मस्तिष्क मृत्यु भएका १७ वर्षीय किशोरबाट सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तीन जनालाई नयाँ जीवन दिएको छ।
केन्द्रले १६ फागुनमा एकै साथ दुईवटा मिर्गौला र एक कलेजोको सफल प्रत्यारोपण गरेको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ललितपुर महानगरपालिका-२५ का ६८ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो भने अर्का रुपन्देहीको मायादेवी गाउँपालिका ४ पविका ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका १ का ३५ वर्षीय पुरुषको सफल मिर्गौला प्रत्योपण गरिएको थियो।
एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट तीन जनाले नयाँ जीवन पाएको पनि ७३ घण्टा पूरा भइसकेको छ। उनीहरुको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको उनले बताए।
डा. श्रेष्ठको नेतृत्वमा प्रत्यारोपणमा भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरु पनि बोलाइएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मस्तिष्क मृत्यु भएका एक जना व्यक्तिबाट तीन जनाले नयाँ जीवन पाउँदा निकै खुसी लागेको उनले जानकारी दिए।
‘यो हाम्रो लागि निकै महत्पूर्ण दिन हो’, उनले भने, ‘तीन दिनअघि प्रत्यारोपण गरिएको थियो। तर ७२ घण्टा काटेपछि मात्र बिरामीको अवस्था कस्तो हुन्छ भनेर थाहा हुने भएकाले अहिलेमात्र जानकारी दिएको हो।’
कस्तो अवस्थामा मिल्छ?
मस्तिष्क मृत्यु हुने व्यक्तिले आफू जीवितै हुँदा मस्तिष्क मृत्युपश्चात अङ्गदान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्यु भएपपछि उनको शरीरबाट अङ्गदान गर्न मन्जुरी दिएको अवस्थामा मात्रै प्रत्यारोपण गर्ने सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ।
मानव शरीरको अङ्ग प्रत्यारोपण ऐनमा दुई वा दुईभन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसकेको अवस्थामा र प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यको सदस्यसँग मिल्ने भएमा एक अर्काको परिवारको सदस्यबीच साटासाट गर्न सकिने व्यवस्थाका साथै मस्तिष्क मृत्युपश्चात अङ्ग प्रत्यारोपण गर्न सक्ने व्यवस्था गरेको छ।
सरकारले मस्तिष्क मृत्युपछि अंगदान तथा त्यसरी प्राप्त हुने अन्नग्रहण गर्न चाहने व्यक्तिको प्राथमिकताको सूची बनाउने र प्रथमिकताक्रमको सूची अधावधिक गरी राख्ने र झिकेका अङ्गलाई तोकिए बमोजिमको प्राथमिकताक्रमअनुसार वितरण गर्ने व्यवस्था मिलाउने प्रयोजनका लागि यस केन्द्रलाई समन्वय इकाई तोकेको छ।
सूचीमा रहेका विरामीमध्ये जुन विरामीले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेधित) नियमावली २०७३ दोस्रो संशोधन अनुसार अधिकतम अंक प्राप्त गर्न सफल हुन्छ, त्यस बिरामीले नियमित चेक जाँच गरिरहेको अस्पतालमा अङ्ग प्रत्यारोपण गर्ने अनुमति भएको रहेछ र बिरामीले उक्त अस्पतालमा प्रत्यारोपण गर्न चाहेको साथै त्यस अस्पतालमा कार्यरत प्रत्यारोपण टोली प्रत्यारोपण गर्न तयारी रहेका अवस्थामा त्यस्तो अस्पतालसम्म अङ्ग पुर्याउने व्यवस्था समेत मिलाउने जिम्मेवारी हुन्छ।
अङ्गदाताको गोपनीयता कायम राख्ने मान्यताअनुसार यो शल्यक्रियामा अङ्गदाताको विवरण उल्लेख गरिएको छैन। भक्तपुरको एकअस्पतालमा मस्तिष्क मृत्यु भएपश्चात अङ्गदान गरिएको डा श्रेष्ठले जानकारी दिए।
६ वर्षमा पाँच मस्तिष्क मृतकको अंगदान
एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुटु, १ प्याङ्क्रियाज, १ सानो आद्र, लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउने डा. श्रेष्ठले जानकारी दिए। । यसरी अङ्गदान भए नेपाल प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ छ।
एक जना मस्तिष्क मृत्यु भएकाले अंगले आठ जनाको ज्यान बचाउन सक्छ।
श्रेष्ठ भन्छन्, ‘अंग प्रत्यारोपणको लागि अंगदान गर्न आवश्यक छ। कानुन पनि बनिसकेको छ तर मस्तिष्क मृत्युबाट हुने अंग प्रत्यारोपण हामीले सोचे जस्तो हुन कसेको छैन। यसको मूख्य कारण जनचेतनाको कमी हो । गाडेर खेर जाने वा जलेर खरानी हुने अंग प्रत्यारोपणमा सबैले जनचेतना फैलाऔं।’
तीन दिनअघि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगले एकै पटक तीन जनाले नयाँ जीवन पाएपछि अब राम्रो हुँदै जाने आशा लिएको उनले बताए।
उनी भन्छन् ‘६ वर्ष रोपेको बिरुवाबाट फल फल्न लागेको हो कि भन्ने लागेको छ।’ ऐनमा कुनै पनि अस्पतालले मस्तिष्क मृत्यपछि सम्वन्य इकाइलाई खबर गर्नु पर्ने हो तर त्यस्तो पनि नभइरहेको उनले बताए।
नेपालमा वर्षमा एक हजार जनाको मस्तिष्क मृत्यु हुन्छ तर ६ वर्षमा जम्मा पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिकोमात्र अंग दान भएको सम्वन्य इकाई प्रमुख डा कल्पना श्रेष्ठले जानकारी दिइन्।
उनी भन्छिन् ‘ती पाँच जना मस्तिष्क मृतकबाट १० जनाको मिर्गौला प्रत्योपण र तीन जनाको कलेजो प्रत्योपण गरिएको छ। यो निकै कम संख्या हो। मुख्य चुनौती भनेको यसबारे जनचेतनाको कमी नै हो।’
मस्तिष्क मृत्यु अंगदान गर्न अङ्ग फेल भएका व्यक्तिहरुले समय समयमा चेक जाँच गरी प्रत्यारोपणको लागि हाल सहित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रहेको समन्वय इकाईमा नाम टिपाउन सक्नेसमेत उनको भनाइ छ।
Shares
प्रतिक्रिया