ad ad

समाज


जेठाजुको खुकुरी प्रहारबाट बुहारीको मृत्यु

जेठाजुको खुकुरी प्रहारबाट बुहारीको मृत्यु

शैलेन्द्र महतो
पुस ९, २०७६ बुधबार १४:१७,

धनुषामा एक महिलाको दिनदहाडै खुकुरी प्रहार गरी विभत्स हत्या भएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका २२ बस्ने मिश्री पजियारकी श्रीमती २८ वर्षीया रानी देवी पजियारको हत्या भएको हो।

गम्भीर अवस्थामा फेला परेकी रानीले जेठाजु श्रीप्रसाद पजियारले आफूमाथि खुकुरी प्रहारी गरी गम्भीर घाइते बनाएर भागेको मृत्यु हुनु अघि प्रहरीलाई बयान दिएकी थिइन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ९ स्थित बडहडीको रेडक्रस छेउको आँपको बगैँचामा दिउँसो शरीरको विभिन्न भागमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा रानी फेला परेकी थिइन्। रानी गम्भीर अवस्थामा चिच्याइरहेको एकजना बालकले देखेपछि इलाका प्रहरी कार्यालय ढल्केबरलाई जानकारी गराएका थिए।

लगतै पुगेको प्रहरी टोलीले नजिकै रहेको लालगढ मोडेल हस्पिटलमा उपचारको लागि उनलाई भर्ना गरेको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई जनकपुर प्रादेशिक अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए।

गम्भीर अवस्थामा फेला परेकी रानीले आफूलाई आफ्नै जेठाजु श्रीप्रसादले खुकुरी प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ। घटनास्थलबाट प्रहरीले खुकुरी, ज्याकेट लगायतका सामान बरामद गरेको प्रहरी निरीक्षक यादवले बताए।

घटना लगतै जेठाजु श्रीप्रसाद फरार रहेको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ। ‘अढाई बजेको समयमा हामीलाई जानकारी आयो, महिलामाथि खुकुरी प्रहार भइ गम्भीर अवस्थामा छटपटाइरहेको हामीलाई एकजना बालकले फोन गरेर जानकारी गराए। प्रहरी टोली घटनास्थल पुगेर तत्कालै अस्पताल पुर्यायो, साँझ मृत्यु भयो। के कति कारणले घटना भएको छ अनुसन्धान गर्दैछौं’ निरीक्षक यादवले भने।

प्रहरीका अनुसार मृत्यु हुने रानीका श्रीमान मिश्री पजियार वैदेशिक रोजगारको क्रममा विदेशमा छन्। बडहडीतिर हत्या भएकी रानीको बहिनीको घर रहेको र यतैतिर आएको बेला घटना भएको हुन सक्ने प्रहरीको आशंका छ। घटनास्थल पूर्वपश्चिम राजमार्ग छेउमै पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .