नेपालमा बसेर संगठित अपराधमा संलग्न गिरोहविरुद्धको कारबाहीमा सघाउन चीनको गृह मन्त्रालय (मिनिस्ट्री अफ पब्लिक सेक्युरिटी) का निर्देशक वाङवाङ हो काठमाडौंमा रहेको खुलेको छ।
वाङवाङ नेतृत्वको टोली दुई सातादेखि काठमाडौँमा छ।
वाङवाङ को नेतृत्वमा नेपाल आएको चीनको विशिष्ट सुरक्षा टोलीले नेपालमा गृह मन्त्रालयका उच्च अधिकारीसँग भेटघाट गरेपछि अपराधमा संलग्न चिनियाँलाई पक्राउ गर्न थालिएको थियो। गृहमन्त्रालयका उच्च अधिकारीका अनुसार काठमाडौँबाट एक सय २२ जना चिनियाँ नागरिक सोही क्रममा पक्राउ परेका हुन्।
अप्रेसन असफल
वाङवाङ नेतृत्वको टोलीले गृह मन्त्रालयका अधिकारीलाई भेटेर नेपालमा चीनको फुजियान प्रान्तका एक हजारभन्दा बढी व्यक्ति आपराधिक क्रियाकलापमा सक्रिय रहेको जानकारी दिएका थिए। तीमध्ये पहिलो चरणमा ३ सयभन्दा बढीलाई पक्राउ गरी देशनिकाला गर्न वाङवाङले आग्रह गरेका थिए।
तर, प्रहरीले पुस ७ गते काठमाडौंका ९ घरबाट एक सय २२ जना मात्र पक्राउ गर्न सक्यो। मुख्य आरोपीसहित गिरोहका अन्य सदस्य भागेपछि वाङवाङको टोलीले ‘अप्रेसन फेल’ भएको निश्कर्ष निकालेको छ। चिनियाँ दूतावास स्रोतका अनुसार पक्राउ परेका एक सय २२ जना सबै कामदारमात्र हुन्।
उनीहरुका साथबाट बरामद एकसय दुई थान राहदानीका आधारमा उनीहरुको विवरण केलाउने काम भइरहेको छ।
‘सीमा जोडिएका देशमा बसेर एउटा ठूलो समूह चीनभित्र साइबर अपराधमा सक्रिय रहँदै आएको छ,’ दूतावास स्रोतले भन्यो, ‘यसअघि कारबाही गरिएका देशबाट भागेर नेपाल आएको एउटा समूह अहिले पनि उम्किन सफल भयो, यो राम्रो भएन।’
प्रहरीले काठमाडौं र ललितपुरका ७० भन्दा धेरै घरबाट चिनियाँ नागरिकले चलाइरहेको साइबर अपराधविरुद्ध एकसाथ कारबाहीको सूची बनाएपनि पुस ७ गते ९ वटा घरमा मात्र छापा मारेको थियो। अझ, प्रहरीलाई ४ अर्ब लगानीमा २१ भन्दा बढी वैधानिक सफ्टवेयर कम्पनीमार्फत चिनियाँ नागरिकहरुले चीनकै अर्थतन्त्र धराशायी बनाउनेगरी साइबर अपराध गरिरहेको जानकारी थियो। तथापि प्रहरीले त्यो सूचनालाई बेवास्ता गरेको पाइएको छ।
यो समूहले चिनियाँ युवालाई कामदारका रुपमा नेपाल ल्याएर अपराधमा संलग्न गराउँदै आएको चिनियाँ सुरक्षा टोलीले गृहका अधिकारीलाई जानकारी दिएको थियो। यो समूहले चीनका प्रमुख बैंकहरुको रकम निकाल्ने, अनलाइन जुवा खेलाउने, व्यक्तिगत सूचना चोरेर धम्काउने तथा फिरौती उठाउने र अश्लील सामाग्री देखाएर रकम असुल्ने गरेको थियो।
स्रोतका अनुसार वाङवाङको टोलीले नेपाली अधिकारीहरुलाई फुजियान प्रान्तबाट बारम्बार नेपाल आउजाउ गर्ने व्यक्तिबारे सतर्क रहन आग्रह गरेको छ। त्यसपछि अध्यागमन विभागले फुजियानबाट नेपाल आएका चिनियाँ नागरिकका विषयमा विस्तृत सूचना जुटाउनुका साथै नेपाल प्रवेश गर्ने क्रममा सोधपुछ थालिसकेको छ।
मुख्य अभियुक्त फिलिपिन्स पुगे
नेपालमा बसेर चीनमा साइबर अपराधमा सक्रिय रहेको संगठित गिरोहका दुई मुख्य सदस्य भागेर फिलिपिन्स पुगेको सूचना गृह मन्त्रालयले पाएको छ।
‘नेपालमा अपराधको जालो फैलाउने नेतृत्वकर्ता चेन सितियान र वु रोङफेङ भागेर फिलिपिन्स पुगेका छन्’, गृहका एक अधिकारीले नेपालखबरसँग भने।
चीन र नेपाली अनुसन्धान अधिकारीहरुले सुरुबाटै मुख्य व्यक्तिका रुपमा पहिचान गरेका यी दुई जना प्रहरीले अप्रेसन थाल्नु एकदिन अघिमात्र नेपालबाट भाग्न सफल भएका हुन्।
‘उनीहरु कसरी उम्किए भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, ती अधिकारीले थपे।
चीन फिर्ता पठाइने
प्रहरीले पक्राउ गरेका एक सय २२ जनालाई अध्यागमन कानुन अनुसार चीन फिर्ता गर्ने तयारी गृह मन्त्रालयले थालेको छ। प्रहरी र प्रशासनले थालेको अभद्र व्यवहारको मुद्दा किनारा लाग्नासाथै उनीहरुलाई अध्यामगन कसुर अनुसार कारबाही गरी चीन पठाइने छ। अध्यागमन अधिकारीहरुका अनुसार यसका लागि अनौपचारिक रुपमा एक सय २ वटा पासपोर्टसहित एक सय २२ जनाकै विवरण उपलब्ध गराइएको छ।
अध्यागमन महानिर्देशकले आफ्नो अधिकार प्रयोग गर्दै भिसा रद्द गरी देश निकालासम्म गर्न पाउँछन्। एक सय २२ जनालाई यसरी नै निकाला गर्ने तयारी छ।
यो पनिः
चीनमा साइबर अपराध गर्न नेपालमा ४ अर्बका २१ सफ्टवेयर कम्पनी
कम्बोडिया, भियतनामबाट फुत्केर नेपाल आएका थिए साइबर अपराधमा पक्राउ परेका चिनियाँ
प्रतिक्रिया