ad ad

समाज


संसार देख्न पाएपछि...

संसार देख्न पाएपछि...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेपछि सेवाग्राही।


नेपालखबर
पुस १५, २०७९ शुक्रबार १४:३४, गोरखा

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा आँखा जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबैको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए। 

शिविरमा चार सय ५० जनाले आँखाको निःशुल्क उपचार सेवा लिएको उनको भनाइ छ। शिविरमा ९७ वर्षकी वृद्धाकोसमेत मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए। त्यस्तै दुवै आँखाको दृष्टि गुमाएकी ७७ वर्षीय थरमाया विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया सफल भएको उनले जानकारी दिए। झण्डै चार वर्षदेखि दृष्टि दुवै आँखाका दृष्टि गुमाएकी विक शल्यक्रिया सफल भएपछि दृष्टि फिर्ता भएकामा खुसीले गद्‌गद् भइन्। 

‘आँखाको पट्टी खोलेपछि वृद्धा विक खुसीले नाच्नु नै भयो’, उनले भने, ‘लामो समयपछि फेरि संसार देख्न पाएकामा उहाँमा खुसीको सीमा नै थिएन।’ नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर एवं नेत्ररोग विशेषज्ञ डा. कमलबहादुर खड्काको नेतृत्वको टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको उनले बताए। 

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग तथा बारपाकस्थित बौद्ध बहुद्देश्यीय सहकारी संस्था, मुटु फाउन्डेसन काठमाडौँ र मनोज एसोसिएसन फ्रान्सले सहयोग शिविर सम्पन्न भएको हो। शिविरमा उपचार गराएकालाई आवश्यकताका आधारमा चस्मा र औषधिलगायत निःशुल्क वितरण उनले जानकारी दिए।  गाउँपालिकाको समन्वयमा पालिकाभित्रका वडा नं ३ देखि ८ सम्मका वडामा भने यसअघि नै निःशुल्क आँखा शिविर सम्पन्न भइसकेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .