ad ad

समाज


‘म्याद गुज्रेको’ औषधिले बिरामीको मृत्यु : ग्रीनसिटी अस्पतालमा तोडफोड, फार्मेसी सञ्चालक पक्राउ

‘म्याद गुज्रेको’ औषधिले बिरामीको मृत्यु : ग्रीनसिटी अस्पतालमा तोडफोड, फार्मेसी सञ्चालक पक्राउ

बसुन्धरास्थित ग्रीनसिटी अस्पताल। तस्बिर : नेपालखबर


नेपालखबर
जेठ २, २०८० मंगलबार १३:८, काठमाडौँ

गोरखाका ६० वर्षीय दमका बिरामीको उपचारका क्रममा सोमबार अपरान्ह मृत्यु भएपछि बसुन्धारास्थित ग्रीनसिटी अस्पतालमा तोडफोड भएको छ। 

निमोनिया र ज्वरो आएपछि ती बिरामीलाई आइतबार ग्रीनसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो। 

अस्पतालको आइसीयुमा राखेर उपचार गराउने क्रममा उनलाई म्याद गुज्रिएको औषधि दिँदा मृत्यु भएको भतिजा शिव पन्तले जानकारी दिए। 

‘दुई दिनअघि ठूलोबुवालाई ग्रीनसिटी अस्पताल ल्याएका थियौं’, शिवले भने, ‘उहाँलाई त्यति गाह्रो थिएन। सन्चो बनाएर घर लैजाने योजनासहित उपचारका लागि ल्याएका थियौँ। तर म्याद गुज्रिएको औषधि दिदा उहाँ बित्नु भयो। दुई दिनमा औषधि मात्रै दुई लाखको लाग्यो। तर, उहाँलाई बचाउन सकिएन।’

मुटुको धड्कन बढाउने १० वटा औषधिमध्ये सातवटा चलाएको उनले बताए। बाँकी तीनवटा औषधि फिर्ता गर्दा मात्रै म्याद गुज्रिएको पत्ता लागेको उनले बताए। 

‘म्याद सकिएको औषधिबाटै उहाँको ज्यान गएको छ’, शिवले भने, ‘त्यही आक्रोशमा अस्पतालको फार्मेसी तोडफोड भयो। यो हाम्रो समस्या मात्र होइन, सबै नेपालीको हो। बचाउन अस्पताल लगेको बिरामी गलत औषधिले ज्यान गुमाउँछन्।’

उक्त अस्पतालमा बाहिरबाट औषधि ल्याउन पाइँदैन। शिवका अनुसार अस्पतालभित्रै किन्नुपर्ने बाध्यता छ।

तर अस्पतालले म्याद गुज्रिएको औषधिबारे चित्त बुझ्दो जवाफ नदिएको उनले बताए। फामेर्सीले त्यो औषधि दुई महिनादेखि नल्याएको जवाफ दिइरहेको शिव बताउँछन्।

जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले तोडफोड भएको खबर पाउनासाथ स्थिति नियन्त्रणमा लिएको बताए। 

अस्पतालभित्रबाट औषधि लिएकाले फर्मेसी सञ्चालक नारायणप्रसाद श्रेष्ठलाई सोमबार नै नियन्त्रणमा लिएर महाराजगञ्ज बृत्तमा राखिएको उनले बताए। 

‘ग्रीनसिटी अस्पतालको फामेर्सीले म्याद गुज्रिएको औषधि दिएर बिरामीको मृत्यु भएको भनिएको छ,’ प्रवक्ता रिजालले भने, ‘सञ्चालकलाई नियन्त्राणमा लिएका छौँ। औषधि व्यवस्था विभागको टोली त्यसबारे बुझ्न जाँदै छ। त्यसपछि सबै थाहा होला।’

यता अस्पतालले भने औषधिमा खराबी नभएको दाबी गरेको छ।

‘आइसीयूको बिरामी बढी संवेदनशील हुने भएकाले औषधिको म्याद फार्फेसी र नर्सहरुले अनिवार्य हेर्नुहुन्छ। तर कसरी एकाएक म्याद गुज्रेको औषधि आयो, अलमलमा छौँ,’ अस्पताल स्रोतले भन्यो।

मृतकका आफन्त शिवले अस्पतालबाट शव उठाइसकेको बताउँदै सम्झौता नभएको जानकारी दिए। 

‘अस्पतालले पैसामा कुरा मिलाउन खोज्दै थियो। तर हाम्रा लागि पैसा ठूलो होइन भनेका छौं। बिरामीको सम्पूर्ण उपचार खर्च अस्पतालले नै बेहोदिने र पाँचजना अनाथ बालबालिका लागि १२ सम्म निशुल्क पढाइदिने माग राखेका छौँ,’ उनले भने। 

त्यस्तै फार्मेसी र उपचारमा संलग्न डाक्टरको लाइसेन्स खारेजको माग राखेर आज स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेट्न लागेको उनले जानकारी दिए। 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ को पहिलो संशोधनले स्वास्थ्य संस्थामा आगजनी, तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट वा शारीरिक रुपमा चोट पुर्‍याउन नपाउने व्यवस्था गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .