नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित ९ उच्च प्रहरी अधिकारी आज बिदा हुने भएका छन्। ३० वर्षे सेवा अवधिका पूरा भएका आईजीपी सिंहसहित तीन एआईजी, तीन डीआईजी र दुई एसएसपी बिदा हुने भएका हुन्।
२०४९ चैत ११ गते एकसाथ प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका आईजीपी सिंह, एआईजीहरू सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी, डीआईजीहरू मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, एसएसपी जनक पाण्डे र उमाशंकर पञ्जियार अवकास हुन लागेका हुन्।
उनीहरूलाई अपराह्न ४ बजे बिदाइ गर्ने तयारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तर त्यही समयमा मन्त्रिपरिषद्को बैठक बस्ने तय भएकाले केही समय ढिला हुन सक्नेछ।
आजै भावी नेतृत्व तय हुने भएकाले उनैलाई जिम्मेवारी हस्तान्तरण गरेर सिंह बिदा हुनेछन्। सिंह २०७९ वैशाख १८ गते आईजीपीमा बढुवा भएका थिए। उनले ११ महिना प्रहरी संगठनको नेतृत्व गरे।
भावी नेतृत्वका लागि ५ एआईजी प्रतिस्पर्धामा छन्। केही दिनअघि मात्रै एआईजीमा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा छन्।
सरकारले आजै उनीहरूमध्येबाट आईजीपी बनाउने छ।
Shares
प्रतिक्रिया