भारतीय सेनाका उच्च अधिकारीहरुको एउटा टोली नेपाल आइपुगेको छ।
भारतीय सेनाको सैनिक प्रशिक्षण कमाण्डका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल जेएस सन्धुसहितको टोली नेपाल आइपुगेको हो।
आइतबार नेपाल आइपुगेको सन्धु नेतृत्वको भ्रमण दललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ नं. बाहिनीका बाहिनीपति सहायक रथी विनोद खरेलले स्वागत गरेका छन्।
सुरक्षा मामिला हेर्ने नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठकमा भएको सम्झौताअनुसार दुई देशका सेनाका उच्च तथा मध्यम तहका अधिकृतहरुबाट निरन्तर स्थलगत अवलोकन भ्रमण हुँदै आएको छ।
त्यही सम्झौताअनुसार भारतीय सेनाको टोली औपचारिक भ्रमणमा नेपाल आएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
पुस ९ गतेसम्म नेपालमा रहँदा सन्धुले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट गर्नेछन्।
यस्तै कमाण्ड तथा स्टाफ कलेज, नेपाली सैनिक प्रतिष्ठान, नेपाली सैनिक वार कलेज, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण, पश्चिम पृतना हेडक्वार्टरको भ्रमण, नेपाली सैनिक व्याटल स्कुलको भ्रमण र धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
छिमेकी राष्ट्रका उच्च पदस्त सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार गर्न मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।
Shares
प्रतिक्रिया