आर्टमान्डुको नयाँ म्युजिकल फिल्म 'पाहुना हजुर' सार्वजनिक भएको छ।
लिम्बू समुदायको विवाह प्रक्रियामाथि बनेको उक्त म्युजिकल फिल्ममा अर्गानिक प्रेमको महसुस गर्न सकिन्छ।
लिम्बू समुदायमा भागी विवाह गर्दा चोरको स्वर बुझाउने चलन छ। चोरको स्वर बुझाउँदा दुलाहा पक्षले दुलही पक्षकोमा सुंगुर, भालेसहितको सगुन बुझाउँछन्। ‘चोरको स्वर’ स्वीकार गरेपछि बिहे सुरु हुन्छ। म्युजिकल फिल्ममा विहेको समय पाहुना जाने सोल्टिनीको प्रेम प्रसंगलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।
आशिश महर र सुनिता थेगिमको आवाज रहेको गीतमा आशिशकै संगीत रहेको छ। गीतको शब्द निर्देशक नवीन चौहान र आशिशले लेखेका हुन्। गीतमा पालम दीपा सुहाङले स्वर दिएकी छन्।
म्युजिकल फिल्ममा कलाकार अनिल सुब्बा, सनाया लिम्बू र विकाश चेम्जोङको अभिनय छ।
गत वर्ष जेठमा मण्डला थिएटरमा मन्चन भएको नाटक 'चोरको स्वर'को अवधारणा स्रोत यही भिडिओ भएको निर्देशक चौहान बताउँछन्। 'हामीले यो भिडिओ खिच्दै गर्दा यसमाथि नाटक गर्ने योजना बुनेका थियौं,' निर्देशक चौहान भन्छन्।
आर्टमान्डुबाट यसअघि 'फूलथुंगे रानी', 'घुमीघुमी', 'तीनपाते', 'के माया लाग्छ र' जस्ता म्युजिकल फिल्म आएका छन्।
भिडिओ
Shares
प्रतिक्रिया