको जस्तो छैन, सी नेतृत्वमा आएसँगै उसले व्यापार र प्रभाव दुबै बढाएको छ,’ चीनलाई नजिकबाट चिनेका एक व्यवसायी भन्छ्न्, ‘बोट रेसको माध्यमबाट चीनले सतहमा सद्भाव र संस्कृति आदान प्रदानलाई महत्व दिएको देखिन्छ तर ऊ आफ्नो वैभव र शक्ति पनि प्रदर्शन गर्दैछ।’
ड्रागन बोट फेस्टिभल र रेशमी मार्ग
चिनियाँ राष्ट्रपति सी चिनपिङले सन् २०१३ मा पुरानो (सिल्क रोड) रेसमी मार्गलाई ब्यूँताउने घोषणामात्र गरेनन्, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत् चीनलाई विश्व बजारमा पुर्याउने योजना बुने। सोही वर्षको अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं बैठकले त्यसलाई अनुमोदन गर्यो। चीन अहिले सो परियोजनामार्फत् विश्वभर आफ्नो प्रभाव विस्तार गर्दैछ। व्यापार बढाउँदैछ।
राष्ट्रपति सीले अगाडि सारेको रेशमी मार्गसँग ड्रागन बोट फेस्टिभलको कथा जोडिएको छ।
रेशमी मार्गका सूत्रधार चीनका हान वंशीय राजाहरू हुन्। इसापूर्व १३८ मा झान कुयाङले व्यापारलाई महत्व दिँदै कार्यान्वयनमा ल्याएको रेशमी मार्ग कार्यान्वयनमा ल्याएका हुन्। सुरुमा रेशमी मार्ग अफगानिस्तान हुँदै पश्चिमतिर गएको थियो। नेपालको सन्दर्भमा चाहिँ रेशम मार्गको हाँगाले कैलाश मानसरोवर हुँदै नेपालको ताक्लाकोट जोड्थ्यो।
रेशमी मार्गका शाखा मार्गहरू विस्तार हुँदा उपल्ला हिमाली जिल्लाहरू हुँदै चिनियाँहरू भारतसम्म र नेपाली व्यापारी चीनसम्म पुग्थे। हान वंशको इश्वी संवत् २२० मा पतन भयो।
रेशमी मार्गलाई कार्यान्वयन गर्ने यही हान वंशीय शासनकालमै चीनमा ड्रागन बोट रेस सुरु भएको हो। हान वंशीय राजाहरूको समयमा त्यहाँ कन्फुसियस दर्शनको प्रभाव थियो। तर, सिल्क रोडको अवधारणामा टेकेर शक्तिशाली भएको हान वंशीय शासनविरुद्ध इशापूर्व २१० मा विद्रोह भयो। सत्ता हत्याउने खेल भने त्यसअघि नै भइसकेका थिए।
इशापूर्व २१० को विद्रोहले जनतामा निराशा उत्पन्न गरायो। त्यसरी निराश हुनेमध्ये एक थिए–हुवेइ र युनान प्रान्ततिर रोमान्टिक कवि लु यान। युनेस्कोले चिनियाँ वृद्धलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार युनान रोमान्टिक कविताको लागि प्रख्यात थिए। देश अस्थिर भएपछि उनी निराश भए।
कवि यानको ह्याङगोमा डुङ्गा चलाउँदै गर्दा मृत्यु भयो। अनि शुभेच्छुकहरूले डुङ्गाको आकार अजिङ्गरको जस्तो बनाए। पाँचवटा रेशमी कपडाले रंगाए, र दुष्ट आत्माले कविलाई मारेको भन्दै खोजीमा निस्किए।
ड्रमको आवाजले दुष्टआत्मा भाग्छ र जनावरले कविको शरीर खाँदैन भन्ने उनीहरूको विश्वास थियो।
कविको निधनको बेला भूत भगाउन सुरु गरिएको डुङ्गा दौड कालान्तरमा पर्व बन्यो। अहिले पनि चीनमा यो पर्वलाई भूत भगाउने पर्वकै रूपमा लिइन्छ। चीनको ४ मध्ये यो एक प्रमुख पर्व हो।
हान वंशको शासनकाललाई चीनको स्वर्णकाल मानिन्छ। रेशमी कपडा, सेरामिकका भाँडा तथा घोडा बेच्नको लागि सुरु भएको रेशमी मार्गमार्फत् नै सो वंशले विश्वमै प्रभाव विस्तार गरेको थियो। वर्तमान चिनियाँ राष्ट्रपति हान वंशकालीन वैभव र शक्तिबाट प्रभावित बने।
चीन अहिले रेशमी मार्ग हुँदै आफ्नो शक्ति र वैभव बाँड्दैछ।
नेपाल पनि बीआरआई परियोजनाको सदस्य भइसकेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको २०७५ सालको असार पहिलो साता भएको चीन भ्रमणको क्रममा नेपालले बीआरआई कार्यान्वयन गर्ने सहमति बनेको थियो। त्यसको एक वर्षपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजकीय भ्रमण गरिन्।
दोस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ) सम्मेलनमा भएको उनको सहभागिता जनाउन त्यहाँ पुगेकी राष्ट्रपति भण्डारीको भ्रमणको क्रममा चीनसँग व्यापार गर्न तातोपानी, केरुङ, किमाथांका, केरला, यारी र वलाङचुङगोला नाकालाई कस्टम प्वाइण्ट बनाउने भनियो। तीमध्ये गण्डकीमा पर्ने केरलासहित ओलाङचुङ्गोला र किमाथांकामा अझै नेपाली भन्सार कार्यालय बनेकै छैन।
नेपाल छिटो बीआरआई सम्झौता कार्यान्वयनमा गरोस् भन्ने चीन चाहन्छ। चिनियाँ ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गर्दा होस् वा बोट फेस्टिभलको लागि छेन्दुबाट पहिलोपटक चाटर्ड गरिएको विमान झर्दा होस्, चिनियाँ राजदूतले त्यो कुरा लुकाएका छैनन्।
Shares
प्रतिक्रिया